जाल्टनको ह्याट्रिकमा युनाइटेडको जित



लन्डन, (एजेन्सी)
जाल्टन इब्राहिमोभिचले ह्याट्रिक गरेपछि युरोपियन क्लब फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित आत्मसात गरेको छ। प्रतियोगिताअन्तर्गत अन्तिम ३२ को पहिलो लेगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हराएको हो। उक्त खेलमा युनाइटेडका स्विडिस स्ट्राइकर जाल्टन इब्राहिमोभिचले ह्याट्रिक गर्दै नायकको भूमिका निभाएका थिए।

म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको उक्त खेलमा घरेलु टोलीले खेलको १५औं मिनेटमा गोलको खाता खोलेको थियो। इब्राहिमोभिचले फ्रिकिकमार्फत् उक्त गोल सम्भव पारेका थिए। पहिलो हाफसम्म एक गोलले अग्रता लिएको युनाइटेडले खेलको ७५औं मिनेटमा इब्राहिमोभिचको गोलमार्फत् दोस्रो गोल थप्न सफल भयो। यस्तै खेलको ८८औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै इब्राहिमोभिचले ह्याट्रिक पूरा गर्दा युनाइटेडले ३–० को जित सुनिश्चित गर्यो।

यो जाल्टनको प्रिमियर लिग क्लबमा आबद्ध भए यता पहिलो ह्याट्रिकसमेत थियो। साथै यो उनको करिअरमा १७औं ह्याट्रिक थियो। उनले यस सिजनमा म्यानचेस्टर युनाइटेडका लागि २३ गोल गरेका छन्। युरोपा लिग इब्राहिमोभिचले अहिलेसम्म जित्न पाएका छैनन्।

टोटनह्याम स्तब्ध
युनाइटेडले सहज जित दर्ता गराउँदा अर्को इंग्लिस क्लब टोटनह्याम हट्सपरले भने स्तब्धपूर्ण हार बेहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा बेल्जियमको केएए जेन्टले टोटनह्यामलाई १–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा जेन्टका लागि पेर्बेटले निर्णायक गोल गरेका थिए। उनले खेलको ५९औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बनेको थियो। यी दुईबीच आगामी फेब्रुअरीमा दोस्रो लेगको खेल हुनेछ।

युरोपा लिगका अन्य खेलमा फ्रान्सको लियोनले नेदरल्यान्ड्सको अल्कमारलाई ४–१ ले पराजित गर्दा स्पेनको एथ्लेटिक बिल्बाओ, टर्कीको बेसिक्टास, इटालीको फियोरेन्टिना र युक्रेनको सख्तारले जितको नतिजा आत्मसात गरे।

प्रतिक्रिया दिनुहोस्