विजय युथ क्लवको जित



गोकुल घोरसाईने, बारा

सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतवार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै बिजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो । सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।

टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहागं लिम्बु, रमेश घिसिंगले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथी बाट बाहिरियो । बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो । बिजय युथका बर्षात गुरुगंको प्रहार भने सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे ।

निकै रोमाञ्चक र प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए । खेलको पाचौं मिनेटमा बिके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिएपछि बिजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाएको थियो । खेलको २ मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर पनि चुकाए । सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन । पहिलो हाफको २० औ मिनेटमा सरस्वतीका रमेश घिसिंगले डि बक्स भित्रबाट गरेको प्रहार पोष्टनजिकैबाट बाहिरियो । आपसी तालमेल राम्रो देखिए पनि दुबै टिमको फिनिसिंग पक्ष भने कमजोर देखियो ।

खेलको दोस्रो हाफ पनि उत्तिकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको बिजय युथले सरस्वती विरुद्ध केही अवसर बनाए पनि सदुपयोग गर्न भने सकेन् । दोस्रो हाफमा दुबै टिमले रक्षात्मक रणनीतिमा खेलेका थिए ।

सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनु परेको बताए । बिजय युथका प्रशिक्षक सुविन घिमिरले पनि आफना खेलाडीले राम्रो प्रदर्शन गरेको भए पनि फिनिसिङ पक्ष भने केही कमजोर देखिएको बताए ।

खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्