सालु
नेपाली उपन्यास साहित्यको इतिहास हेर्दा प्रत्येक कालखण्डका उपन्यासहरूले आफ्नो समयको सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थलाई अभिव्यक्त गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रारम्भिक नेपाली उपन्यासहरूमा नैतिक आदर्श र सामाजिक सुधारका विषय प्रमुख थिए भनेपछि यथार्थवाद, मनोवैज्ञानिक विश्लेषण, वर्गीय चेतना, लैङ्गिक विमर्श, द्वन्द्वकालीन समाज, बसाइँ सराइ तथा विश्वव्यापीकरणका प्रभावहरू प्रमुख विषय बने । पछिल्ला वर्षहरूमा विशेष गरी वैदेशिक रोजगारी, शिक्षा, प्रवास, परिवारको विखण्डन, पुस्तान्तरण (जेनरेसन ग्याप), सञ्चार प्रविधिको विस्तार र बदलिँदो सामाजिक मूल्य–मान्यताले नेपाली समाजलाई गहिरोरूपमा प्रभावित गरेका छन् । समकालीन नेपाली उपन्यासहरूले यी परिवर्तनहरूलाई आफ्ना कथावस्तुका केन्द्रमा राख्दै नयाँ यथार्थ प्रस्तुत गरिरहेको देखिन्छ ।
यही समकालीन सामाजिक परिवेशमा हिक्मत डंगोलद्वारा लिखित ‘बदलिएको आकाश’ (२०८२) नेपाली समाजको बदलिँदो स्वरूपलाई सरल, सहज र संवेदनशील ढङ्गले प्रस्तुत गर्ने उल्लेखनीय उपन्यासका रूपमा देखा पर्छ । शीर्षकले नै परिवर्तनको व्यापक अर्थ बोकेको छ । यहाँ ‘आकाश’ केवल प्रकृतिको विस्तार होइन, बदलिँदो मानवीय सोच, पारिवारिक सम्बन्ध, सामाजिक संरचना र जीवनशैलीको प्रतीक बनेर आएको छ । उपन्यासले पुरानो पुस्ता नेपालमै रहँदा नयाँ पुस्ता विदेशतर्फ आकर्षित भएको वर्तमान नेपाली समाजको यथार्थलाई जीवन्तरूपमा चित्रण गरेको छ ।
उपन्यासको सबैभन्दा सबल पक्ष यसको सरल भाषा र स्वाभाविक कथनशैली हो । पढ्न थालेपछि पूरै समाप्त नभएसम्म किताब थन्क्याउन मन नलाग्नु लेखकको विशेष सफलता बनेको छ । लेखकले कतै पनि भाषालाई अनावश्यकरूपमा क्लिष्ट बनाएका छैनन् । कथावाचन सहज छ, संवादहरू स्वाभाविक छन् र घटनाहरू क्रमशः अघि बढ्ने भएकाले पाठकले कुनै कठिनाइविना कथा आत्मसात् गर्न सक्छन् । साहित्यिक सौन्दर्य केवल जटिल शब्दावलीमा होइन, सहज अभिव्यक्तिमा पनि हुन्छ भन्ने कुरा यस कृतिले प्रमाणित गरेको छ । यही सरलता उपन्यासको लोकप्रियताको आधार बन्न सक्ने महत्वपूर्ण पक्ष हो ।
यस उपन्यासको केन्द्रीय विषय वर्तमान नेपाली समाजमा तीव्ररूपमा बढिरहेको प्रवास र त्यसले पारिवारिक सम्बन्धमा ल्याएको विचलन हो । आर्थिक समृद्धिको खोजी, उच्च शिक्षा तथा उज्ज्वल भविष्यको आशामा लाखौं नेपाली युवाहरू विदेश गएका छन् । उनीहरूको अनुपस्थितिले गाउँ–घर खाली हुँदै गएका छन् भने परिवारहरू भावनात्मकरूपमा टुक्रिँदै गएका छन् । उपन्यासको म पात्र अमेरिकामा अश्वेत महिलासँग सुत्छ, अनेक महिलासँग लहसिन्छ । यता नेपालमा उसकी बैंसालु श्रीमती एक छोरा र एक छोरीकी आमा पनि निकट आएका पुरुषहरुसँग सहयात्रा गर्छे । लेखकले यही सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेका छन् । विदेशमा रहेका सन्तान र नेपालमा रहेका अभिभावकबीचको दूरी केवल भौगोलिक मात्र होइन, भावनात्मक पनि बन्दै गएको अवस्थालाई उपन्यासले प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ ।
विशेष गरी श्रीमान्–श्रीमतीबीचको लामो दूरीले सम्बन्धमा पार्ने प्रभाव उपन्यासको एउटा संवेदनशील पक्ष हो । आधुनिक नेपाली समाजमा वैदेशिक रोजगारीका कारण धेरै दम्पती वर्षौंसम्म अलग बस्न बाध्य हुन्छन् । यस्तो परिस्थितिले विश्वास, आत्मीयता, जिम्मेवारी र पारिवारिक एकतामाथि विभिन्न प्रकारका चुनौती सिर्जना गर्छ । ‘बदलिएको आकाश’ले यस अवस्थालाई कुनै अतिरञ्जना नगरी यथार्थका आधारमा चित्रण गरेको छ । सम्बन्ध केवल आर्थिक आधारमा टिक्न नसक्ने, त्यसका लागि भावनात्मक उपस्थिति र निरन्तर संवाद आवश्यक हुने सन्देश उपन्यासले अप्रत्यक्षरूपमा दिन खोजेको देखिन्छ ।
उपन्यासको अर्को महत्वपूर्ण उपलब्धि पुस्तान्तरणको सशक्त चित्रण हो । नेपालमा बस्ने पुरानो पुस्ता परम्परा, संस्कार, परिवार र सामाजिक उत्तरदायित्वलाई जीवनको आधार मान्छ भने विदेशमा हुर्किएको वा लामो समय विदेश बसेको नयाँ पुस्ताले स्वतन्त्रता, व्यक्तिगत निर्णय र आधुनिक जीवनशैलीलाई प्राथमिकता दिन्छ । नेपालमै हुर्केको नयाँ पुस्ता पनि यौनिक सम्बन्धमा ठूलो छलाङ मार्न सफल भैसकेको छ । यही फरक सोचका कारण परिवारभित्र मतभेद, दूरी र संवादहीनता बढ्दै गएको अवस्था लेखकले विश्वसनीय रूपमा प्रस्तुत गरेका छन् ।
लेखकले पात्रहरूको माध्यमबाट आधुनिक समाजका अनेक मनोवैज्ञानिक अवस्थाहरू पनि चित्रण गरेका छन् । एकातिर वृद्ध अभिभावकको एक्लोपन, अर्कोतिर विदेशमा रहेका सन्तानको संघर्ष, अनि परिवारभित्र बढ्दो भावनात्मक दूरीले सिर्जना गरेको पीडालाई उपन्यासले प्रभावकारीरूपमा पाठकसम्म पु¥याउन सफल मेहनत गरेको छ । यस अर्थमा यो उपन्यास केवल एउटा पारिवारिक कथा होइन, बदलिँदो नेपाली समाजको सामाजिक दस्तावेज पनि हो ।
संरचनात्मक दृष्टिले पनि ‘बदलिएको आकाश’ प्रशंसनीय छ । कथाको संगठन सरल, क्रमबद्ध र सन्तुलित छ । लेखकले अनावश्यकरूपमा कथालाई जटिल बनाउने प्रयास गरेका छैनन् । घटनाहरू स्वाभाविकरूपमा अघि बढ्छन् र पात्रहरूको विकास पनि कथासँगै क्रमशः विस्तार हुन्छ । यही कारणले उपन्यास पढ्दा कृत्रिमताको अनुभूति हुँदैन । साधारण जीवनका सामान्य घटनाहरूलाई साहित्यिक संवेदनामा रूपान्तरण गर्नु लेखकको सफल पक्ष हो ।
