काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खतिवडाले आफ्नो छोराको बलिदान र त्यससँग जोडिएको न्यायको विषयलाई लिएर भइरहेका राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आफू व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाका कारण संसद्मा नआएको स्पष्ट पारिन । शहीद परिवारको न्याय तथा देशमा सुधारका लागि आफू राजनीतिक भूमिकामा आएको उनको भनाइ थियो।
संसद्को रोष्टमबाट आफ्नो धारणा राख्दै सांसद खतिवडाले आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भन्ने टिप्पणी गरिएको भन्दै त्यसको प्रतिवाद गरिन् । ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको न्यायका लागि आफ्नो राजनीतिक यात्रा अघि बढेको उनले बताइन् ।
उनले सम्बन्धित राजनीतिक दल तथा सरकारलाई संवेदनशील विषयमा जिम्मेवार ढंगले अभिव्यक्ति दिन आग्रह गरिन् । न्याय प्राप्त नभएसम्म आफू निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
सांसद खतिवडाले न्याय प्राप्त भएको दिन आफू सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने बताइन् । उनले आफ्नो व्यक्तिगत पीडा र राजनीतिक भूमिकाबारे स्पष्ट पार्दै आफू कुनै स्वार्थका लागि नभई अन्य युवाले पनि त्यस्तै पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले संसद्मा रहेको धारणा राखिन ।
उनले भनिन , ‘मेरो काख रितिएको छ, संसार उजडिएको छ । यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु ।’
सांसद खतिवडाले आफू जनतालाई उचालेर द्वन्द्व सिर्जना गर्न नभई सहिद परिवारको प्रतिनिधिका रूपमा न्यायका लागि आवाज उठाउन आएको बताइन् ।
सरकारसमक्ष माग राख्दै उनले आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिहरूलाई रिहा गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा सहिद परिवारले न्यायको अनुभूति गर्ने गरी घटनाको निष्पक्ष निरूपण गर्न माग गरिन् ।











प्रतिक्रिया