अभिनेता मैनाली सामाजिक संस्थाको शरणमा



रश्मी थापा

एक जमानाका खुंखार खलनायक पवन मैनाली गाँस–बासका लागि सामाजिक संस्थाको शरणमा पुगेका छन्। १४ वर्षअघि २०५९ सालमा फिल्म दिदी बहीनीको निर्माणका क्रममा निजगढमा मोटरसाइकल दुर्घटनामा परेर सख्त घाइते भएका मैनाली आफ्नो क्षेत्रले नहेरेपछि गाँस र बासको खोजीमा सामाजिक संस्थाको शरणमा पुगेका हुन्।

दुर्घटनापछि हिँड्न, हात चलाउन तथा राम्ररी बोल्न असमर्थ अभिनेता मैनाली समुचित गाँस, बास र राम्रो व्यहारको खोजीमा दीक्षा चापागाईंद्वारा धापासीमा सञ्चालित पवित्र समाज नेपालमा शरण लिन पुगेका हुन्। दुर्घटनामा परी मस्तिश्कमा समेत चोट पुगेपछि महिनौं दिनसम्म भेन्टेलेटरमा बसेर हस्पिटलबाट घर फर्केको करिब १ वर्षपछि मात्र बोली र स्मरण शक्ति फिर्ता पाएका उनले समुचित गाँस–बासका लागि सामाजिक संस्थामा शरण लिएको बताए। ‘दिदी बहीनीको सुटिङ सकिन ५ दिन मात्र बाँकी थियो। मेरो बाइकपछाडि डीबी भट्टराई भन्ने एक जना भाइ पनि थिए। अचानक मेरो मोटरसाइकल दुर्घटनामा पर्यो, म बेहोस् भएँ। पछिमात्र होस् खुल्यो। कति महिनासम्म त म आफूलाई पनि चिन्दिन थिएँ। स्मरण शक्ति विस्तारै फर्किंदै आयो तर अहिले पनि पहिले जति छैन’, भावुक हुँदै पवनले सुनाए– ‘पहिले सबैको नम्बर कण्ठ हुन्थ्यो। तर, अहिले सम्झन सक्दिनँ।

दुवै हात राम्रोसँग चलाउन हिँडडुल गर्न पनि गाह्रो भएपछि मैले परिवारकै लागि बोझ भएको महसुस गरें। त्यसैले परिवारलाई दुःख नदिन दीक्षालाई भनेर यहाँ आएर बसेको हुँ।’ पवन विगत एक सातादेखि उक्त सामाजिक संस्थामा शरण लिएर बसेका रहेछन्। ‘यहाँ सबै राम्रो छ, खाली ट्वाइलेट बाथरुम जान गाह्रो भएको छ। स्प्रे र सावर भए सजिलो हुन्थ्यो’ –उनले भने। दीक्षाले पवनलाई शौचालय लैजानुपर्ने, नुहाइदिनुपर्ने, दारी काटिदिनुपर्ने अवस्था भएको बताइन्। उनले पवनको सुविधाका लागि आवश्यक व्यवस्था गरिदिनलागेको पनि बताइन्।

स्रोतले जनाएअनुसार पवनले कपनमै घर भए पनि चलचित्र विकास बोर्डले मासिक खर्चबापत उपलब्ध गराउँदै आएको ५ हजार रुपियाँबाट आफ्नै घरमा समेत बुहारीलाई २ हजार रुपियाँ भाडा तिनुपर्नेलगायतका घरायशी विवाद तथा दुव्र्यवहारपछि सामाजिक संस्थामा आश्रय लिएका हुन्। माता, पिता, भाइ, बुहारी र भतिजीहरु भए पनि घरबाट राम्रो व्यवहार नपाएपछि उनले त्यहाँ आश्रय लिएको बताइन्छ। पवनकी बुहारी रन्जु मैनालीले भने १३ वर्षसम्म उनीप्रति दाइसरहको व्यवहार गर्दै स्याहार सुसार गरेको बताइन्। ‘उहाँको लुगा धुने खाना खुवाउने उपचारका लागि हस्पिटल लानेजस्ता सबै काम गर्दै आएकी थिएँ।

बुबाममी अमेरिका गएको बेलासमेत मैले नै उहाँको स्याहार गरें। जसको कारण म दशैंमा माइतीसमेत जान पाइनँ। अहिलेको जमानामा यस्तो बुहारी कमै पाइन्छ। तैपनि मलाई गाली–गलौज गर्नुभयो’, उनको भनाइ छ– ‘चलचित्र विकास बोर्डले दिने मासिक ५ हजार रुपियाँ भत्ता लिन पनि म आफैं जानुपथ्र्यो। पैसा आएका बेला मलाई आफैं २ हजार दिनुहुन्थ्यो। उहाँले दिएको पैसाले उहाँकै लागि खर्च गर्ने गरेको थिएँ’, उनले थपिन्– ‘अहिले मात्र होइन, केही समयअघिसमेत एक संस्थाको मानिसलाई लिन बोलाउनुभएछ। तर ममीबुबा अमेरिका भएको र म एक्लै घरमा भएका कारण सबै जना भएको बेला आउनूभनेर पठाइदिएँ। दीक्षा चापागार्इं घरमा आउँदा पनि उहाँसँगै जान्छु लुगा प्याक गरिदेउ भनेर जिद्धी गर्नुभयो। त्यो बेला ममी घरमा हुनुहुन्थेन। ममी आएपछि भोलि मात्र जानू भनेको पनि मान्नुभएन, जानुभयो। त्यसपछि मभन्दा माथिको ममीबुबा नै भएकाले मैले दाइलाई घर फर्कनु भनेर बोलाएको पनि छैन।’

पवनका पिता गोविन्दप्रसाद मैनालीले उनले सामाजिक संस्थामै बस्न मन गरेकाले लगिदिएको बताए। ‘पवनले त्यो संस्थामा जान्छु। त्यहाँ आफूजस्तै व्यक्तिहरुलाई हेरेर चित्त बुझाउँछु भनेपछि हामीले नजा भनेर धेरै कर पनि गरेनौं। किनभने ऊ पहिले पनि अन्य स्याहार केन्द्रमा दुई⁄चार महिना बसेर आएको थियो। अहिले पनि उतै राम्रो छ भन्यो’, उनले भने– ‘एक महिनाअघि प्राकृतिक चिकित्सक हेमराज कोइरालाको देवघाटस्थित प्राकृतिक उपचार केन्द्रमा लगेको थिएँ। उपचार पद्धति महँगो भएकाले फर्किएको हो। करिब एक वर्षसम्म उपचार गर्नुपर्ने र दिनकै एक हजार रुपियाँ लाग्ने भनेपछि उसलाई चलचित्र बोर्डले मासिक दिने ५ हजारले नपुग्ने भयो। त्यसैले दुई दिनमै फर्कियौं। त्यहाँका अध्यक्ष शैलेन्द्र पियाले पवन राम्रो कलाकार भएकाले उसले एक वर्षअघि खेलेको फिल्म सेतो बाघको च्यारिटी शो गराई रकम उठाएर उपचार गर्न सल्लाह दिनुभएको थियो। त्यही बेला मेरो मुटुको अप्रेसन गर्नुपर्ने भयो त्यसैले गर्दा ढिला भयो।’ पवनले भने घरबाट दुव्र्यवहार भए⁄नभएको बारे मुख खोलेनन्। कूटनैतिक शैलीको जवाफ दिए– ‘घरमा भन्दा संस्थामै बस्न राम्रो लाग्यो। यहाँ राम्रो वातावरण भएकाले घर फर्कन मन छैन।’

पवित्र नेपालको रेकर्डमा गोविन्दले गत फागुन १० गते सही गरेर पवनलाई त्यहाँ छोडेर गएको देखिन्छ। सो संस्थाको रजिस्टरमा गोविन्दले आजको दिनसम्म आफूहरुले हेरचार गर्दै आएकोमा आफूसरहको मानिसलाई हेरे चित्त बुझाएर बस्ने पवनको इच्छा भएकाले पवित्र समाज नेपालकी संस्थापक अध्यक्ष दीक्षा चापागाईंको जिम्मा लगाएको उल्लेख गर्दै सही गरेका छन्। त्यसको ठीक तल पवनले लेखेका छन्– ‘आकाशमाथि बादल, बादलभित्र पानी। तल धर्तीभित्र पानी बाँचुञ्जेल अनेक गर्छु भन्छ मान्छे, अन्तिममा मान्छे हुन्छ खरानी। फुलको सुवास खोज्दा काँडा बनेछ जीवन। हाँसेर बाच्न खोज्दा मुर्दा बनेछ जीवन। न सक्छु हासी बाँच्न, सक्तिन बाच्न रोई। चिताको दाउरा जस्तै जलेर बाँचिदिन्छु। जुनको किरण म खोज्थें औंशीको रात पाएँ, विश्वास गरेथें आफन्तलाई, बदलामा धोका खाएँ।’

