देश विखण्डनकारीको स्वरमा स्वर नमिलाउन प्रधानमन्त्रीको आग्रह



फिरोज सिद्दिकी, सिरहा
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई विखण्डित गर्ने खालका कतिपय स्वरहरू बाहिर आउन थालेकाले त्यो मधेसी वा पहाडी जनताका लागि राष्ट्रघाती हुने बताउनुभएको छ। उहाँले देश विखण्डन गर्ने तत्त्वहरू तराई मधेसमा सक्रिय हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता तत्त्वहरूलाई निरुत्साहित गर्न मधेसी जनतालाई आग्रह गर्नुभयो।

आइतबार सिरहाको गोलबजारमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वनाथ साहको आमा सागरदेवी साहको श्रद्धाञ्जली सभामा श्रद्धासुमन व्यक्त गर्र्दै उहाँले यस्तो बताउनुभएको हो। मुलुकलाई निकास दिएर विकासको बाटोमा लाग्नुपर्ने बेलामा देश टुक्रइउनेसम्मको गतिविधि गर्नेको वहकाउमा नपर्न मधेसी जनतासँग विशेष आग्रह गर्दै समस्याको उत्पीडन र प्रकृति हिमाल, पहाड र तराईमा उस्तै रहेकाले सबै मिलेर समृद्ध नेपालको निर्माण गर्न सकिने बताउनुभयो।

पहाडका सामन्ती फटाहाहरूले पहाडियालाई र मधेसका सामन्ती फटाहाहरूले मधेसीलाई नै सताउने गरेकाले त्यस्तालाई परास्त गर्दै देशको समृद्धि चाहनेहरू एक भएर अगाडि बढ्न र देशभक्ति भावले लाग्न सबैमा आग्रह गर्नुभयो। उहाँले अधिकार र पहिचान दिन संविधान संशोधन गर्न लागेको भन्दै देश विखण्डनको भाषा बोल्नेहरूको पछि कोही पनि लाग्न नहुनेमा जोड दिनुभयो।

संविधान संशोधन गरेर सबैको भावनालाई उच्च सम्मान गर्न सरकार निर्माण भएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री दाहालले संविधान संशोधनमा हलो अडकाउने काम कसैले गर्न नहुने धारणा राख्नुभयो।

उहाँले आफू निर्वाचित सिरहा ५ र समग्र मधेसका लागि विकासको छुट्टै प्याकेज ल्याउन अर्थ मन्त्रालयमा बजेटको व्यवस्था गर्न निर्देशन दिइसकेकाले केही समयपछि काम अगाडि बढ्ने अश्वासन पनि दिनुभयो। चुरेको संरक्षण नभए मधेसको रक्षा नहुने, मधेसको विकास नभए समृद्ध नेपाल नबन्ने विश्वास दिलाउँदै नदीनाला, भाषा संस्कृति र समाजिक मूल्य मान्यताहरूले हिमाल पहाड मधेसलाई जोडेको छ। यसलाई अलग गर्ने काम कोही कसैले गर्न नहुनेमा जोड दिनुभयो।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, प्रभु साह, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय शंकर नायकलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्