आईएसआई प्रतिनिधि सार्वजनिक



गोकुल घोरसाइने, बारा ।
भारत, पूर्वीचम्पारण लक्ष्मीपुर पोखरियाका १८ वर्षीय दीपक राम (भतिज) र २८ वर्षीय अरूण राम (काका) को हत्या आरोपमा पक्राउ परेका पाँच जनामध्ये चार जनालाई मंगलबार बारा प्रहरीले कलैयामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

जिल्लाको प्रशुरामपुर–४ र कलैया–८ मा समेत घर भएका ४८ वर्षीय समसुल होदासहित विभिन्न समयमा पक्राउ परेका महागढीमाई–१ सेमरा तगछिया टोल निवासी २७ वर्षीय गिरी बाबा भनिने वृजकिशोर गिरी, कलैया १० रंगपुरका ३५ वर्षीय मोजाहिर अन्सारी र कलैया ४ घर भई विदेशमा अध्ययनका लागि काठमाडौंमा बसेर तयारी गर्दै आएका २४ वर्षीय आशिष सिंह तथा उनकै छिमेकी २३ वर्षीय उमेशकुमार कुर्मीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

प्रहरीले विभिन्न समयमा पक्राउ परेका सबैमाथि कलैयास्थित प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको जनायो। होदा पाकिस्तानी जासुसी संस्था आईएसआई आबद्ध र उसकै निर्देशनमा भारतीय नागरिकको हत्या भएको प्रहरीको दाबी छ। होदा दोस्रो संविधानसभाको चुनावमा राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर २ बाट प्रत्यासीसमेत बनेका थिए।

प्रहरी उपरीक्षक नरेन्द्रकुमार उप्रेतीका अनुसार घटनाअघि दुबईमा बस्दै आएका समसुल होदाले पाकिस्तानी नागरिक सफीसित सम्बन्ध बनाएर उनीमार्फत भारतलगायत अन्य देशका आतंकवादी समूहसित आर्थिक फाइदाका लागि गतिविधि सञ्चालन गर्दै आएको र सोही क्रममा होदाले वृजकिशोर गिरीमार्फत दुवै भारतीयलाई नेपाल बोलाएर जंगलमा लगी हत्या गराएको अनुसन्धानबाट देखिएको छ।

प्रहरी स्रोतका अनुसार नेपालसँग सीमा जोडिएको भारतको घोडासहन र नकरदहीको रेल्वे स्टेसनमा अक्टुबर १ तारिखलाई लक्षित गरी बम विस्फोट गराउन होदाले उनीहरू दुवैलाई ८ लाख भारतीय रुपियाँ पेस्की दिएको तर योजनामुताविक काम नभएको र रकम पनि फिर्ता गर्न इन्कार गरेपछि हत्या गरिएको बताइएको छ। ‘मानवीय र भौतिक क्षति पुग्ने गरी पुनः विस्फोट गराउन पटकपटक दबाब दिँदै आएका रहेछन्’,

एक प्रहरी अधिकृतले भने– ‘तर दुवैले आफूले बम राख्ने काम एकपटक पूरा गरिसकेकाले पुनः सोही काम नगर्ने बताएको र विस्फोटनको योजना र आतंककारी समूहको पोल खुल्ने डरले नेपाल बोलाएर हत्या भएको हो।’ प्रहरीका अनुसार होदाको योजनाअनुसार नकरदहीमा बम विस्फोट भए पनि कुनै क्षति हुन पाएको थिएन भने घोडासहनमा राखिएको बम कारणबस पड्किन पाएन।

होदास“ग निकट सम्बन्ध बनाएर काम गर्दै आएका वृजकिशोरको अनुरोधमा मोजाहिर अन्सारीले फोनमार्फत बोलाएपछि नेपाल आएका भारतीय काका–भतिजलाई टाटासुमोमा राखेर ‘पिकनिक’ खान भनी जंगलमा लगेर हत्या गरिएको प्रहरी स्रोतले जनायो। प्रहरी उपरीक्षक उप्रेती भन्छन्– ‘होदाको निर्देशनमा वृजकिशोर गिरीले मोजाहिर अन्सारीसहित सहयोगीमार्फत हत्या गराएका हुन्। उनीहरू पुस ९ मा एउटै मोटरसाइकलमा नेपाल छिरेका र भोलिपल्ट हत्या भएको थियो।

प्रहरीले हत्या गरिएको अवस्थामा दुवैको शव जिल्लाको करैया–८ स्थित जंगलमा गत पुस १३ मा फेला पारेको थियो। घाँस–दाउरा गर्न पुगेका स्थानीयले जानकारी गराएपछि प्रहरीले शव फेला पारेको र उनीहरूको साथबाट फेला परेको परिचयपत्र र मोबाइल सिमका आधारमा मृतकहरू भारतीय नागरिक भएको खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्