स्थानीय तहको नयाँ संरचनाअनुसार माओवादी भेलाको तयारी



नरेन्द्र केसी, घोराही, दाङ
नेकपा माओवादी केन्द्रले स्थानीय तह पुनर्संरचना आयोगले गरेको सिफारिसअनुसार नयाँ संरचनामा भेला सम्मेलन गर्ने तयारी गरेको छ।

केही जिल्लामा नयाँ संरचनाअनुसार नगरपालिका र गाउँपालिकास्तरमा प्रशिक्षण कार्यक्रम भइरहेको र बाँकी सबै जिल्लामा नयाँ संरचनाअनुसार नै भेला सम्मेलन गरिने सो पार्टीले जनाएको छ। माओवादी केन्द्रले अहिले देशव्यापीरूपमा वडा, गाउँ⁄नगर र जिल्ला सम्मेलनको तयारी गरिरहेको छ। जसमा अब नयाँ संरचनाअनुसार नै सम्मेलनको तयारी भइरहेको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जीवन गौतमले जानकारी दिनुभयो।

केही दिनअघि बसेको केन्द्रीय कार्यालय बैठकले संगठन र निर्वाचनसम्बन्धी कार्यविधि पारित गरेपछि अब नयाँ संरचनामा नै सम्मेलन गर्ने निश्चित भएको र यो क्रम चाँडै शुरू हुने जानकारी दिनुभयो। माओवादीले तय गरेको नयाँ कार्यविधिअनुसार सबैभन्दा तल्लो इकाइ सेल समिति बढीमा ११ सदस्यीय हुनेछ। त्यस्तै बढीमा २५ सदस्यीय वडा समिति, ५१ सदस्यीय गाउँ समिति, ५१ सदस्यीय नगर समिति, ६५ सदस्यीय उपमहानगर समिति र ७५ सदस्यीय महानगर समिति बन्नेछन्।

माओवादी केन्द्रको जिल्ला समिति पनि ७५ सदस्यीय बन्नेछ। अहिले सम्मेलन नहुँदा माओवादीका जिल्ला समिति ७⁄८ सय सदस्यीयसम्म रहेका छन्। माओवादी केन्द्रले ९९ सय सदस्यीय प्रदेश समिति र केन्द्रीय समितिमा १ सय ९९ पूर्ण तथा एक सय सदस्यीय वैकल्पिक सदस्य रहने कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले जानकारी दिनुभयो।

सो पार्टीले केन्द्रीय समितिमा महिला सदस्यहरूको ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउने नीति पारित गर्दै उमेरका हिसालबे पनि ‘तीनमा एक’ नीति लागु गर्ने जनाएको छ। ‘सबै तहमा समिति निर्माण गर्दा वर्गीय चेतना र एकमा तीन (जेष्ठ, प्रौढ र युवा) को प्रतिनिधित्वलाई जोड दिनुपर्नेछ’, आहुतिले भन्नुभयो– ‘सामान्यतया ४० वर्षसम्मकालाई युवा, ६० वर्षसम्मलाई प्रौढ र ६० वर्ष माथिकालाई जेष्ठ उमेर समूहका मानिनेछ।’ केन्द्रीय समिति निर्वाचित गर्दा ५५ प्रतिशत सदस्य खुल्ला, ४० प्रतिशत सदस्य विशेष व्यवस्था गरी सम्बन्धित सम्मेलनबाट प्रत्यक्ष निर्वाचित गर्ने र ५ प्रतिशत सदस्य केन्द्रीय समितिबाट मनोनयन गर्नुपर्ने नीति पनि माओवादी केन्द्रले पारित गरेको छ।

हरेक तहको सम्मेलनमा कम्तीमा १० प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्नेछ नीति पारित गर्दै माओवादी केन्द्रले सो संख्या नपुगे त्यस्तो सम्मेलनलाई भेलाको रूपमा मात्र मान्यता प्राप्त हुने र सम्मेलनको मान्यता नपाउने जनाएको छ।

त्यस्तै माओवादी केन्द्रले निर्वाचन कार्यविधि पनि पारित गरेर सके सहमतिमा र नभए निर्वाचनद्वारा नेतृत्व चयन गर्ने विधि तय गरिएको जनाएको छ। त्यसका लागि हरेक तहको सम्मेलन प्रारम्भ भएपछि कम्तीमा एक जना महिलासहित ३ देखि ७ जनासम्मको निर्वाचन समिति गठन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्