दीक्षाले आफूलाई पवनले फोन गरेर घरमै बोलाएर जान्छु भनेपछि सँगै ल्याएको तथा उनको भतिजी र बुबाले ल्याएर जिम्मा लगाएको खुलाइन्। ‘मैले पवन दाइको परिवारलाई आमा, बुबा, भाइ, बुहारी भएको मान्छेलाई घरमा जस्तो केयर नपुग्न पनि सक्छ भनें। तर, आफ्नो छोराको इच्छा छ भने जाओस् न त भन्ने इच्छा थियो होला। त्यसैले पनि उहाँको बुबा र भतिजीले नै संस्थामा ल्याएर मेरो जिम्मा लगाउनुभएको हो’, दीक्षाले भनिन्– ‘घरमा जस्तो खानपिन र आमाको जस्तो माया त होला⁄नहोला भनें। पवन दाइले जस्तो छ, म यहीं बस्छु भनेपछि राखेकी छु।’

कुशल अभिनय क्षमताका धनी पवनले ३ दशकभन्दाअघि अमरसिंह नामक नाटकमार्फत् कलाकरितामा प्रवेश गरेका थिए भने पृथ्वीनारायण शाहलगायतका नाटकमा अभिनय गरेका छन्। निर्देशक चेतन कार्कीको निर्देशनमा बनेको फिल्म पहिलो प्रेमबाट फिल्ममा डेब्यु गरेका उनले भिष्म प्रतीज्ञा, शिवशक्ति, दौंतरी सुनचाँदी, आँधीबेरी, आफन्त, वसन्ती, जय बाबा पशुपतिनाथ, संगम, धर्म, आवारा, रणभूमि, प्यारी बहिनी, जन्मभूमि, विद्रोही, छोरी बुहारी, खुकुरी मजदुरलगायत सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनले धर्मको मर्म, देशभक्त, राप अस्मिता जस्ता टेलिफिल्म पनि अभिनय गरेर दर्शकको मन जित्दै आएका पवनले पिँजडा नामक फिल्म निर्माण गरी नायक निखिल उप्रेतीलाई ब्रेक दिएका थिए। पिँजडाको सफलताबाट जोशिएका उनले दिदी बहीनी नामक अर्को फिल्म निर्माण गर्दैगर्दा उनको दुर्घटना भएको थियो। निखिल उप्रेती, स्व. श्रीकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, झरना थापा, रवि शाहलगायतले अभिनय गरेको फिल्म केही कलाकारको निधन भइसकेका कारण अब नबन्ने अवस्थामै पुगिसकेको छ। अशक्त अवस्थामै पनि उनलाई नीर शाहले सेतो बाघ नामक फिल्म खेलाएका थिए।

‘म आफैं दुर्घटनामा परें। अर्कोतिर मैले बनाएको फिल्म पनि पूरा हुन पाएन। यस्मा मेरो गल्ती छ?’, पवन भन्छन्– ‘मलाई अझै पनि अभिनय गर्ने मन छ। यही हालतमा पनि सबै प्रकारको एक्टिङ गर्न सक्छु। मैले कहिल्यै एक्टिङ सिकिनँ, जन्मँदै जानें। त्यसैले नमरुञ्जेल पनि एक्टिङ नै गर्न चाहन्छु। एक्टिङ गरेर २⁄४ पैसा पाएँ भने कसैका लागि बोझ पनि हुन्नँ।’ हालसम्म अविवाहित उनलाई लाग्छ– ‘बिहे मात्र भएको भए पनि जिन्दगीमा दुःख पाउने थिइनँ कि। जीवन बिताउनका लागि मात्र भए पनि बिहे गर्ने मन छ। सहराका लागि भए पनि विवाह गर्न मन छ।’

प्रतिक्रिया दिनुहोस्