केही दिनमै चुनाव घोषणा तीन दलबीच पहिला स्थानीय चुनाव गर्ने सहमति भएको दाबी



मधुसूदन रायमाझी, काठमाडौं
मुख तीन दलबीच वैशाख महिनाभित्र नै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच नयाँ संरचनाअनुसार वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको हो।

तीन दलबीच संसद्मा पेस भएको निर्वाचनसम्बन्धी विधेयक चार दिनभित्र पारित गर्ने र माघ १५ गतेभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तीन दलबीच सहमति भएको छ। तीन दलको बीचमा सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन विधेयकमा भने सत्ता पक्ष र प्रतिपक्षी दलले आ–आफ्नै अडान दोहोर्याएका छन्। सत्तारूढ दल कांग्रेस र माओवादीले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने अडान राखे पनि प्रतिपक्षी दल एमालेले पहिला निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख तीन दलको शीर्ष बैठकमा नयाँ संरचनाअनुसार स्थानीय तहकै निर्वाचनको मिति आगामी वैशाखको अन्तिमसम्म वा जेठको पहिलो साता गर्ने सहमति जुटेको छ।

बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले पनि चुनाव गर्नेबारे तीन दलको बैठकमा सहमति भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बैठकमा चुनावमा जानेबारे सहमति भएको छ, अब स्थानीय तहकै निर्वाचन गर्ने कुरामा सत्तारूढ दल सहमत भएका छन्। यो सकारात्मक कुरा हो।’ स्थानीय तहको निर्वाचन स्थानीय तह पुनर्संरचना आयोगले दिएको नयाँ प्रतिवेदनअनुसार गर्न तीन दल सहमत भएका छन्। संविधान संशोधनमा विवादित बनेका प्रमुख तीन दलबीच आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्न सहमत भएका छन्।

संविधानले २०७४ माघ ७ को समयसीमा दिएपछि व्यावहारिक रूपमा मंसिरभित्रै स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गर्नुपर्नेमा सहमति जुटेको नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताउनुभयो। ‘दुई⁄चार दिनमा नै निर्वाचनसम्बन्धी विधेयक पास हुन्छ’, प्रवक्ता भुसालले भन्नुभयो– ‘विधेयक पास भएलगत्तै सरकारले निर्वाचनको मिति घोषणा गर्छ।’ स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग चुनावका साथै संविधान संशोधन विधेयकबारे पनि सहमति जुटाउन सरकारले संवाद गर्ने भएको छ। बैठकमा सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, माओवादीका नेता रामबहादुर थापा, नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्