जटिल समस्या बन्दै क्यान्सर



  • दैनिक रूपमा करेसाबारीमा काम गर्ने मानिसलाई पनि नङभित्र जम्मा भएको माटो, फोहोरका कारण क्यान्सर हुन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। महिलाहरूको भंगाल चिलाएको चिलायै गर्छ, कुनै फोका निस्किएको छ भने पनि शंका गरी परीक्षण गराउनुपर्छ। यसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ। यति मात्र नभई लामो समय परिवार नियोजनको साधन निलोकन प्रयोगले पनि क्यान्सरको समस्या देखा परेको छ।
  • विश्वमा दैनिक क्यान्सरका विषयमा सचेत हुने र मानव जीवनको रक्षाका लागि काम गरिन्छ भने नेपालमा त्यस्तो नभई जब विश्व क्यान्सर दिवस आउँछ अनि मात्र स्वास्थ्य मन्त्रालयलाई कार्यक्रम तयार पार्न र मन्त्रीलाई उद्घाटन गर्न भ्याईनभ्याई हुनेबाहेकका खासै कार्यक्रम भएको देख्न पाइन्न। भन्ने नै हो भने सस्तो लोकप्रियताका लागि जुन किसिमको कामहरू नेपालमा भइरहेका छन् वास्तवमै व्यावहारिक जीवनमा कुनै परिवर्तन आएको छैन।

भगवती तिमल्सिना

स्तन क्यान्सर छिटो फैलने एक प्रकारको गम्भीर रोग हो। नेपाली महिलाको निकै जटिल समस्या हो। क्यान्सर विशेषज्ञका अनुसार शरीरमा भएकोभन्दा बढी कोषिका पलाउन थाल्यो भने त्यो क्यान्सर हो। क्यान्सर लागिसकेपछि निको नहुने सम्भावना पनि धेरै हुन्छ। तर पहिलो, दोस्रो तहमै पत्ता लागेमा उपचार गर्दा निको हुने चिकित्सकहरू बताउ“छन्।

यो रोगको प्रकोप शहर होस् वा गाउँ कतै नपुगेको ठाउँ छैन। तर गाउँको तुलनामा शहरमा बढ्दो छ। यसको प्रमुख कारण शहरी रहनसहन चट्ट मीठो हेर्दै खाऊँ खाऊँ लाग्ने गरी बाहिरै देखिने गरी सजाएर राखेका पोलेको मासु, धूमपान, मध्यपान, वातावरणीय प्रभाव, वंशाणुगत समस्या रहेका छन्। विशेष गरी पोलेको मासु र रक्सी क्यान्सरका लागि निम्तो मूल प्रवेशद्वार भएकाले शहरी जीवनमा क्षणिक रूपमा जिब्रो पड्काएर जीवनभरि पछुताउने क्रम दिन प्रतिदिन बढ्दो छ। यति मात्र नभई खाद्य वस्तुमा अखाद्य मिसाउने, तरकारी

फलफूलमा राखिने अत्यधिक विषाधि, शुद्धीकरणका नाममा पानीलगायत खाद्यान्नमा जधाभावी रूपमा प्रयोग गरिने अखाद्य वस्तुहरू मूल कारण बनेका छन्।

शहरका गल्लीगल्लीमा, सडक पेटीमा होस् या ठूलाठूला महलमा बन्ने खाद्यान्न अनावश्यक रूपमा स्वादिलो बनाउने नाममा प्रयोग गरिँदै आएको अजिनोमोटो, सोडाजस्ता वस्तुहरूको लामो समय प्रयोगले पनि मानव शरीरको हड्डी खियाउने, पेटको समस्या ल्याउने र निरन्तर प्रयोगले आन्द्रालगायत हड्डीको क्यान्सरसमेत हुने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ। तर विकसित मुलुकमा खाद्य वस्तुलाई जसरी जनस्वास्थ्यसँग जोडेर निकै महत्वका साथ बजार अनुगमन, आम नागरिकको स्वास्थ्यमा प्रभाव पर्ने वस्तुको व्यापार व्यवसायलाई प्रतिबन्ध लगाइन्छ नेपालजस्ता अविकशित मुलुकमा भने त्यस्तो नभएकै कारण क्यान्सरको समस्या दिनदिनै बढ्दो अवस्थामा छ।

