लाखौं रकम लिएर गाविस सचिव फरार



नेपाल समाचारपत्र
डोटी

डोटीमा एक जना गाविस सचिव लाखौं रकम लिएर फरार भएका छन्। जिल्लाको जिजोडामाडौं तथा पोखरी गाविसको जिम्मेवारी पाएका गाविस सचिव ईश्वरबहादुर सिंहले दुईवटै गाविसको सामाजिक सुरक्षातर्फको ३९ लाख तथा पुँजीगततर्फको २६ लाख गरी कुल ६५ लाख रकम लिएर फरार भएका हुन्।
गाविसको रकम लिएर फरार भएका सचिवको खोजी तथा छानविनका लागि जिल्ला विकास समिति डोटीले तीन सदस्यीय एक खोजविन छानविन टोली गठन गरेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले बताउनुभयो। उहाँले भन्नुभयो– ‘रकम लिएर सचिव फरार भएको भन्ने खबर आएको छ, छानविन टोलीसमेत गठन गरेका छौं, जसरी भए पनि गाविसको रकम फिर्ता गराउन लगाउँछौं।’

रकम लिएर फरार भएका निज सचिक सिंहले जिजोडामाडौं गाविसका स्वास्थ्यचौकी प्रमुख सरस्वती विष्ट तथा पोखरीका प्रमुख लक्ष्मण साउदलाई चेक साट्नुपर्यो सही गर्नु भनेर झुक्याएर सही गर्न लगाई राष्ट्रिय वाणिज्य बैंक सिलगढी शाखाबाट रकम साटेर फरार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्