भूकम्पको २१ महिनाः बल्ल आइपुगे इन्जिनियर



दुर्गाप्रसाद शर्मा, पर्वत ।
रानीपानी ५ का तिलकप्रसाद श्रेष्ठले ७२ बैसाखको भूकम्पयता कुनै दिन राम्रोसंग निदाउन पाएका छैन् । पाँच जनाको उनको परिवार दुई तर्फ भ्वाङ परेको घरमा दुई हिउँदको चिसो र दुई वर्षाको बाढी सहेर बसिरहेको छ ।

मंगलबार पहिलोपटक उनको घरमा पुनःनिर्माण प्राधिकरणका इन्जिनियर भूकम्पले भत्किएको घरको अवस्था मुल्याङ्कन गर्न पुगेको छ । तर टोलीले पुर्ण क्षती भएको उनको घरलाई कसरी मुल्याङ्कन गर्छ अझै अन्योलमै छन् । टोलीले मुल्याङ्कन गरेर केन्द्रमा पठाएको तीन महिनापछि मात्रै घर बनाउने पैसा पाउने–नपाउने टुङ्गो लाग्छ ।

‘घर बनाउने पैसा पाइन्छ भनेर कुर्दाकुर्दा बिजोग भयो,’ तिलकले भने, ‘इन्जिनियर आएपछि आश लागेको छ, तर पैसा पाउनेनपाउने टुङ्गो छैन ।’ उनिसंगै जोडिएको राजकुमार श्रेष्ठको घरलाई तत्कालिन मुल्याङ्कन समितिले क्षतीको सुचिमै नराखेका कारण अहिलेको मुल्याङ्कनमा समेत परेन ।

पुनःनिर्मँण प्राधिकरणले भूकम्पबाट कम प्रभावित जिल्लाहरुमा भत्किएका घरहरुको मुल्याङ्कन गर्न जनशक्ति खटाएपछि यतिबेला पर्वतका गाउँगाउँमा इन्जिनियर सहितको टोली पुगेको छ । पर्वतका करिव १० हजार घरहरुको क्षती मुल्याङ्कनका लागि २९ जना इन्जिनियरहरुको टोली प्रभावित घरहरुको मुल्याङ्कनमा जुटेको हो ।

यसअघि जिल्लास्थीत अनुगमन समितिले गरेको मुल्याङ्कनलाई आधार मानेर इन्जिनियरको टोलीले घरको चार मोहडाको तस्विर र क्षतीको अवस्थाबारे प्राधिकरणमा रिपोर्ट गर्ने जिल्लास्थीत लगत संकलन कार्यालयले जनाएको छ ।

‘हामीलाई दिएको जिम्मेवारी अनुसारसबै काम सक्नुपर्छ,’ रानीपानीमा खटिएका इन्जिनियर सुदिपमान प्रधानले भने, ‘एक साता भइसक्यो । कच्ची र माटोढुङ्गाका घर मुल्याङ्कनमा समस्या भइरहेको छ ।’ सामाजिक परिचालकहरुको सहयोगमा खटिएको इन्जिनियरको टोलीले प्रतिबेदन बुझाएको तीन महिना भित्रमा पीडितहरुले घर बनाउने पहिलो किस्ता रकम पाउने जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।

भूकम्प पीडितहरु भने प्राविधिक टोली घरघरै पुग्दा समेत राहत पाउने–नपाउनेमा अन्योलमै छन् । यसअघि जिल्ला दैविप्रकोप उद्दार समितिले क्षतीमा सुचिकृत नगरेका घरहरुको मुल्याङ्कन नहुने खबरले पीडितहरु निरास भएका हुन् । ‘सबैभन्दा क्षती भएको यहि गाविस हो,’ रानीपानी ३ की डिल्लीमायाँ क्षेत्रीले भनिन्, ‘भत्किएर बस्नै नहुने घर पनि क्षतीमा परेको छैन भन्छन् ।’

गाउँमा बसोबास नगर्ने परिवारका भत्किएका घर यसअघिको टोलीले मुल्याङ्कनमा नपार्दा उनिहरु अब गाउँ फर्किएर कहाँ बस्ने भन्ने अन्योल छ । रानीपानीकै पुर्तिडाँडाका नारायण उपाध्याय र खिमानन्द उपाध्यायका दुई घरमध्ये एउटा मात्रै क्षतीमा सुचिकृत भएको छ । ‘भूकम्प गएका बेला भाइ घरमा थिएन,’ खिमानन्दले भने, ‘यसको परिवार यहाँ छैन भनेर भत्किएको घर पनि टोलीले हेरेन । अब राहत कसरी पाइन्छ ?’

गाविसमा करिव सय भन्दा बढी पुरै भत्किएका घरहरुको मुल्याङ्कन नै नभएको उनले बताए । लगत संकलन टोलीले यसअघि सुचिकृत नभएका घरको मुल्याङ्कन गर्न र राहत दिन कार्यविधिले नै रोकेको बताएको छ ।
समाप्त

प्रतिक्रिया दिनुहोस्