विश्वमा दैनिक क्यान्सरका विषयमा सचेत हुने र मानव जीवनको रक्षाका लागि काम गरिन्छ भने नेपालमा त्यस्तो नभई जब विश्व क्यान्सर दिवस आउँछ अनि मात्र स्वास्थ्य मन्त्रालयलाई कार्यक्रम तयार पार्न र मन्त्रीलाई उद्घाटन गर्न भ्याईनभ्याई हुनेबाहेकका खासै कार्यक्रम भएको देख्न पाइन्न। भन्ने नै हो भने सस्तो लोकप्रियताका लागि जुन किसिमको कामहरू नेपालमा भइरहेका छन् वास्तवमै व्यावहारिक जीवनमा कुनै परिवर्तन आएको छैन। यस्ता विषय वस्तुलाई कानुनी रूपमा मात्र नभई व्यावहारिक रूपमा पनि अझ प्रभावकारी बनाउनका लागि क्यान्सरसम्बन्धी शिक्षा, तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन, अध्ययन अनुसन्धान गरी नयाँनयाँ कुरा पत्ता लगाउने कार्यमा सरकारको ध्यान जानु जरुरी छ।

क्यान्सरको लक्ष्यण के के हुन् ?

क्रोनिक दम, खोकी लगातार देखिन्छ तर ज्वरो आउने रुघा लाग्ने भएको छैन भने पनि तत्काल परीक्षण गरी रोगको कारण पत्ता लगाउनुपर्छ। यस्तो अवस्थामा खकारमा रगत देखिएको छ, स्वरमा परिवर्तन आयो, खाना खाँदा बढी नै सर्किरहन्छ, निल्नै गाह्रो हुन्छ। शरीरमा कोठी आएको छ या कुनै बिमिराजस्तो देखिएको केही दिनमै बढेर ठूलोठूलो हुँदै गएको छ। कुनै पनि नयाँ संकेतको परिवर्तन द्रुत गतिमा भएको छ, चिलाउने, खस्रो हुने र छिटो फैलने क्यान्सरको लक्षण हो।

हात, गोडा, छाती या शरीरको कुनै पनि भागमा डल्लो आउनु, घाउ भएपछि निको नहुनु, झन्झन् फैलँदै जानु, निरन्तर खोकी लागिरहनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, हिँड्न र स्वास फेर्न गाह्रो हुनु, अकस्मात् दुब्लाउनु क्यान्सरको संकेत हुन सक्छ।
दैनिक रूपमा करेसाबारीमा काम गर्ने मानिसलाई पनि नङभित्र जम्मा भएको माटो, फोहोरका कारण क्यान्सर हुन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

महिलाहरूको भंगाल चिलाएको चिलायै गर्छ, कुनै फोका निस्किएको छ भने पनि शंका गरी परीक्षण गराउनुपर्छ। यसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ। यति मात्र नभई लामो समय परिवार नियोजनको साधन निलोकन प्रयोगले पनि क्यान्सरको समस्या देखा परेको छ। पुरुषमा मात्र हुने क्यान्सर भनेको पिसाप नलीमा हुने क्यान्सर तथा घाँटीमा हुने टन्सिलजन्य क्यान्सर रहेको छ।

महिनावारी पर सर्दा डराउनुपर्दैन तर छिटोछिटो भयो बीचबीचमा रगत देखियो। महिनावारी सुकेको एक वर्षपछि पुनः महिनावारी भयो भने पनि क्यान्सरको शंका गर्नुपर्ने हुन्छ। निलोकन १० वर्षभन्दा बढी प्रयोग गर्दा स्तन क्यान्सर हुन सक्छ। कहिलेकाहीं बिरामीको परीक्षण गर्ने क्रममा बायोस्पी गर्दा मासु निकाल्नुपर्ने हुन्छ। बिरामीले नबुझेर मासु काट्दा फैलन्छ भन्ने सोच्छन्। बायोप्सी गरेर क्यान्सर फैलँदैन।

