ट्रम्प युगको उदय र चुनौतीहरू



(विजय ज्ञवाली) गैरराजनीतिक वृत्तबाट उदाएका ७१ वर्षीय रियलस्टेट खर्बपति डोनाल्ड ट्रम्पले विश्व महाशक्ति राष्ट्र अमेरिकाको शक्तिशाली पद राष्ट्रपति पदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरको सम्मुख सपथ तथा पदभार ग्रहण गरेका छन् । संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपति पदमा ट्रम्पले सपथ लिंदै गर्दा भने विश्वमा एकप्रकारको आशंका र कतिपय चिन्ताका बाछिटाहरूले ट्रम्पलाई पनि नछ्यापेको भने अवश्य होइन । यसअघि उक्त बाछिटाहरू प्रत्यक्षरुपमा डोनाल्ड ट्रम्पले उद्घाटन गरेको एक परेड समारोहमा पनि देखा परेका थिए ।

यससँगै विश्वशक्ति राष्ट्रहरूद्वारा व्यक्त गरिएको शङ्का र चिन्ता मिश्रित गुनासाहरू बेलाबखत सुन्नमा आइरहेका पनि छन् । विश्वकै सबैभन्दा ठूलो महाशक्ति राष्ट्र र उक्त राष्ट्रको शक्तिशाली पदमा सपथ लिँदै गर्दा ट्रम्पका आगामी कार्ययोजना, उनको कार्यावधि र उनको क्याबिनेटले लिन सक्ने निर्णयहरूका बारेमा विश्वसमुदायले अत्यधिक चासो र शंका मिश्रित नजरले उनलाई हेर्न थालिसकेका छन् । स्वयं अमेरिकाभित्र पनि उनको जबर्जस्त उपस्थितिलाई चिन्ता, भय एवं अन्योलपूर्णरुपमा हेरिन थालिएको छ । विशेष गरेर डेमोक्र्याट अधिकारीहरूले उनको उदयलाई अन्योलग्रस्तको संज्ञा दिएका छन् । जसको प्रत्यक्ष असर उनको सपथग्रहणमा पनि देखिन पुग्यो । उनका कतिपय उत्तेजक एवं आक्रामक भाषण र शैलीले गर्दा उनको भविष्यमाथि नै कालो बादल मडारिन थालेको कतिपयको विश्लेषण रहेको छ

उनीमाथि बेइमानको राजनीति गरेको र मध्यअमेरिकाद्वारा भइरहेको वातावरणीय प्रदूषण र उक्त प्रदूषणद्वारा सिर्जित जलवायु परिवर्तन र यसबाट समग्र अमेरिकामा दिनानुदिन परिरहेको असर अनि उनले यसको रोकथामको लागि चाल्न सक्ने सम्भावित कदमको बारेमा पनि उनीमाथि तिखा टिकाटिप्पणीहरू हुने गरेका छन् । विश्लेषकहरू हाल समग्र अमेरिकालगायत पूरै विश्वका लागि चुनौतीको रुपमा रहिआएको जलवायु परिवर्तनको समस्या रोकथाममा ट्रम्प प्रशासन पूर्णरुपमा असफल हुने दाबी गर्दछन् । यस्तो टिप्पणी गर्नेमा मध्य र उत्तर अमेरिकी विश्लेषक अग्रपंक्तिमा छन् । अमेरिकनहरू खासमा व्यवाहारिक परिवर्तनलाई देख्न र सुन्न रुचाउँछन्, त्यसै अनुरुप नै उनीहरू नयाँ राष्ट्रपति चुन्न आतुर थिए । ताकि नयाँ राष्ट्रपतिको ध्यान त्यस मुद्दामा केन्द्रित रहोस्, जुन जल्दोबल्दो चुनौतीको रुपमा रहिआएको छ । त्यो भनेको पहिलो आतंकावाद र दोस्रो जलवायु परिवर्तन हो । तर ट्रम्प भने यी दुवै मुद्दामा येथेष्ट सम्बोधन गर्नबाट चुकेका एक विश्लेषकको भनाइ छ ।

ट्रम्पका सन्दर्भमा विपक्षीद्वारा उठ्ने गरेका कतिपय टिकाटिप्पणी सुन्नमा आएअनुसार ट्रम्पमा राष्ट्रवाद अवश्य हाबी छ र महसुस गर्ने हृदय पनि न्यानो छ तर त्यस्तो राष्ट्रवादको व्यावहारिक प्रयोगमा भने उनी अलिक चिसा पनि छन् । साथै अहिलेको ग्लोबलाइजेसनको समयमा पनि अमेरिका मात्र पहिलो र बाँकी सबै त्यसपछिको क्रममा भन्ने एउटा सरल मनोवैज्ञानिक दम्भ उनमा हाबी रहेको बताउने गर्दछन् ।

