के गर्ने ३१ दरबार ?



ईश्वरराज ढकाल, काठमाडौं
भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन। केही दरबार भत्काउने तयारीमा भइरहेको छ भने केहीको पुनर्निर्माण गर्ने तयारी गरिएको छ।

पुरातत्त्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै गएको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले केही दरबार पुरानै अवस्थामा पुनर्निर्माण गर्ने र केहीलाई भत्काएर स्वरूपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले भूकम्पको अति जोखिम रहेको उपत्यकाका राणाकालीन दरबार सबै पुरानै स्वरूपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो। तर पुरातत्त्वविद्हरूले नेपालको सम्पदाका रूपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन्।

संस्कृति एवम् पुरातत्वविद मुकुन्दराज अर्यालले ४ सय वर्षको पुरानो मल्लकालीन दरबार जोगाउन सक्ने सरकारले इतिहास नै मेटिने गरी राणाकालीन दरबार भत्काउन लागेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘१ सय १ गौरवको रूपमा रहेका दरबार भत्काएपछि नेपालकै इतिहास मेटिन्छ, फेरि ती दरबार बन्नै सक्दैनन्।’ उहाँले भन्नुभयो– ‘भूकम्पले अलिकति वा धेरै भत्काएको भन्दैमा पूर्णरूपमा भत्काउनुपर्छ भन्ने छैन। काठमाडौं भूकम्पीय जोखिमयुक्त भएकाले भूकम्प आइरहन्छ, भूकम्पले दरबार भत्काउँछ, फेरि बनाउनुपर्छ।’

मल्लदेखि राणाकालीन दरबारसम्मको इतिहास विज्ञका रूपमा रहनुभएका प्रा. अर्यालले कुनै पनि राणाकालीन दरबार भत्काउन नहुने तर्क राख्नुभयो।
‘अहिले मैले सुनेको छु, केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जनौं राणाकालीन दरबार भत्काएर आधुनिक भवन बनाउने रे? सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर भवन बनाउने ? मलाई लाग्छ राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिँदैन। यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुँदैन। इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ।’

विभागको तथ्याङ्कअनुसार भूकम्पले बबरमहल, राष्ट्र बैंक रहेको ललिता भवन र थापाथलीको सिंहमहल, इन्जिनियरिङ कलेज, हरिहर भवन, श्री महल, मदन पुरस्कार पुस्तकालय, बहादुर भवन, बागदरबार, केशरमहल, जावलाखेल दरबार, महिला विकास केन्द्र रहेको भवन, सेन्ट जेभियर्स स्कुल रहेको भवन, शशी भवन, शान्ता भवन, चन्द्र मिलिटरी हस्पिटल, दरबार हाइस्कुल, त्रिचन्द्र क्याम्पस, मेघा बैंक रहेको भवनमा क्षति पुगेको थियो। त्यस्तै नारायणहिटी दरबार, सेतो दरबार, कमलपोखरीमा रहेको दरबार, सीता भवन, ट्यागल दरबार, शंकर होटल रहेको भवन, शीतल निवास, लक्ष्मी निवास, सुवर्ण महल, पद्मोदय स्कुल रहेको भवन र विश्वनिकेतन स्कुल रहेको राणाकालीन दरबार क्षतिग्रस्त भएका थिए।

भूकम्पले क्षतिग्रस्त भएकामध्ये पद्मोदय, दरबार स्कुल र मदन पुस्तकालय रहेको दरबार भत्काइसकिएको छ। पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले युग चिनाउने सम्पदाका रूपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘पुर्खाले दिएको सम्पत्ति भत्काएर नयाँ भवन बनाउँदै गए राणाकालीन इतिहास नै सम्झनामा आउनेछैन। कामै नलाग्ने गरी ध्वस्त भएका दरबारलाई भत्काए पनि केहीलाई पुरानै सामग्री प्रयोग गरी संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारलाई जस्ताको त्यस्तै गरी रेक्ट्रोफिट गर्ने जनाए पनि सो विषयमा निर्णय भइसकेको छैन।

संस्कृति एवम् पुरातत्त्वविद् प्रा. अर्यालले देशको माटो, संस्कृति र वास्तुकलालाई जीवित राख्न कुनै पनि दरबार भत्काउनै नहुने बताउनुभयो। ‘म त इतिहास, संस्कृति र पुरातत्त्वको विद्यार्थी मैले पढ्दा र पढाउँदा कहिल्यै पनि इतिहासलाई भत्काउनुपर्छ भनेर पढाइनँ, सधैं संरक्षण गर्नुपर्छ भनेको थिएँ’, उहाँले भन्नुभयो– ‘त्यसैले सरकारले भूकम्पले क्षतिग्रस्त सबै राणाकालीन दरबार भत्काउन खोजेको छ भन्ने सुनेको छु, यो कदम गलत हो। इतिहासलाई नास गर्न खोजिएको छ। यसको सबैले विरोध गर्नुपर्छ। भत्केर जाने गइरहन्छ, फेरि जस्ताको त्यस्तै बनाउन सिक्नुपर्छ। यो पो महानता हो। राणाहरूले दिएका उपहार कहिल्यै नष्ट गर्नुहुँदै हुँदैन।’ विभागले भने केही दरबार भत्काइए पनि केहीलाई संरक्षण गरेर राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्