दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित



बाबियाचौर (म्याग्दी), ९ माघ । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ ।

चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताउनुभयो ।

छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन् । “एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको गत महिना एकैपटक सरुवा भयो”, भण्डारीले भन्नुभयो – “एकजना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन् ।”

सदरमुकाम बेनीदेखि दुई दिनमा पुगिने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चारजना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकैपटक सरुवा भयो । कार्यरत कर्मचारीको सरुवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन् ।

“दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आए पनि यहाँ पूरा समय बसेर काम गर्दैनन्”, गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भन्नुभयो – “तालिम, गोष्ठीको बहानामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभूत औषधि उपचार सेवाबाट वञ्चित छन् ।”

मुना र गुर्जासँगै भुरुङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरुवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन् । पर्याप्त जनशक्ति नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताउनुभयो ।

विभिन्न तहका ६ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुईजना मात्र प्राविधिक छन् । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, प्रसूति केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सीमित जनशक्तिलाई समस्या भएको शाहीले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तीनजना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना अहेबको दरबन्दी खाली भएको अस्पतालका नायब सुब्बा रामचन्द्र रेग्मीले बताउनुभयो ।

मन्त्रालय, विभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासँग समन्वय नगरीकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरुवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख, वरिष्ठ चिकित्सक रोशन न्यौपानले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्