क्यान्सर निको पार्नका लागि रेडियो थेरापी, केमोथेरापी र सर्जरी गर्नुपर्ने हुन्छ। भल्भा क्यान्सर ३ देखि ४ प्रतिशत ४० वर्षपछिका मान्छेमा लाग्ने गर्छ। इन्डोम्याटोरियम क्यान्सर ४५ वर्षदेखि ५५ वर्षसम्मका महिलामा महिनावारी सुक्ने समयमा लाग्छ। यस्तो समस्य हर्मोनको गडबडीले पनि हुन्छ। यो क्यान्सरले दुखाउँदैन, मासु बढ्दै जान्छ थाहा पाउँदा तेस्रो चरण भइसकेको हुन्छ। चर्चित अभिनेत्री मनीषा कोइरालाको पनि तेस्रो चरणमा देखा परेको थियो। ओभरी क्यान्सर जुनसुकै उमेरकोलाई हुने क्यान्सर भएको विशेषज्ञ डा. सरिता घिमिरेले बताउनुभयो।

नेपालमा पछिल्लो समय क्यान्सरलगायत नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। हालसम्म क्यान्सर हुनाको प्रमुख कारण के हो भन्नेबारेमा विश्वमै खोजीको विषय भइरहेको अवस्थामा क्यान्सरको समस्या दिन प्रतिदिन बढ्दै गएको छ। क्यान्सर निकै महँगो र जटिल स्वास्थ्य समस्या हो। कतै तपार्इंको बुद्धि बंगारा आउने बेलामा भएको घाउ निको नभएर क्यान्सरको रूप त त लिएको छैन ? क्यान्सर लागि सकेपछि यसका सेलहरू निर्मूल नहुने सम्भावना धेरै नै भएको क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे बताउनुहुन्छ। क्यान्सर रोग लागिसकेपछि जरैदेखि उखेलेर फाल्ने या काटेर फालेपछि पलाउँदैन भन्ने सोच्नु गलत हो। क्यान्सर र आफ्नो शरीरको आफैंले पहिचान गरेर समयमै उपचार विधि अपनाउनुपर्ने उहाँको धारणा छ।

डा. घिमिरेका अनुसार क्यान्सर लाग्नाको खासै कारण अहिलेसम्म पत्ता लागेको छैन। तर पनि धूमपान, बोसोयुक्त पोलेको मासु, सेकुवा, सुकुटी, वातावरणीय प्रभाव, वंशाणुगत कारणले क्यान्सर गराउन मद्दत गरिरहेको पाइन्छ। क्यान्सर छिटो फैलने र एकठाउँबाट अर्को ठाउँमा सर्ने रोग हो। मानव शरीरको नङ, र कपालबाहेक सबै अंगमा क्यान्सर हुन्छ।

नेपालका कुनै पनि प्रयोगशाला (ल्याब) क्यान्सर परीक्षणका लागि उपयोगी तथा गुणस्तरीय नभएकै कारण समयमै रोग पहिचान नहुने र पहिचान हुँदासम्म बिरामीको तेस्रो चौथो स्टेजमा पुग्ने गरेको पाइएको डा. घिमिरे बताउनुहुन्छ। सन् २००३ देखि भरतपुर क्यान्सर अस्पताल हुँदै भक्तपुर क्यान्सर अस्पतालसम्म पुगी सयौं महिलाको क्यान्सरको शल्यक्रिया गरिसक्नुभएका डा. घिमिरे आफूले घण्टौं लगाएर शल्यक्रिया गरेका बिरामीको हेरविचार तथा फलोअपमा आफन्तले ध्यान दिन नसक्दा धेरैको ज्यान जाने गरेको सुन्दा दुःख लाग्ने बताउनुहुन्छ।

