खाँडो नदीको तटबन्ध तीव्र गतिमा



नेपाल समाचारपत्र
राजविराज
दशकौंदेखि दर्जनौं गाविसलाई डुबानमा पार्दै आएको सप्तरीको खाँडो नदीमा यसपटक तटबन्ध निर्माणको काम तीव्र गतिमा शुरू भएको छ।

नदीको दुवैतर्फ बाँध निर्माणका लागि एक महिनाअघिदेखि काम शुरू भएको खाँडो नदी नियन्त्रण आयोजना राजविराजले जानकारी दिएको छ। आयोजना प्रमुख अखलाक अहमद सिद्दिकीका अनुसार गत वैशाखमा तटबन्ध निर्माणका लागि टेन्डर आह्वान भई असारमा सम्झौता भएको हो।

माटोको तटबन्ध निर्माण र चपरी लगाउने कामलाई पाँचवटा प्याकेजमा बाँडेर काम शुरू गरिएको आयोजना प्रमुख सिद्दिकीले बताए। अहिले कोसी पश्चिमी नहरदेखि भारतीय सीमावर्ती क्षेत्र कुनौलीसम्म तटबन्ध निर्माणको काम शुरू भएको उनको भनाइ छ।

तटबन्ध निर्माणका लागि १० करोडमा ठेक्का लागेको र २१ किलोमिटर काम सक्नका लागि ५ वर्षको समयावधि निर्धारण गरिए पनि ४ वर्षभित्रै सक्ने प्रयासमा आफूहरू रहेको सिद्दिकीले वताएका छन्। ५ वटा प्याकेजमध्ये ४ वटा प्याकेजका लागि सम्झौता भइसकेपछि काम शुरू गरिएको र बाँकी एउटाको पनि छिट्टै सम्झौता हुने आयोजना प्रमुख सिद्दिकीले जानकारी दिएका छन्।

वर्षायाममा खाँडो नदीमा आउने बाढीका कारण दिघवा, पकरी, वभनगामा कट्टी, लौनियाँ, तिलाडी, को. मधेपुरा, कोइलाडी, सकरपुरा, इनरुवा, को. वरसाइनलगायतका दर्जनौं गाविसमा डुबानमा पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्