माटाका घरबाट बिरामीको उपचार



विमल विष्ट, डोटी
बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा शुरू गरेको छ। अस्पताल परिसरमा नयाँ अन्तरंग विभागको निर्माण कार्य सम्पन्न भएपछि सो भवनबाट सेवा शुरू गरिएको हो। अबदेखि भर्ना भएका बिरामीलाई नयाँ भवनमा राखिने अस्पतालका निमित्त मेडिकल निर्देशक डा. सन्तोषकुमार ढुंगानाले बताउनुभयो। शुक्रबारबाट बिरामीलाई नयाँ भवनमा सारिएको छ।

३४ वटा बेडसहितको सुविधायुक्त भवनबाट बिरामीले सेवा पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयबाट यसअघि १५ वटा बेड मात्र सञ्चालनको स्वीकृति पाएको अस्पतालले हाल ५० बेड सञ्चालनको स्वीकृतिका लागि काम भइरहेको बताइएको छ। नयाँ भवन निर्माण भएसँगै अस्पतालमा अब थप ५० वटा बेड सञ्चालनमा आउने भएका छन्। नयाँ निर्माण भएको भवनमा ३४ वटा बेड राखिएका छन् भने बाँकी बेडहरू पुरानो भवनमा रहेका छन्। ‘यसभन्दा अगाडि बेडको अभावमा कम बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था रहेको थियो’, निमित्त मेडिकल निर्देशक डा. ढुंगानाले भन्नुभयो– ‘अब नयाँ भवनमा बेड थपिएपछि बिरामीले निकै राहत पाउनेछन्।’

अस्पतालले आफ्ना सबै किसिमका सेवालाई प्रभावकारी बनाउन नयाँ संरचनाको निर्माण कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ। अस्पतालको प्रशासन सेवा पनि शुक्रबारैबाट नयाँ भवनमा सरेको छ भने यसका साथै अन्य विभाग पनि निर्माण कार्य सकिएसँग बिस्तारको काम भइरहेको छ। अछाममा निरन्तर सेवा दिइरहेको न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा सामुदायिक अस्पतालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरू निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ।

सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमार्फत् आधारभूत सेवाहरू प्रदान गर्न शुरू गरेको थियो। अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरंग, आकस्मिक, आधुनिक प्रयोगशाला, डिजिटल एक्सर, ब्लड बैंक तथा दन्त सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत् प्रसूति सेवा, हर्निया तथा हाइड्रोसिल र एपेन्डिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरू निःशुल्क प्रदान गर्दै आएको अस्पतालका मेडिकल निर्देशक डा. विकास गौचनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्