मन्त्रीत्रयद्वारा सडक निरीक्षण



वीरबहादुर बम, मुगु
क्षामन्त्री बालकृष्ण खाँण, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम धानीले सोमबार मुगु जिल्लामा रहेको उत्तरी नाका जोड्ने निर्माणाधीन नाक्चेलाग्ना सडकको हवाई निरीक्षण गर्नुभएको छ।

कुल ८६ किलोमिटर दूरी रहेको यो सडक सडक डिभिजन कार्यालय जुम्लाले निर्माण शुरू गरेको ७ वर्षमा १५ किमि मात्र ट्रइक खुला भएको छ। कछुवाको गतिमा कामको गति लिएपछि यो नाका खोल्न मुगुबासीले पटकपटक मन्त्रालयसम्म धाउन थालेपछि मन्त्रीत्रय हवाई निरीक्षणमा मुगु पुग्नुभएको हो।

हवाई निरीक्षणपश्चात जिल्ला विकास समितिको हलमा नेपाली कांगे्रस मुगुले आयोजना गरेको गमगढी नाक्चेलाग्ना सडक खण्ड परियोजना अन्तरक्रिया कार्यक्रममा तीनै मन्त्रीहरू सहभागी भएका थिए।

गमगढी नाग्चेलाग्ना सडक प्रदेश नं ६ को उत्तरी नाका जोड्ने सबैभन्दा नजिक र सजिलो खण्ड भएकाले केही भागमा परियोजनामार्फत् र केही अप्ठ्यारा खण्डहरूमा नेपाली सेनालाई निर्माणको जिम्मा दिनुपर्ने प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै बताउनुभयो।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मंगलबहादुर शाहीले जिल्लाका सम्पूर्ण राजनैतिक दलको तर्फबाट बोल्दै सरकारको उत्तर दक्षिण सडक शीर्षकमा रहे तापनि सरकारले न्यून बजेट वार्षिक रूपमा छुट्याउँदा सडक निर्माणले गति लिन नसकेकाले र कर्णालीबासीको मन्त्री तथा सरकारसम्म पहुँच नहुँदा यहाँका विकास निर्माणले प्राथमिकता नपाएको गुनासो गर्नुभयो। उहाँले नाग्चेलाग्ना सडक निर्माणका लागि सरकारले वार्षिक १० करोड छुट्याए पनि निर्माण कम्पनीहरूले प्रतिस्पर्धाका कारण न्यून बजेटमा कबुल गर्दा र सडक डिभिजन कार्यालयले अनुगमनमा कडाइ नगर्दा कामले गति लिन नसकेको उहाँको भनाइ थियो।
गमगढी नाग्चे लाग्ना सडकको कुल ८६ किलोमिटर दूरीमध्ये ३४ किलोमिटरको मात्र डीपीआर भएको र बाँकी ५२ किलोमिटर दूरीको डीपीआर गरेर यो वर्षभित्रमा ठेक्का खोल्ने योजना विभागको रहेको सडक विभागका निर्देशक देवेन्द्र कार्कीले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले यो सडक उत्तर दक्षिण सडक शीर्षकमा राखेर समयमै सम्पन्न हुन सक्दैन भनेर नै सरकारले विषेश परियोजना स्थापना गरेर विषेश तरिकाले काम गर्न मन्त्रिपरिषद्बाट पास गरेको बताउनुभयो। कर्णालीमा भोग, रोग, शोक, अशिक्षा केरोजगार भए तापनि यहाँ रहेका प्राकृतिक सम्पदा, पर्यटकीय स्थलहरूका कारण यहाँको भविष्य उज्वल रहेको विश्वको आँखा तान्ने सम्पत्ति रहेको बताउनुभयो।

रक्षामन्त्री बालकृष्ण खाँणले गमगढी नाक्चेलाग्ना सडक निर्माणमा कतै नेपाली सेना आवश्यकता महसुस भएमा सरकारले जिम्मा दिएको जस्तोसुकै काम गर्न सेना तयार रहने बताउनुभयो। उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल २ वर्षमा सम्पन्न हुने र आगामी दिनमा लुम्बिनी आउने पर्यटकलाई रारा तालसम्म जाने वातावरण बनाउन लुम्बिनी र कर्णालीलाई जोड्न आफ्नो विषेश प्रयत्न रहने बताउनुभयो।

देशका अन्य प्रदेश दक्षिणसँग जोडिएकाले व्यापार सहज छ तर ६ नं प्रदेश दक्षिणसँग नजोडिनु र उत्तरी नाकासम्म सडक सञ्जालले नजोडेकाले यो प्रदेश संघीय संरचनामा झनै गरिब हुने भएकाले अन्य नाकाभन्दा छोटो र सहज रहेको भएकाले नाक्चेलाग्ना सडक निर्माणमा सरकारले कुनै पनि कसुर बाँकी राख्न नहुने सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बताउनुभयो।
नेपाली कांगे्रस मुगुका सभापति खड्कबहादुर शाहीले युवा नेता लेखक र खाँण जे बोल्यो त्यो पूरा गर्ने नेताहरूको रूपमा परिचित भएकाले प्रतिबद्धताअनुसारका काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो। सोमबारै नेपाली कांग्रेस मुगुले मुगु संस्थापक पार्टी सभापति स्वर्गीय बखतबहादुर शाहीको १५औं स्मृति दिवसको अवसर लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खुला भलिबल र देउडा खेल प्रतियोगिताको पनि मन्त्रीत्रयले उद्घाटन गर्नुभएको थियो।

स्मृति दिवसको अवसर पारेर मुगु कांगे्रसले १० वर्ष माओवादी विद्रोह, १९ दिने जनआन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका परिवारलाई समेत सम्मान गरेको थियो। मन्त्रीत्रय कर्णाली करिडोरको समेत अवलोकन गरेर राजधानी फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्