अमेरिका र यसको इतिहास जति गर्वपूर्ण छ त्यति नै यसको वर्तमान पनि छ । लोकतन्त्र र मानवअधिकारको सवालमा पनि अमेरिका पूर्ण कटिबद्ध छ । कतिपय अमेरिकनहरू चीनतर्फ संकेत गर्दै भन्छन्– अमेरिका त्यो चीन होइन, जहाँ गणतन्त्रको नाममा राष्ट्रपतिको व्यवस्थासँगै एउटा उदीयमान शक्तिको स्वघोषित हल्ला मात्र छ । मानवअधिकारको सवालमा चीनमा धेरै कठोर व्यवस्था गरिएको भन्दै उनीहरू थप्छन्– चीनले मूर्खतापूर्ण व्यवहार अवलम्बन गरेको छ, जहाँ एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि बीसौं शताब्दीको जस्तो पद्धति अवलम्बन गरिएको छ । हामी चाहन्छौं कि ट्रम्पको कार्यशैली पनि त्यस्तै अराजक नबनोस् ।

वर्तमान ट्रम्प प्रशासनले कतिपय पुराना व्यापार सम्झौताहरूको उल्लंघन गरेर अगाडि बढ्ने संकेत दिइराखेको बेलामा विपक्षी डेमोक्र्याट पार्टीका उच्च अधिकारीहरू भने यसमा सहमत हुन सकिराखेका छैनन् । उनीहरूको आरोप छ– रिपब्लिकन पार्टीमा विरोध ज्यादा र लोकतान्त्रिक चरित्र कम छ, त्यसैले यहाँनेर समस्या उत्पन्न हुन सक्छ । हुन त डोनाल्ड ट्रम्पलाई राम्रोसँग बुझ्नको लागि अझै केही समय पर्खिनुपर्ने हुन्छ । किनकि ट्रम्प बेलाबखत भन्ने गर्दछन्– ‘मस्तिष्कमा तुच्छ सोच एवं व्यवहारमा दोस्रो दर्जाको चाल हुनेहरूले सजायँको सामना गर्नुपर्नेछ ।’ उनको स्पष्ट संकेत आफूविरुद्ध लागेकाहरूप्रति केन्द्रित थियो भनेर प्रस्टै बुझन सकिन्थ्यो ।

ट्रम्पले अमेरिकी शासनशैलीमा अपत्यारिलोरुपमा परिवर्तन या धक्का दिन सक्छन् ।उनले आफ्नो कार्यशैलीलाई आक्रामकरुपमा अगाडि बढाउने कुराले कतिपय अमेरिकनहरूमा चिन्ता पनि थपिएको छ । त्यसैले त एकजना डेमोक्र्याट अधिकारी टिप्पणी गर्छन्– शासन भनेको विधिले हुने हो, जंगली शैलीको शासन हिंसात्मक पनि हुनसक्छ । ट्रम्पका पछिल्ला भाषणहरूमा राष्ट्रियताभन्दा पर रहेर अत्यधिक डरलाग्दा र नितान्त निजी विचारले काम गरिरहेको जानकारहरू बताउँछन् । यदि ट्रम्पले आफ्ना उत्तेजक एवं आक्रामण भाषणहरूमाथि पुनर्विचार गरेनन् र उस्तै रवैया कायम राखिराखे भने समग्र देश र बाँकी विश्वका लागि पनि खतरनाक रहनेछ ।

अमेरिकाले लिने विदेश नीति र व्यवहारको प्रत्यक्ष असर विश्वका प्रायः सबै देशहरूमा पर्ने हुनाले ट्रम्प प्रशासनले लिने कतिपय महत्वपूर्ण एवं संवेदनशील मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ या अन्य यस्तै भरपर्दो संस्थालाई पर्यवेक्षकको रुपमा राख्नुपर्ने विश्लेषकहरूको ठम्याइ छ । चीन नीतिमा उसले प्रदर्शन गर्ने व्यवहारबाट पनि बाँकी दिनहरूका बारेमा आँकलन गर्न सकिन्छ । त्यस्तै उत्तर कोरिया र इरानको आणविक हतियार उत्पादन, भण्डारण एवं परीक्षणको नियमन एवं निरुपण ट्रम्प प्रशासनका मुख्य चुनौती रहनेछन् भने रुसी व्यापार सम्बन्ध नाटोको भविष्य, अन्तर्राष्ट्रिय जलवायु नियन्त्रण र जटिल अन्तर्राष्ट्रिय मूद्दाहरूको सामना ट्रम्प प्रशासनका चुनौतीका रुपमा रहनेछन् । अमेरिका र एसिया एवं अन्य क्षेत्रसँगको सम्बन्ध र अवलम्बन गर्ने व्यवहारबाट नै ट्रम्प प्रशासनका भविष्यका बारेमा लेखाजोखा हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्