रुपन्देहीलाई पन्छाउँदै आर्मी अन्तिम चारमा



रमेश समदर्शी, बिर्तामोड

रुपन्देही ११ लाई पहिलो चरणमै रोक्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मङ्गलबार भएको खेलमा रुपन्देही–११ लाई २–० गोलअन्तरले पन्छाउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । टेकबहादुर बुढाथोकीले खेलको ६०औँ मिनेटमा दिएको पासबाट नवयुगले गोल गरे । उनकै लामो पासमा कप्तान भरत खवासले ७३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

रुपन्देहीका विक्रम लिम्बू, विजय धिमाल र दिपक राईले पाएको अवसर सदुपयोग हुन सकेन । उनीहरुको बल पोजिसनलाई आर्मीका खेलाडीले सफल हुन दिएनन् । रुपन्देहीको मिडफिल्ड कमजोरी देखिन्थ्यो ।
यो जितसँगै आर्मीले सुरुङ्गा र तिलोत्तमा गोल्डकपमा हारको बदला पनि लिएको छ । सुरुङ्गामा आर्मीलाई पहिलो चरणमै पाखा लगाएको रुपन्देहीले तिलोत्तमा गोल्डकपमा ३–१ को नतिजामा पराजित गरेको थियो ।

खेलको म्यान अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार र दुई तोाल चाँदीको मेडल प्रदान गरियो । बुधबारको खेल आयोजक रमपम झापा–११ र सुदूरपश्चिम फुटबल क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्