वीरगन्ज विद्युतमा कर्मचारी व्यापक सरुवा



वीरगन्ज, (नेस)
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत ५४ जना कर्मचारीहरूको एकैपटक सरुवा भएको छ। लामो समयसम्म विभिन्न उच्च व्यक्तिहरूको आर्शीवादमा रहेका कर्मचारीहरूलाई एकैपटक हालै सरुवा गरिएको हो।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयले देशभर २ सय ६० तथा पर्सामा ५४ जना कर्मचारीको सरुवा गरेको हो। यस ऐतिहासिक सरुवापछि कार्यालय दिनभरि सुनसान भएको छ भने अधिकांश फाँटहरू बन्द छन्। १५ वर्षदेखि केही कर्मचारीको सरुवा नभएका कारण विद्युत् चुहावटमा उनीहरूको प्रत्यक्ष संलग्नता रहेको आशंकामा क्षेत्रीय कार्यालयले सरुवा गरेको समाचार स्रोतको दाबी छ। विभागले सरुवाको अधिकार क्षेत्रलाई दिएपश्चात् वीरगन्ज शाखाका कर्मचारीहरूलाई क्षेत्रभरि नै सरुवा गरेको स्रोतले बताएको छ।

नियमतः तीन वर्षमा सरुवा हुनुपर्ने भए पनि १५ वर्षदेखि कर्मचारीहरू वीरगन्ज शाखामा कार्यरत थिए। पियन र चालकबाहेक तीन वर्ष नाघेका सम्पूर्ण कर्मचारीको सरुवा भएको देखिन्छ। ५४ जनाको सरुवा गरे पनि ३६ जना कर्मचारी मात्र वीरगन्ज शाखामा पठाउने कर्मचारी स्रोतले जनाएको छ। दरबन्दीअनुसार पहिले नै ४० जना कम रहेकोमा हाल १८ जना पुनः दरबन्दीमा कटौती गरेपछि विद्युत् सेवामा समस्या हुन सक्ने कर्मचारीले बताएका छन्।

हाल विद्युत् प्राधिकरण, वीरगन्जमा ९४ जना कर्मचारी कार्यरत छन्। स्रोतका अनुसार वीरगन्ज शाखामा कार्यरत कर्मचारीको कारण वीरगन्ज क्षेत्रका गाविस, शहर तथा कलकारखानाको विद्युत् मिटरबाट विद्युत् चुहावट हुने गरेको कारण उनीहरूको एकैचोटी सरुवा भएको स्रोतले बताएको छ। वीरगन्ज शाखामा कार्यरत कर्मचारीहरूले पनि यस क्षेत्रका उद्योगी व्यापारीहरूसँग मिलेर विद्युत् चुहावट गर्ने गरेको प्राधिकरण श्रोतले नै बताएको छ।

प्रतिक्रिया दिनुहोस्