क्रियाशील महिला पत्रकारहरूको समूह डब्ल्यूडब्ल्यूजे र नेपाल क्यान्सर केयर फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. घिमिरेले उक्त भनाइ राख्नुभएको थियो। उहाँ क्यान्सरका लागि गरिँदै आएको प्याप स्मेयर क्याम्प पूर्णरूपमा रोक्नुपर्ने यो परीक्षणबाट सही रिर्पोट नै नआउने हुनाले गाउँगाउँमा परीक्षण शिविर सञ्चालन गर्नु समय र खर्चको नास गर्नु मात्र भएको डा. घिमिरे बताउनुहुन्छ।

नेपालका महिलामा हुने क्यान्सरमा ब्रेस्ट क्यान्सर र पाठेघरको मुखको क्यान्सर धेरै भएको पनि डा. घिमिरेले जानकारी गराउनुभयो। यसको रोकथामका लागि सबैको एकता हुनुका साथै जनचेतनाको खाँचो रहेको कुरा औंल्याउनुभयो। बे्रस्ट क्यान्सर हो होइन महिनावारी भएको ४ देखि ५ दिनमा ऐनामा हेरेर या ओछ्यानमा सुतेर एउटा हात टाउकोको पछाडि राखेर, हात माथि उठाएर औंला र हत्केलाले दबाएर छामी पहिचान गर्न सकिने बताउनुभयो। उहाँले आफ्नो ब्रेस्ट आफैंले जाँचौं गाइनोकोलोजिस्टकोमा हैन सर्जनकोमा जाऊँ भन्नुभयो। आमाको दूध बच्चालाई नचुसाएकै कारण एक समय धेरै महिलामा बे्रस्ट क्यान्सर भएको पनि उहाँले बताउनुभयो।

सोही अवसमा सांसद सीता गुरुङले पहिलापहिला डा. घिमिरेले पाठेघरको क्यान्सरको कुरा पुरुषको अगाडि गर्दा लाजले भुतुक्कै हुन्थे। छलफल त गर्न नसक्ने अवस्थामा निःशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयले बजेट तय गर्ने त कुरै थिएन। यो जटिल समस्या हो भनी आफूहरूले बुझेर विगत ३ वर्षदेखि सांसद विकास कोषबाट तेह्रथुममा जनचेतनामूलक कार्यक्रमका साथै १ हजार जनामा भीआईए परीक्षण गरिसकेको बताउनुभयो।

पाठेघरको क्यान्सर भएको कतिपय महिलाको पाठेघर खस्ने समस्या विकराल रहेको पनि उहाँले बताउनुभयो। यस्तो समस्या छोरा, श्रीमान्को अगाडि व्यक्त गर्नै लजाएर हामीसँग भन्छन् सुन छ यही बचेर यो रोग निको पारिदिनुप¥यो। यस्ता महिलाहरू आफ्नै पीडाले जीवनमा कतिपटक मरेर बाँचेका छन्। यता स्वास्थ्यमन्त्रीले भने यो सेवा निःशुल्क र ऊ सेवा निःशुल्क भनिरहनुभएको छ खोई कहाँ छन् जनशक्ति र सेवा ? अब यी विषयमा संसद्मै आवाज उठाउँछु भन्नुभयो।

नेपालमा सबैभन्दा बढी सर्भाइकल क्यान्सर बढ्दो क्रममा छ। यो ३० देखि ७० वर्ष उमेरका व्यक्तिमा देखिन्छ। भक्तपुर, भरपुरलगायतका क्यान्सर अस्पतालको मात्र तथ्यलाई हेर्दा पनि २२ प्रतिशतभन्दा माथि यो क्यान्सर रहेको पाइएको डा. घिमिरे बताउनुहुन्छ। यो क्यान्सर बढी धूमपान, मध्यपान गर्ने व्यक्तिमा हुने गर्दछ। यो क्यान्सरमा रगत बग्ने, ढाड दुख्ने, शरीर दुब्लाउँदै जाने, घाउ निको नहुनेजस्ता संकेत ७० देखि ८० प्रतिशतमा देखिएको अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्