विद्युत्का ठग कर्मचारी फन्दामा



नेपाल समाचारपत्र
काठमाडौं
बितेको एक दशकदेखि विद्युत् चोरीमा संलग्न रही लोडसेडिङलाई सघाउ पुर्याउँदै आएका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ।

उनीहरूले व्यवसायीसँग मिलेर विद्युत्को मिटर बिगार्ने र त्यसबापत रकम असुल गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले देशका विभिन्न भागमा कार्यरत प्राधिकरणका बहालवाला तथा पूर्वकर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्राधिकरणका बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वकर्मचारी तलबहादुर कार्की, हेटौंडा शाखाका कर्मचारी महादेव प्रधान रहेका छन्।

महाशाखाले चोरीमा संलग्न व्यापारीलाई समेत पक्राउ गरी कारबाही अगाडि बढाएको छ। पक्राउ पर्नेमा बानेश्वर शाखामा कार्यरत अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डे रहेका छन्।

महाशाखाले व्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाललाई पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो। एसएसपी खनालका अनुसार लोडसेडिङलाई सहयोग पुर्याउने र अवैध रकम लिएर उद्योगहरूलाई बिजुली दिएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको हो। ‘उनीहरूले विद्युत्को मिटर बिगारेर राज्यलाई करोडौं घाटा पुर्याउने काम गरेको पत्ता लागेपछि उनीहरूलाई ठगी मुद्दामा कारबाही अगाडि बढाउने तयारी गरेका छौं।’ –एसएसपी खनालले नेपाल समाचारपत्रलाई बताउनुभयो।

मिटर बिगारेर विभिन्न उद्योगलाई विद्युत् उपलब्ध गराउने कर्मचारीले उद्योगबाट प्रतिमहिना ३ लाखसम्म घूस लिने गरेको बयान प्रहरीलाई दिएको महाशाखाले जानकारी दिएको छ।
उनीहरूले पानी प्रशोधन कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना र मिठाई पसलको मिटर बिगारेर मासिकरूपमा रकम लिने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जानकारी दिएको छ। हेटौंडामा कार्यरत कर्मचारी प्रधानले सिवम् सिमेन्टमा सप्लाई हुने विद्युत्को मिटर बिगारेर रकम लिने गरेको दाबी महाशाखाले गरेको छ।

महाशाखाका अनुसार रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, लिक्वेन्स वाटर कम्पनीमा पनि मिटर बिगारेर रकम असुली गरेको भेटियो। एसएसपी खनालका अनुसार बिजुलीको मिटर बिगार्दा सबैभन्दा पहिला प्राधिकरण कर्मचारी र उद्योगीबीच रकमको मोलमोलाई हुने र ५ सय युनिट विद्युत खपत भएको छ भने त्यसलाई ५० युनिट मात्रै उठेको बनाउने र मिटर रिडिङ गर्न जाने कर्मचारीले मिटर चेक गर्दा मिटरको दाँतीलाई उल्टो रूपमा सेटिङ गर्ने गरेको समेत पाइयो।
महाशाखाले पक्राउ परेका कर्मचारीको साथबाट मिटर बिगार्न प्रयोग हुने उपकरणसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्