केनको ह्याट्रिकसँगै म्युनिखले जित्यो जर्मन कप


लन्डन, (एजेन्सी)

स्टार स्ट्राइकर ह्यारी केनले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै सानदार ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ ।
बायर्नले फाइनल भिडन्तमा स्टुटगार्टलाई ३–० को गोलअन्तरले पराजित गरेर उपाधि जितेको हो । यस ऐतिहासिक जितसँगै बायर्नले ६ वर्ष लामो प्रतीक्षाको अन्त्य गर्दै घरेलु ‘डबल’ उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । यो सिजनमा टोलीले बुन्डेसलिगा पनि जितेको हो ।

खेलको पहिलो हाफमा निकै कडा प्रतिस्पर्धा देखिएको थियो । जहाँ स्टुटगार्टले बायर्नमाथि निकै दबाब सिर्जना गरेको थियो । तर, दोस्रो हाफमा खेलको चित्र पूर्ण रूपमा बदलिँदै बायर्न म्युनिखको पक्षमा मोडियो ।

खेलको ५५औं मिनेटमा माइकल ओलिसेको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै केनले आकर्षक हेडमार्फत गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा अग्रता लिएसँगै मैदानमा केही रोमाञ्चक र तनावपूर्ण परिस्थितिहरू पनि सिर्जना भए ।

खेलको ६०औं मिनेटतिर दुवै टोलीका उत्साहित समर्थकहरूले रंगशालाभित्र आगोका मशालहरू बालेपछि सिङ्गो मैदान बाक्लो धुवाँले भरिएको थियो, जसका कारण खेललाई केही समयका लागि रोक्नुसमेत परेको थियो ।

खेल पुनः सुचारु भएपछि ७६औं मिनेटमा स्टुटगार्टका क्रिस फ्युरिखले बराबरी गोल फर्काउने एउटा सुनौलो अवसर गुमाउन पुगे । त्यसको ठीक चार मिनेटपछि अर्थात् खेल सकिन १० मिनेट बाँकी रहँदा बायर्नले एक उत्कृष्ट टिम समन्वयको नमुना प्रस्तुत ग¥यो ।

केनको पहिलो प्रहार क्रसबारमा लागेर फर्किए पनि त्यसलाई लुइस डियाजको पासमार्फत पुनः नियन्त्रणमा लिँदै केनले स्टुटगार्टका गोलरक्षक अलेक्जेन्डर न्युबेललाई बिट गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

अन्ततः अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै इङ्ग्ल्यान्डका कप्तानसमेत रहेका केनले आफ्नो ह्याट्रिक पूरा गरे र बायर्नको जित सुनिश्चित गराए ।

आगामी विश्वकपको संघारमा उत्कृष्ट लयमा देखिएका ह्यारी केनका लागि यो सिजन कीर्तिमानी सावित भएको छ । उनी जर्मन कपको इतिहासमा सुरुवाती चरणदेखि फाइनलसम्मका सबै खेलहरूमा गोल गर्न सफल हुने इतिहासकै तेस्रो खेलाडी बनेका छन् ।

यस सिजन बायर्न म्युनिखका लागि सबै प्रतियोगिताहरूमा गरी ५१ खेल खेलेका केनले ६१ गोलको अविश्वसनीय आँकडा पार गरिसकेका छन् । खेल समाप्तिपछि संक्षिप्त प्रतिक्रिया दिँदै केनले पहिलो हाफमा विपक्षी टोलीको दबाबका कारण खेल निकै कठिन भएको स्वीकार गरे ।

तर, दोस्रो हाफमा विपक्षी खेलाडीहरू थाकेको अवस्थाको फाइदा उठाउँदै आफ्नो टोलीले बल नियन्त्रणमा धैर्यता र गुणस्तरीय खेल प्रदर्शन गरेका कारण जित सम्भव भएको र आफूहरू यो उपाधिको हकदार रहेको उनले बताए ।

केनको यो अदभुत प्रदर्शनको चौतर्फी प्रशंसा भइरहेको छ । बायर्नका सम्मानित अध्यक्ष उली हुनेसले केनलाई क्लबमा आबद्ध गराउने निर्णय क्लब इतिहासकै सबैभन्दा उत्कृष्ट र सही निर्णय भएको भन्दै उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

अध्यक्ष हुनेसको उक्त टिप्पणीप्रति खुसी व्यक्त गर्दै केनले बायर्न म्युनिखको इतिहासमा धेरै महान् खेलाडीहरूले खेलिसकेको सन्दर्भ जोड्दै उनीजस्तो प्रतिष्ठित व्यक्तित्वबाट यस्तो प्रशंसा पाउनु आफ्नो लागि निकै विशेष र गौरवको विषय भएको बताएका छन् ।

साथै, फाइनल खेलमा तीन गोल गर्दै क्लबको ऐतिहासिक सफलताको हिस्सा बन्न पाएकोमा आफू गौरवान्वित भएको उनले उल्लेख गरे । यो सिजन टोलीका लागि कीर्तिमानी रहे पनि आफूहरूको इच्छा च्याम्पियन्स लिगसमेत जित्ने रहेको बताउँदै केनले यो जर्मन कपको उपाधिले आगामी दिनमा टोलीको मनोबल अझ बलियो बनाउने दृढ विश्वास व्यक्त गरेका छन् ।