के होला स्ववियु चुनाव ? प्रधानमन्त्रीका कारण सबैथोक अड्कियो



काठमाडौं, (नेस) त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन दलका प्रमुख नेतासँग कुराकानी गरेर मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका घोषणा हुने बताएपछि आगामी फागुन १४ गते निर्वाचन गर्ने कि नगर्ने भन्ने विषय अझै अन्योलमा छ।

सत्ताधारी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पार्टी अध्यक्ष प्रचण्डलाई निर्वाचन गर्ने विषयमा कन्भिन्स गराए पनि त्रिविका पदाधिकारीसँग पुनः कुराकानी गर्ने भनेपछि स्ववियु निर्वाचन अनिश्चित भएको हो। सत्ताधारी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उमेर हद २८ वर्ष मान्य नहुने जनाएपछि स्ववियु निर्वाचनको मिति अनिश्चित हुँदै गएको छ।

त्रिभुवन विश्वविद्यालयलाई निर्वाचन तालिका घोषणा गर्ने अन्तिम तयारी गरिरहँदा त्रिविका कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले त्रिविलाई निर्वाचन गर्न आदेश नदिँदा त्रिवि स्वयम् अलमलमा परेको छ।

‘त्रिविका कुलपतिले लिखित निर्णय नदिएसम्म निर्वाचनको कुनै पनि कार्यक्रम सार्वजनिक गर्न सकिँदैन।’ –त्रिविका रजिष्टार प्राडा सुधा त्रिपाठीले भन्नुभयो।

‘हामीले निर्वाचन कमिटीदेखि कार्यतालिकालगायत सबै विषयमा तयारी पूरा गरिसकेका छौं। त्रिविका मुख्य व्यक्ति कुलपतिले निर्णय नगर्दासम्म कुनै काम अघि बढाउन सकिँदैन।’ –स्ववियु निर्वाचनबारे जानकारी गराउँदै उहाँले भन्नुभयो।

‘हामी कुलपतिको निर्णयको प्रतिक्षामा छौं, उहाँसँग भेट हुनासाथ फागुन १४ गते निर्वाचन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछौं।’ –उहाँले भन्नुभयो। त्रिविका पदाधिकारीहरू हिजो सोमबार दिनभर कुलपतिको प्रतीक्षामा रहेका थिए।

नेविसंघले उमेर हदको विषयलाई मुख्य मुद्दा बनाएपछि तत्काल निर्वाचन गर्ने वा नगर्ने विषयमा थप अन्योल सिर्जना भएको छ। नेविसंघको असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादु्र देउवालाई भेटी उमेर हद कायम भए निर्वाचन बहिष्कार गर्ने सम्मको चेतावनी दिएको थियो।

देशकै मिनि निर्वाचनको रूपमा लिइएको स्ववियु निर्वाचन गर्न मुख्य तीन दलबीच सहमति नभए निर्वाचन हुने अवस्था देखिँदैन। एमालेको भ्रातृ संगठन अनेरास्ववियुले करिब एक साताअघि तीन दिनभित्र कार्यतालिका घोषणा गर्न दबाब दिँदै त्रिविका पदाधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको थियो।

अनेरास्ववियु क्रन्तिकारीले देशैभर निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्नुपर्ने भन्दै विप्लव र वैद्य निकट अनेरास्ववियुले समेत निर्वाचनमा जाने निर्णय गरिसकेका छन्। तर त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले ठोस निर्णय दिन नसक्दा निर्वाचन प्रक्रिया नै अलपत्र परेको छ।

मुख्य तीन दलका नेताको निर्णय कुरेर बसेको त्रिविले यसपटक पनि निर्वाचन गर्न सक्ने अवस्था देखिएको छैन। अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले पार्टी अध्यक्ष स्वयंले स्ववियु निर्वाचनमा जानुको विकल्प नभएको भन्दै विद्यार्थीलाई अघि बढ्न आग्रह गरिसक्नुभएको अवस्थामा कसैले पनि निर्वाचन रोक्न नसक्ने बताउनुभयो।

‘हामी देशव्यापीरूपमा निर्वाचनको प्रशिक्षणमा लागिसकेका छौं, कसैले निर्वाचन हुँदैन भनेर रोक्न सक्ने अवस्था छैन।’ उहाँको भनाइ थियो। नेविसंघका अध्यक्ष नैनसिंह महरले यसपटक उमेरको विषय थाती राखेर त्रिविले निर्वाचनको कार्यक्रम घोषणा गर्नु उत्तम हुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले त्रिविसँग एक पटकका लागि आग्रह गरेका छौं। तर जस्तोसुकै अवस्था भए पनि फागुन १४ गते नै निर्वाचन हुनुपर्छ।’ तर नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले उमेरको हद लगाएर भए पनि निर्वाचन गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो।

उहाँले स्ववियु निर्वाचन जुनसुकै अवस्थामा भए पनि गर्नुपर्छ, स्ववियुको जननी नेविसंघ नै भएकाले निर्वाचन गर्नैपर्छ।

तर नेविसंघले आधिकारिक धारणा सार्वजनिक गरी एक पटकका लागि उमेरको हद कायम गर्न नहुने स्पष्ट पारिसकेको छ। महामन्त्री काफ्लेले भने आफूहरूको कारण त्रिविलाई कार्यतालिका सार्वजनिक गर्न समस्या परेको भन्ने विषय हावादारी भएको टिप्पणी गर्नुभयो।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जुनसुकै हालतमा स्ववियु निर्वाचन हुनुपर्ने अडान राख्नुभयो। उहाँले भन्नुभयो– ‘बल्ल तल्ल निर्वाचनको माहोल बनेको छ। यो वर्ष पनि निर्वाचन नभए स्ववियुको अस्तित्व नै खतरामा पर्नेछ।’

२०६५ साल चैत ६ गतेपछि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित हुँदै आएको छ। यसअघि २०६९ र २०७० मा स्ववियु निर्वाचन गर्ने तयारी भए पनि विद्यार्थी संगठनबीच प्रणालीबारे विवाद हँुदा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्