यद्यपि, कुनै पनि साहित्यिक कृति कमजोरीरहित हुँदैन । ‘बदलिएको आकाश’ मा पनि केही पक्ष थप परिमार्जनयोग्य देखिन्छन् । विशेषतः महिला पात्रहरूको प्रस्तुति अझ सशक्त, स्वायत्त र सम्मानजनक हुन सक्थ्यो । समकालीन नेपाली समाजमा महिलाहरू शिक्षा, राजनीति, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वका क्षेत्रमा उल्लेखनीय रूपमा अघि बढिरहेका छन् । यस्तो अवस्थामा महिलालाई केवल सहने, प्रतीक्षा गर्ने वा पुरुष पात्रको निर्णयमा निर्भर रहने भूमिकामा सीमित गर्नु आजको यथार्थसँग पूर्णरूपमा मेल खाँदैन । यदि महिला पात्रहरूको आत्मनिर्णय, संघर्ष र नेतृत्व क्षमतालाई अझ प्रभावकारीरूपमा प्रस्तुत गरिएको भए उपन्यासको सामाजिक सन्देश अझ व्यापक बन्न सक्थ्यो ।
त्यसै गरी, उपन्यासमा मदिरापान तथा भोजभतेरका प्रसङ्गहरू अपेक्षाकृत बढी दोहोरिएको अनुभूति हुन्छ । नेपाली समाजमा यस्ता सामाजिक व्यवहारको अस्तित्वलाई अस्वीकार गर्न सकिँदैन । यथार्थवादी साहित्यले समाजका सबै पक्षलाई देखाउनुपर्छ । तर, कथामा यस्ता प्रसङ्गको अत्यधिक पुनरावृत्तिले पाठकलाई रक्सी–बियरविनाको संसार छैन, योविना जीवन चल्दैन कि भन्ने अस्वाभाविक भ्रम सिर्जना गर्दछ । साथमा, नेपाली उपन्यासमा अंग्रेजी लिपी यत्रतत्र देखिन्छ, कतै सिंगै अनुच्छेद अंग्रेजी लिपीमा पस्तुत गरिएको छ । पात्रले अंग्रेजी बोल्यो भन्दैमा नेपाली उपन्यासले आफ्नो धर्म उल्लंघन गर्नुहुन्न ।
जे होस्, केही सुधारका ठाउँहरु देखिए पनि उपन्यास पठनीय छ । यसको अर्को प्रशंसनीय पक्ष सामाजिक सन्देश हो । लेखकले प्रत्यक्ष उपदेश दिने शैली अपनाएका छैनन्, बरु पात्रहरूका अनुभव र घटनाक्रममार्फत पाठकलाई आफैं सोच्न प्रेरित गरेका छन् । खासगरी टुटिसकेको परिवार जोडेर उनले आजको नेपाली समाजमा बढिरहेको पारपाचुकेको ग्राफलाई घटाउने प्रयास गरेका छन् । प्रेमभावको जित, सामाजिक तथा पारिवारिक समन्वयका लागि अभिप्रेरणा नै साहित्यको शक्ति पनि हो । उपन्यास पढिसकेपछि पाठक आफ्नै परिवार, आफ्नै समाज र आफ्नै सम्बन्धबारे पुनः विचार गर्न बाध्य हुन्छ । यही गुणले ‘बदलिएको आकाश’ लाई केवल मनोरञ्जनात्मक कृति नभई सामाजिक चेतना जगाउने उपन्यासका रूपमा स्थापित गर्छ ।
समग्रमा हेर्दा ‘बदलिएको आकाश’ समकालीन नेपाली समाजको बदलिँदो पारिवारिक संरचना, प्रवास, पुस्तान्तरण, भावनात्मक दूरी र सामाजिक सम्बन्धहरूको संवेदनशील अभिव्यक्ति हो । सरल भाषा, सहज कथाविन्यास र यथार्थपरक विषयवस्तु यस उपन्यासका प्रमुख सबल पक्ष हुन् । यस सबल पक्षले पाठकलाई रु. ५०० मूल्य तिरेर २१४ पृष्ठको उपन्यास पढ्न पाउँदा कतै ठगिएको अनुभूति हुन दिँदैन ।











प्रतिक्रिया