राजनीतिक दलविहीन बन्ने भयो तकसेरा



धनवीर दाहाल, रुकुम
कुमको तकसेरा एउटा जिल्लाकै नमुना ठाउँ हो। पूर्वी रुकुमको तकसेरालाई पर्यटकीय दृष्टिकोणले उच्च स्थानमा राखेर मूल्यांकन गर्ने गरिन्छ। तकसेराको सेरागाउँ, बाछीगाउँ, उपल्लो सेरा, तल्लो सेरालगायतले चिनिने तकसेरामा राजनीतिक दलहरू पनि उत्तिकै वर्चश्व जमाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलको तकसेरामा राम्रै पहुँच छ। तर पछिल्लो समयको स्थानीय तह निर्धारणमा तकसेरामा केन्द्र तोक्नुपर्ने माग गर्दै आएका तकसेराबासीले आफ्नो ठाउँमा गाउँपालिकाको केन्द्र नतोकिएको भन्दै आफू आबद्ध रहँदै आएका सबै दल त्याग्ने घोषणा गरेका छन्।

गाविसमा रहेका सम्पूर्ण राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले आफू आबद्ध रहेको पार्टी परित्याग गर्ने घोषणा गरेका हुन्। आफूहरूको मागमा राजनीतिक दल गम्भीर नभएको भन्दै आफू आबद्ध पार्टीमा रहेको जिम्मेवारीबाट सम्पूर्णले राजीनामा दिएको गाउँपालिका केन्द्र तकसेरा सरोकार समितिका संयोजक जुद्ध बुढामगरले बताए। यस्तै गाउँपालिकाको माग गर्दै २ सय बढी गाविसबासी सदरमुकाम पुगेको सरोकार समितिले दाबी गरेको छ। आफूहरूको माग पूरा नभएसम्म गाउँ नफर्किने समितिले अडान लिएको छ। उस्तै परेमा राजधानीमा समेत पुग्ने समितिका संयोजक बुढामगरले बताए। यति मात्र होइन तकसेराबासीले तकसेरालाई गाउँपालिकाको केन्द्र नबनाइएको भन्दै विरोधस्वरूप गाविसलाई निषेधित क्षेत्र घोषणा गरेका छन्।

तकसेरालाई गाउँपालिकाको केन्द्र बनाउन जिल्ला तथा केन्द्रमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै गासिवबासीले विरोधस्वरूप गाविसलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्। जिल्लाको पूर्वी भेगका तकसेरा, रन्मामैकोट, हुकाम, जाङ, राङसी, कोललगायतका गाविस मिलेर बन्न लागेको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा नतोकिएको भन्दै गाविसबासीले उक्त निर्णय तत्काल सच्याउन र नसच्चिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। गाविसबासीले परिमार्जनसहितको स्थानीय तह पुनर्संचनाको कार्य सर्त तथा कार्यविधिअनुसार तकसेरा गाउँपालिकाको केन्द्र बन्ने सम्पूर्ण आधारहरू हुँदै हुँदै पनि पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र कोलमा तोक्न लागिएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले बताएका छन्।

सदिऔंदेखि हरेक कुराले पछाडि पारिँदै आएको तकसेरालाई यसपटक पनि पछाडि पार्न खोजिएको आरोप लगाएको छ। गाविसबासीले गाउँपालिका केन्द्र तकसेरा सरोकार समिति नै गठन गरेर जिल्ला तथा केन्द्रमा पुगी तकसेरालाई गाउँपालिकाको केन्द्र तोक्न माग गरेका थिए। गाविसबासीले आफूहरूले भने जसरी तकसेरलाई गाउँपालिकाको केन्द्र नबनाइए प्रहरीबाहेक अन्य कुनै पनि निकायलाई गाविसमा प्रवेश गर्न नदिने बताएका छन्। प्रहरीबाहेक सरकारी कर्मचारी, राजनीतिक दललगाएत कसैलाई पनि गाविसमा छिर्न नदिने गाउँपालिका केन्द्र तकसेरा सरोकार समितिका संयोजक जुद्ध बुढामगरले बताए। जबरजस्ती निषेधित क्षेत्र तोड्न खोजे त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् राज्य हुने उनले चेतावनी दिए।

यता तकसेराबासीले गाउँपालिकाको केन्द्र कोलको गाविस कार्यालयलाई तोकिएको बताए पनि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले भने यसबारेमा समितिलाई कुनै जानकारी नआएको बताएको छ। समितिका संयोजक एवं स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले अहिलेसम्म आयोगले जिल्लामा तीन नगरपालिका र छओटा गाउँपालिकासहित नौओटा स्थानीय तह बन्नेबाहेक अन्य कुनै जानकारी नपठाएको बताए।

प्रतिक्रिया दिनुहोस्