निर्वाचन क्षेत्र विकासको रकममा मनोमानी



नाम जनताको, कमिसन सभासद्को
ललित सिंह, बझाङ
नताको विकासका लागि भन्दै सभासद्ले वितरण गर्ने ५० लाख बझाङका पाँच जना सभासद्ले आफूले कमिसन पाउने ठाउँका आफन्तलाई मात्र योजना वितरण गरेको स्थानीयले आरोप लगाएका छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम क्षेत्र नं १ का प्रत्यक्ष एमालेका सभासद् मानप्रसाद खत्री, क्षेत्र नं २ का प्रत्यक्ष एमाले सभासद् लालबहादुर रावल समानुपातिक सभासद् एमालेका अफिलाला ओखेडा, नेपाली कांग्रेसकी समाुनपातिक सभासद् चन्द्रा जोशी र माओवादी केन्द्रका समानुपातिक सभासद् जनक बुढाले आफूले बाँड्न पाउने ५० लाख आफन्तजन र कमिसन पाउने ठाउँमा मात्र वितरण गरी बझाङ विकासको २ करोड ५० लाख दुरुपयोग र कमिसनको खेलमा वितरण गरेको स्थानीयले आरोप लगाएका हुन्।

गाउँमा आउँदा हामीलाई भोट देऊ हामीे तपाईंको गाउँको विकासमा काम गर्छौं भन्ने नेताले सभासद् भएपछि जनताको विकास गर्नुको साटो आफूले बाँड्न पाउने रकम कागजमा मात्र बाँड्ने र परिवारका सदस्य र आफ्नो वरिपरि घुम्ने कार्यकर्तालाई योजनाको नाम दिँदै रकम वितरण गरेर कमिसन लिने गरेको काँडा गाविस–३ धलौनका मान बोहराले बताए।

उनले भने– ‘नेताले भोट माग्न गाउँमा आउँदा हामीले खसी बोका र पुरी पकमान खुवाउने गरेका छौं। गाउँलेको निजी स्रोतबाट सञ्चालन हँुदै आएको धलौन माविमा तीन वर्षदेखि रकम देऊ शिक्षकको तलब दिनुछ भन्दा सुनेको नसुने झैं गर्छन्।’ योजना सबै विकासमा नभई रकम बाँडेर खाने मात्र नाम दिएका छन् गत विगतमा पनि त्यस्तै हुने गरेको थियो।

‘निर्माणको नाममा मन्दिरको एक ढुंगा पनि थपएिको छैन गएको वर्ष सेतो माटोले मन्दिर पोते बाटो सफा गरे १५ लाख त्यसै सभासद् लालबहादुर रावलका दाजुले खाए यो वर्ष पनि वाटपाला मन्दिर निर्माण भनेर आफ्नै गाउँको मन्दिर सामुदायिक भवनको नाम राखेर रकम विनियोजन गरेका छन्’ –यी सबै योजना नाम मात्रका भएको मौलाली गाविसका विष्णुभक्त खैरले बताए।

‘सदरमुकाम चैनपुरको होटल र सभासद्को क्वाटरमै योजनाका कागतपत्र मिलान गरी फरफारक गर्ने गरेका हुन्छन्। हामी गाउँमा एक छाक भात खान नपाए र भोकभोकै बस्नुपरेको छ’ –स्थानीयको भनाइ छ।

जनताको विकासका लागि भए सभासद्ले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत सबै जनताको समान पहुँच हुने गरी योजना वितरण गर्थे राज्यको ढुकुटीबाट सीधै आफू खान नपाउने भएपछि योजनाको नाम दिएर प्रति व्यक्ति ५० लाख सभासद्ले जनताको नाममा खाने गरेको पूर्व स्थानीय विकास अधिकारी शिव कोइरालाले बताए।

उनले भने– ‘राज्य निर्माण गर्ने सभासद्को आचरणसमेत भ्रष्ट छ, गरिब र बरोजगार युवाले त कामै नगरी पैसा खान पाए नखाने कुरै भएन, यो रकम केन्द्रबाटै रोक्नुपर्छ। यस्तै हुने हो भने गाउँगाँउमा भ्रष्टाचारी बढ्नेछन। न त सभासद्ले वितरण गरेका योजनाको अनुगमन हुन्छ न त सार्वजनिक सुनुवाइ कागतमै सीमित हुन्छ। जनतालई राहत हुँदै हुँदैन।’

जिल्लाको विकास गर्ने भनेर बझाङी जनताले क्षेत्र नम्बर १ बाट प्रत्यक्ष एमालेका मानप्रसाद खत्री र क्षेत्र न २ बाट प्रत्यक्ष एमालेका लालबहादुर रावललाई निर्वाचित गरेर पठाए पनि उनीहरूले आफ्ना नातागोता, आसेपासेलाई जिल्लाको विकासमा आएको योजना वर्षपिच्छे विरतण गर्दै आएका छन्। यो वर्षको निर्वाचन क्षेत्र विकास कोष पनि मठमन्दिर चेनतामूलक तथा सीपमूलक भनेर १ करोड रकम वितरण गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी समानुपातिक सभासद् चन्दा जोशी, एमालेका समानुपातिक सभासद् अफिलाल ओखेडा र माओवादी केन्द्रका समानुपातिक सभासद् जनक बुढाले पनि जनही ५० लाखका दरले १ करोड ५० लाख मठमन्दिर सीपमूलकमै भनेर कार्यकर्ता र आफन्तजनलाई वितरण गरेको स्थानीयले गुनासो गरेका छन्।

सरकारी नियमअनुसार कम्तीमा पनि एक योजना १० लाख बराबर अरू योजना १ लाखभन्दा माथिका बनाएर क्षेत्र विकासको रकम वितरण गरेर सभासद्ले ल्याएका छन्। त्यसैलाई आफूले नियमानुसार काम गरिरहेको स्थानीय विकास अधिकारी प्रमोद सिंखडाले बताए। उनले भने– ‘नियम कानुन त छँदै छ त्यसलाई नेताले कार्यान्वयन गरिदिए हुने थियो तर हुँदैन।’ जिल्लामा आएको निवार्चन क्षेत्र पूर्वाधार विकासको ६ करोड पनि नेताले यसरी नै आफन्त र नजिकका कार्यकर्ताले रजाइँ गर्ने गरी नै वितरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्