प्रफुल्लले उपाधि जिते



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा जारी १३औं राष्टब्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ अन्तर्गत १७ वर्षमुनि पुरुष एकलतर्फको उपाधि प्रफुल्ल महर्जनले जितेका छन्।

बुधबार शसस्त्र प्रहरी बलको कोर्टमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवका प्रफुल्लले नेपाल एपीएफ क्लवका प्रिन्स दाहाललाई १२–२१, २५–२३ र २१–१७ ले हराएका हुन्। यसैगरी मिश्रित युगलतर्फको फाइनल खेलमा आर्मीका नङशलादेवी तामाङ र रत्नजीत तामाङको जोडी विजयी भयो। तामाङ दिदीभाइले एपीएफका इन्द्रबहादुर महता र पुजा श्रेष्ठको जोडीलाई २१–१६, २१–१३ ले हराएको थियो।

त्यस्तै ३५ वर्षमाथि मास्टर्स पुरुष युगलतर्फको उपाधि नेपाल पुलिस क्लवका गणेश चन्द र कृष्ण सिवाकोटीको जोडीले जित्यो। उनीहरूले एपीएफका नारायणदत्त पौडेल र राजु गौतमको जोडीलाई २१–१८, २१–१८ ले पराजित गरेका थिए। ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको इभेन्ट्समा अन्नपुर्ण व्याडमिन्टन क्लवका श्याम पराजुली र नविनवाबु श्रेष्ठको जोडीले उपाधि जित्यो।

बुधबार नै सम्पन्न पुरुष एकलतर्फको फाइनलमा आर्मीका खेलाडीद्वय रत्नजित तामाङ र नवीन श्रेष्ठ पुगे। रत्नजीतले एपीएफका प्रिन्स दाहाललाई २१–१०, २१–१४ ले र नविनले पुलिसका गौतम कठायतलाई २१–१३, २१–१४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी महिला एकलतर्फको इभेन्ट्सको फाइनलमा भने आर्मीकी नङ्सलादेवीको सामना एपीएफकी शिक्षा श्रेष्ठसँग हुने पक्का भयो। सेमिफाइनल नङसलाले उनकै क्लवकी अनुमाया राईलाई २१–१३, २१–१० ले र शिक्षाले आर्मीकी मेघा चन्दलाई २१–६, २१–१८ ले पराजित गरेका थिए।

न्युडायमण्ड र एपीएफ  उपाधि नजिक

न्युडायमण्ड एकेडेमी र आयोजक एपीएफ सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्। बुधवार भएको पहिलो सेमिफाईनलमा नैकापको न्युडायमण्डले पुलिसलाई ३–१ को सेटमा स्तब्ध बनायो। चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ को सेटमा हरायो।

हलचोक स्थित एपीएफको भलिबलकोर्टमा भएको दोश्रो सेमिफाईनलमा खेलमा आयोजक एपीएफले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा निराश बनायो। एपीएफकी नेबिका चौधरी वुमन अफ द म्याच भएको खेलमा पश्चिमाञ्चल २५–१४,२५–१० र २५–१२ को सेटमा पराजित भयो।

प्रतिक्रिया दिनुहोस्