टेलरको कीर्तिमानी शतक



क्राइसचर्च, (एजेन्सी)
रोस टेलरले कीर्तिमानी शतक प्रहार गरेपछि न्युजिल्यान्डले पाहुना टोली दक्षिण अफ्रिकालाई ६ रनले हराएको छ।

बुधबार भएको वानडे सिरिजको दोस्रो ओडीआई खेलमा टेलरले नटआउट हुँदै १ सय २ रन बनाएका हुन्। उनको शतकले न्युजिल्यान्डले २ सय ९० रनको लक्ष्य तेर्साएको थियो। जुन लक्ष्यनजिक पुगे पनि दक्षिण अफ्रिका २ सय ८३ रनमा समेटिएको थियो। यो नतिजापछि दक्षिण अफ्रिकाको लगातार १२ ओडीआई खेलमा जितेको क्रम भंग भयो भने पाँच खेलको सिरिज १–१ ले बराबरी भएको छ।

टेलरले ओडीआई करिअरमा १७औं शतक प्रहार गरेर आफ्नो राष्ट्रबाट सर्वाधिक शतक बनाउने श्रेय पाएका छन्। ३२ वर्षीय ब्याटसम्यानले नाथान एस्लेले ओडीआईमा बनाएको १६ शतकलाई पछि पारेका हुन्। त्यस्तै ओडीआईमा ६ हजार रन पूरा गर्नेमा टेलर न्युजिल्यान्डका चौथो ब्याटसम्यान पनि बनेका छन्।

प्रतिक्रिया दिनुहोस्