विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रमलगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुत गरे कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनः निर्देशन दिएको हो। विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय निर्देशनालयलाई पत्राचार गरी विभागको निर्देशनअनुसार अनुगमन गर्नसमेत निर्देशन गरेको छ।

विभागका महानिर्देशक बाबुराम पौडेलले नेपाली कला र संस्कृतिको विकास र प्रवद्र्धन गर्न कुनै पनि सांस्कृतिक, अभिभावक दिवस र वार्षिक भेलामा विदेशी संगीत प्रयोग नगर्न निर्देशन दिएको जानकारी दिनुभयो।

विभागले गरेको परिपत्रमा नेपाली लोकसंस्कृति र राष्ट्रियता झल्कने गीत, संगीत र नृत्यहरू मात्र समावेश गराउन निर्देशन दिएको हो। अन्य भाषाको गीतले विद्यालय क्षेत्रमा सांस्कृतिक विकृति बढ्न थालेपछि सरकारले त्यस्ता कार्यक्रम सञ्चालन नगर्न पूर्णरूपमा रोक लगाएको हो।

यसैगरी शुक्रबार पठनपाठन सम्पन्न भएपछि विद्यार्थीलाई अनिवार्यरूपमा अतिरिक्त क्रियाकलाप गर्न निर्देशन दिएको छ। विभागले चित्रकला र हस्तकला, वाद्यवादन, नृत्य, नाटक, वत्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद, साहित्यिक गतिविधि, निबन्ध र कविता प्रतियोगिता गर्न निर्देशन दिएको छ। विद्यार्थीको फुर्सदको समयलाई सदुपयोग गर्न र अतिरिक्त क्रियाकलापबाट ज्ञान हासिल गर्न अनिवार्यरूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको विभागले जनाएको छ। विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि अनिवार्यरूपमा अतिरिक्त क्रियाकलाप संचालन गर्न निर्देशन दिइएको विभगका उपनिर्देशक प्रमोदकुमार शर्माले जानकारी दिनुभयो।

अधिकांश सरकारी विद्यालयले अतिरिक्त क्रियाकलाप गर्ने विषयमा ध्यान दिन छाडेपछि विभागले यस्तो निर्देशन दिएको हो। निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको अतिरिक्त क्रियाकलाप प्रायः शून्य नै हुन थालेपछि शुक्रबार पढाइ सकिनासाथ सबै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गर्न निर्देशन दिएको हो।

त्यसैगरी विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न समिति गठन गर्नसमेत निर्देशन दिएको छ। विभागले विपद् व्यवस्थापन र प्राथमिक उपचारको विषयमा जानकारी दिन सबै विद्यालयमा नेपाल रेडक्रस र स्काउटको इकाइ खोल्नसक्ने व्यवस्था गरेको छ। पढाइमा कुनै पनि असर नपर्ने गरी अतिरिक्त क्रियाकलाप र विभिन्न सामाजिक संघसंस्थामा विद्यार्थीलाई सहभागी गराउन विभागले सबै जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरेको हो।

प्रतिक्रिया दिनुहोस्