दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्दै



खोटाङ, ११ माघ । कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्ने भएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण सडक गुणस्तरहीन बन्ने भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा बिच्छ्याइएको ग्राभेल (रोडा÷ढुङ्गा) अहिले नै फुटेर धुलो भएको स्थानीय भीम राईले बताउनुभयो । “सडकमा बिच्छ्याइएको ग्राभेल फुटेर माटो जस्तै भएको छ ।” उहाँले भन्नुभयो, “अहिले नै ध्यान नपु¥याउने हो भने बनेको वर्ष दिनमै कालोपत्रे उप्किने निश्चित छ ।”

दुई वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडकमा अहिले ग्राभेलिङको काम भइरहेको छ । सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो, फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ ।

सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीय उद्दिम चाम्लिङले बताउनुभयो । “प्रशासनकै आँखा अगाडि गुणस्तरहीन काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “कामको जिम्मा लिने ठेकेदारलाई तत्काल प्रशासनमा झिकाएर कारबाही गर्नुपर्छ ।”

सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएका छन् ।

कालोपत्रे गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन । निर्माणस्थलमा खटिएका इन्जिनियरले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् ।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर, सूर्यदेवी–कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम थालिएको हो ।

करिब दश वर्षअघिदेखि यातायात सु्चारु भएको सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्तगतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्