काजी बने चेस ‘किङ’

0
Shares

इलाम।

इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे ¥यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिप–२०८३’ ले नयाँ तरंग उत्पन्न गरेको छ । वर्षौंदेखि चेसमा स्थापित अनुभवी खेलाडीहरूलाई युवा पुस्ताले चुनौती मात्र दिएन, शक्ति सन्तुलन नै बदलिँदै गएको संकेत पनि दिएको छ ।

प्रतियोगिताको सबैभन्दा ठूलो चर्चा भने इलामका ११ पटकका जिल्ला च्याम्पियन तथा पूर्व पूर्वाञ्चल च्याम्पियन सरोज कन्दङवाको ‘रिङ आउट’ भए । लामो समयदेखि इलाम चेसमा एकछत्र प्रभाव जमाएका कन्दङवाबाट फेरि उपाधि उचाल्ने अपेक्षा गरिएको थियो । तर यसपटक खेलले अप्रत्याशित मोड लियो ।
¥यापिड विधामा प्रति खेल १० मिनेट समय दिइएको थियो । अनुभव र रणनीतिमा अब्बल मानिएका कन्दङवा दुई खेलमा घडीको बटन थिच्नै बिर्सिए । सामान्य देखिएको यही गल्तीले उनलाई प्रतियोगिताबाट लगभग ‘रिङ आउट’ गरिदियो । समय व्यवस्थापनकै कमजोरीका कारण अनुभवी खेलाडी दबाबमा पर्दा दर्शकसमेत अचम्मित बनेका थिए ।

कन्दङवामात्र होइन, पूर्व जिल्ला च्याम्पियन देवी पौडेल र याम लिम्बू पनि यसपटक अपेक्षा अनुसार चम्किन सकेनन् । इलाम चेसमा दबदबा बनाउने सपना टुटेको छ । यी दुवै खेलाडी छैटौँ र सातौँ स्थानमा सीमित भए । अनुभव भन्दा गति र आत्मविश्वास हाबी भएको प्रतियोगितामा पुरानो पुस्ता केही पछि धकेलिएको दृश्य स्पष्ट देखियो ।

यता युवा खेलाडी अबिनास लिम्बू र सुबास राईले भने आक्रामक तथा परिपक्व खेल प्रदर्शन गर्दै सबैको ध्यान ताने । निर्णायक खेलहरूमा उनीहरूको संयमित रणनीतिले दर्शकलाई प्रभावित बनायो । अन्ततः तीर्थमान राई ‘काजी’ ले शानदार ‘इन्ट्री’ गर्दै नयाँ जिल्ला च्याम्पियनको उपाधि कब्जा गरे ।

लगातार स्थिर प्रदर्शन गरेका उनले अनुभवी खेलाडीहरूलाई पछि पार्दै इलाम चेसमा नयाँ युग सुरु भएको संकेत दिएका छन् । अबिनास लिम्बू दोस्रो तथा खड्ग सुब्बा तेस्रो बने । चौथो स्थानमा सुबास राई, पाँचौँमा रविन्द्र घिमिरे, छैटौँमा देवी पौडेल तथा सातौँमा याम लिम्बू रहे ।

इलाम १६ वर्षमुनि महिला समूहमा आन्वी राई प्रथम बनिन् भने सूर्योदय महिला समूहमा सूचना लाप्चा विजेता भइन् । सूर्योदय १६ वर्षमुनि महिला समूहमा प्रबिशा राई तथा इलाम महिला च्याम्पियनमा बिनीता राई उत्कृष्ट बनिन् ।

सूर्योदय १६ वर्षमुनि पुरुषतर्फ विज्ञान अधिकारी विजेता बने भने इलाम १६ वर्षमुनि च्याम्पियनको उपाधि आर्जन भण्डारीले जिते । सूर्योदय च्याम्पियनतर्फ शुसान्त घिमिरे प्रथम, सुगम सुबेदी दोस्रो र केशव कट्टेल तेस्रो भए ।

इलो १७ सयमुनि समूहमा गणेश मगर विजेता बने भने अनरेटेडतर्फ श्यामकुमार स्याम्बो च्याम्पियन भए । सरकारी कर्मचारीतर्फ सन्दीप राई उत्कृष्ट बने ।
ब्लिट्ज विधामा पनि प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो । सूर्योदयतर्फ रविन्द्र घिमिरे प्रथम, अबिनास लिम्बू दोस्रो तथा मुकुन्द ढुंगेल तेस्रो भए । इलाम जिल्ला ब्लिट्जतर्फ याम लिम्बू प्रथम बने भने तीर्थमान राई दोस्रो तथा सरोज कन्दङवा तेस्रो स्थानमा सीमित भए ।