इंग्ल्यान्ड हारतिर
नयाँ दिल्ली, (एजेन्सी)
विराट कोहलीको दोहोरो शतकपछि भारतीय टोलीको वर्चस्व रहेको चौथो टेस्टमा भ्रमणकारी टोली इंग्ल्यान्ड पराजयतिर अग्रसर भएको छ। मुम्बईमा भइरहेको टेस्टको चौथो दिन इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङमा ६ विकेट गुमाएर १ सय ८२ को स्कोरमा छ। भारतको पहिलो इनिङ ६ सय ३१ रनको विरुद्ध इंग्ल्यान्ड अझै ४९ रनले पछाडि छ। क्रिजमा इंग्ल्यान्डका जोनी बेयरस्टो ५० रनमा नटआउट रहेका छन्। इंग्ल्यान्डले यो टेस्ट बचाए पनि सिरिज भारतको हातमा जाने पक्का छ। भारत पहिल्यै सिरिजमा २–० को अग्रतामा रहेको छ।
इंग्ल्यान्डका लागि बेयरस्टोभन्दा अगाडि जोए रुटले ७७ रनको योगदान दिए। तर अन्यले निरास ब्याटिङ गरेका थिए। इंग्लिस ओपनरद्वय कप्तान एलेस्टेर कूक १८ रनमा र डेब्युमै शतक प्रहार गरेका जेनिङस् पहिलो बलमै आउट भएका थिए।
यसअघि भारतले ब्याटिङमा पनि वर्चस्व बनाएको थियो। नौ नम्बरमा आएर ब्याटिङ गरेका जयन्त यादवले समेत शतक प्रहार गरेका थिए। पहिलो टेस्टशतक प्रहार गरेका जयन्तले १ सय ४ रन जोडे। त्यस्तै भारतीय कप्तान कोहलीले २ सय ३५ रन बनाएका थिए। यो भारतीय कप्तानको रुपमा उनको टेस्टमा उच्चतम व्यक्तिगत रन पनि थियो। त्यस्तै कोहलीले अर्को दुईवटा कीर्तिमान पनि राखे। उनले वानकेडे रंगशालामा उच्चतम रन बनाएर महेन्द्रसिंह धोनीको २ सय २५ रनको कीर्तिमानलाई पछाडि पारे।











प्रतिक्रिया