नेपालको पनि विश्वकपमा पुग्ने सोच



फिरोज राजोपाध्याय

विश्वकै लोकप्रिय प्रतियोगिता विश्वकप फुटबलमा ४८ राष्ट्रको सहभागिता हुने भएको छ । १९९८ मा ३२ राष्ट्रको संख्यामा पुर्याएपछि करिब २८ वर्षपछि विश्वकपमा सहभागी राष्ट्र विस्तारित हुनेछ । जसमा अहिले चलिरहेको संख्याभन्दा १६ राष्ट्र बढ्नेछन् । विश्वकप २०२६ को आयोजना उत्तर अमेरिकी महादेशमा हुनेछ । २०२२ विश्वकप कतारमा सम्पन्न भएपछि उक्त विश्वकपको आयोजक राष्ट्र घोषणा हुनेछ । जसमा अमेरिका, मेक्सिको वा क्यानडामध्ये एकले विश्वकप आयोजना गर्नेछन् ।

फिफाका नयाँ अध्यक्ष गियानी इन्फान्टिनाको योजना यस्तो छ कि फुटबललाई विश्वभरि नै विस्तृत गर्ने हो । उनले प्रस्ताव ल्याए र जनवरी १० मा पारित पनि गराउन सफल भएका छन् । तर, फिफाको योजनालाई पैसा लुट्ने र शक्ति बढाउने भनेर आरोप लगाएको छ । इन्फान्टिनोले यसको जवाफ पनि दिएनन्, पैसा लुट्ने हो न शक्ति बढाउने हो । यो त फुटबल विकास गर्ने योजना हो । अहिले फुटबल भनेको युरोप र दक्षिण अमेरिकाको जस्तै भइरहेको छ ।

विश्वकपलाई विश्वभरि विस्तारित गर्न टिम बढाउनुपर्ने आवश्यक भइसकेको छ ।
उनको योजना स्वागतयोग्य छ । तर, हाल विश्वकपमा दक्षिण अमेरिका र युरोपकै आधिपत्य भइरहेको स्थितिलाई तोड्न सक्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । सायद २०२६ पछि हुने हो त्यो समयले बताउँछ । इन्फान्टिनोको साहसिक निर्णयले अब भने हरेक राष्ट्रले विश्वकपमा पुग्ने सपना देख्नेछन्, डिएगो म्याराडोनाले भनेजस्तो । उनले फिफाको निर्णयको स्वागत गर्दै भनेका छन्– ‘यो अद्भूत निर्णय हो । यसले विश्वकपमा जान सकिँदैन भन्ने मनस्थितिबाट हरेक राष्ट्र उठ्नेछन् ।

यस्तैमा नेपालले पनि केही योजना गरेमा विश्वकपमा पुग्न सक्ने आशा गर्न सकिन्छ । फिफाको नयाँ योजनाअनुसार २०२६ विश्वकपदेखि एसियाबाट ८ वा ९ राष्ट्रको सहभागिता हुनेछ । यसले नेपाल र नेपाली फुटबल समर्थकले पनि विश्वकपको सपना देख्न सक्छन् । यसमा कुनै ठूलो कुरा हुनेछैन । तर, यसका लागि नेपालले अहिलेदेखि नै तयारी गर्नुपर्छ ।

नेपालका राष्ट्रिय फुटबलका कप्तान अनील गुरुङले पनि अब त विश्वकपमा पुग्ने सोच बनाउन सकिने बताए । उनले भने– ‘पहिले एसियाबाट तीन राष्ट्र मात्र विश्वकपमा छनोट हुने भएकाले पनि त्यहाँ पुग्न कठिन छ भनेर हामीले सोच्न सक्दैन थियौं । तर, सहभागी राष्ट्रको संख्या बढाएपछि नेपाल पनि विश्वकप पुग्न सक्छ भनेर अहिले सोच्न सकिन्छ ।

मनाङ–मस्र्याङ्दी क्लबका कप्तान गुरुङले यसका लागि सरकारले जतिसक्दो लगानी गरेर अहिलेदेखि नै योजना बनाउनुपर्ने पनि बताए । उनले भने– ‘लगानी राष्ट्रबाट हुनैपर्छ । दुई⁄चार वटा रंगशाला बन्नुपर्यो । यति नभई फेरि विश्वकपमा संख्या बढायो भन्दैमा कसरी छनोट हुन सकिएला र ? अर्को अहिलेको लिगभन्दा पनि दाहोरो लिग गर्नुपर्छ । त्यसले पनि नेपाली टिमको आत्मविश्वास, प्रतिभावान् खेलाडी जन्मन्छन् । यसले विश्वकपमा पुग्न तयारी गर्न सहयोग मिल्न सक्छ ।

विश्वकपमा सहभागी राष्ट्र बढेपछि कतिले यसको विश्वसनीयता घट्ने र कमजोर टिम पनि आउने भनेका छन् । यसले विश्वकपको क्वालिटीमा धक्का लाग्ने पनि निक्र्यौल गरेका छन् । तर, गुरुङले गत ब्राजिलमा भएको विश्वकपमा ब्राजिलले लज्जास्पद पराजय भोगेको स्मरणीय गर्दै भने– ‘राम्रो टिमले पनि विश्वकपमा कहिलेकाहीं नराम्रो हार बेहोर्छ ।

उनले थपे– ‘ब्राजिल जस्तो टिमले पनि आफ्नै मैदानमा जर्मनीसँग ७–१ ले हारेको छ । यस्तो कल्पना कसैले गरेको होला र ? यसैले संख्या बढ्दैमा क्वालिटी घट्ने भनेर भन्न सकिँदैन । संख्या बढाउँदा त झन् कहिल्ये विश्वकप नपुग्ने कमजोर राष्ट्रले पनि अनुभव बटुल्ने मौका पाउँछन् । फिफाले त्यसै त गरेको होइन होला । फुटबलको विकास गर्न नै यस्तो निर्णय लिएको होला नि ।

प्रतिक्रिया दिनुहोस्