घातक एसिड खुलमखुला



प्रहरी भन्छ– ‘हामीलाई उजुरी परेका छैनन्। त्यही भएर छापा पनि मारेका छैनौं।’

दीपक रिजाल, काठमाडौं
ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समूहमा रहेको एसिड खुलारूपमा विक्री हुने गरेको पाइएको छ।
सरकारले एसिड विक्रीका लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरू बढी पीडित हुने गरेको पाइएको छ।
विशेष गरी हार्डवेयर पसलबाट खुलारूपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रका रुपमा प्रयोग हुन थालेपछि यसको विक्रीवितरणमा कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको छ।

केही दिनअघि प्रेममा धोका दिएको भन्दै एक युवाले एसिड छर्केर घाइते भएकी युवतीको मृत्यु भएपछि यसको विक्रीवितरणमा कडाइ गर्नुपर्ने आवाज उठेको छ। धादिङ नौबिसेका सुनिल कोइरालाले नवलपरासीकी तुलसा सापकोटामाथि एसिड प्रहार गर्दा उनको मृत्यु भएको थियो। मान्छेको ज्यान नै लिने खतरनाक रसायन एसिड विक्रीमा कडाइ नगरे अन्य महिलाले यसरी नै अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आउने शिक्षक मणिराम पौडेल बताउनुहुन्छ।

यस्ता खतनाक रसायन खुलारूपमा विक्री हुँदा यसको सदुपयोगभन्दा पनि दुरुपयोग बढी हुने भएकाले यसमा नियमनकारी निकायले अनुगमन गर्नुपर्ने शिक्षक पौडेल बताउनुहुन्छ। नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा प्रेममा असफल भएका युवाहरूले युवतीमाथि एसिड प्रयोग गरी युवतीको हत्या गर्ने वा उसलाई जीवनभरि नै अपाङ्ग बनाउने गरेकाले यस्ता घातक रसायन विक्रीमा कडाइ गर्नुपर्ने महिला अधिकारकर्मी ममता शर्मा बताउनुहुन्छ।

दुई वर्षअघि झोछेंमा दुई स्कुले छात्रामाथि पनि एक युवकले त्यसरी नै एसिड प्रहार गर्दा उनीहरू घाइते भएका थिए। त्यसबेला घटनामा संलग्न रहेका युवकलाई फाँसी दिनुपर्नेसम्मको आवाज उठेको भए पनि घातक रसायन विक्रीमा कडाइ गर्नुपर्ने आवाज कतैबाट नउठेको शर्मा बताउनुहुन्छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशी भने घातक रसायन एसिड जसलाई पायो त्यसलाई विक्रीवितरण गर्न पाइँदैन। यदि त्यसरी दुरुपयोग भएको पाइएमा कडा कारबाही हुने बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘यो निश्चित प्रयोगका लागि प्रयोग हुने भएकाले प्रयोजन नखुलाई विक्री गरेको सूचना पाइएमा उनीहरूमाथि कडा कारबाही हुन्छ। सरकारले कतिपय औषधी विक्री गर्दा चिकित्सकको सिफारिसविना विक्री गर्न नपाइने र त्यसरी विक्री गरेको पाइएमा कारबाही गर्ने गरिएकाले घातक रसायन एसिड पनि भरपर्दो कारण नखुलाई विक्री गरेको र त्यसले मानव स्वास्थ्यलाई असर गरेको पाइएमा त्यसरी एसिड बेच्नेमाथि कडा कारबाही गरिने पनि उहाँ बताउनुहुन्छ।

अहिलेसम्म प्रहरीमा घातक रसायन एसिड खुलारूपमा विक्री गरेको भन्ने एउटा पनि उजुरी प्रहरीमा परेको छैन। उजुरी नै नपरी त्यस्ता पसलमा छापा मार्न नमिल्ने उहाँ बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्