तेक्वान्दोमा नेपालको औसत प्रदर्शन



नेपाल समाचारपत्र
काठमाडौं
प्रथम काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन पुम्सेमा नेपाली खेलाडीले औसत प्रदर्शन गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा नेपाली खेलाडी टिम पुम्सेमा हाबी हुँदा व्यक्तिगत पुम्सेतर्फको प्रदर्शन सामान्य नै रह्यो। महिला यु–१२ वर्षको व्यक्तिगत पुम्सेमा भारतका निल्याम साम्पाङले स्वर्ण र दिब्याञ्जली शर्माले रजत जित्दा नेपालका सुप्रीमा बजगाईं कांस्यमै सीमित भइन्।

तर पुरुष टिम पुम्सको यु–१२ मा नेपाली खेलाडी हाबी हुँदा जेशस इन्टरनेसनलले स्वर्ण, विइस्डम एकेडेमीले रजत र चितवनले कांस्य पदक जिते। महिलाको व्यक्तिगत पुम्से यु–१७ मा भारतकी प्रीया दर्शनले स्वर्ण, कोरियाकी जस्मिन हङले रजत तथा नेपालकी रेजुना ठकुरी र आयुषा लामाले कांस्य जितिन्।

पुरुषको व्यक्तिगत पुम्से यु–१५ मा भारतका सुमिर्न प्रधानले स्वर्ण कृमन्सु महोत्राले रजत तथा नेपालका नवीन श्रेष्ठ र पुजन खड्काले कांस्य जिते। पुरुषको समूह पुम्सेको यु–१५ मा नेपालको स्युचाटार डोजाङमा अस्मिन राउत, राम गोले र लक्ष्मण गोलेको टिमले स्वर्ण, नेपालकै युनाइटेड डोजाङका पुजन खड्का, शिवहरि श्रेष्ठ र रुपेश तामाङको टिमले रजत पदक जिते।

प्रतिक्रिया दिनुहोस्