मैदानका आधुनिक ‘भाइकिङ’ अर्लिङ हालान्ड


ओस्लो, (एजेन्सी) ।

फुटबल मैदानमा जब १९३ सेन्टिमिटर अग्ला अर्लिङ हालान्ड ३६.२ किमी प्रतिघण्टाको तीव्र गतिमा दौडिन्छन्, तब विपक्षी डिफेन्डरहरूका लागि उनी कुनै शक्तिशाली र आधुनिक ‘भाइकिङ’ भन्दा कम देखिँदैनन् । हालै इराकविरुद्धको खेलमा उनको त्यही संहारक रूप देखेपछि प्रशंसकहरूले विपक्षी टोलीको साहसको समेत चर्चा गर्न थालेका छन् ।

मैदानमा विपक्षीको सातो उडाउने म्यानचेस्टर सिटीका यी गोलमेसिनको असीमित शक्तिको रहस्य भने उनको अनौठो र लोमहर्षक डाइट प्लान हो । उनी दैनिक ६ हजार क्यालोरी खपत गर्छन्, जसमा जनावरको कलेजो, काँचो मह, अण्डा र ठूला तोमाहक स्टेकहरू समावेश हुन्छन् । तर, ९० मिनेटसम्म मैदानमा तहल्का मच्चाउने यी सुपरस्टार वास्तविक जीवनमा भने निकै रमाइला, निष्कपट र अलि भुलक्कड स्वभावका छन् ।

खाना खाँदाखाँदै ऐनामा आफ्नै अनुहार देखेर उनी जिल खाएको भिडियोले यतिबेला सामाजिक सञ्जालमा हाँसोको आँधी ल्याएको छ । अझ अचम्मको कुरा त, हलिउडका चर्चित ‘स्पाइडरम्यान’ अभिनेता टम हल्यान्डले मोनाकोमा डिनरका लागि पठाएको निम्तोलाई हालान्डले ‘कुनै अपरिचित मान्छे’ भन्दै सीधै बेवास्ता गरिदिए । किनकि, सिनेमा नहेर्ने भएकाले उनले ती विश्वप्रसिद्ध स्टारलाई चिनेकै थिएनन् । पछि आफ्नो गल्ती थाहा पाएपछि मुस्कुराउँदै ‘अब म्यासेज गर्छु’ भन्ने यी अद्भुत खेलाडी आफ्नो यही कठोर खेल र सरल जीवनशैलीका कारण करोडौँको मन जित्दै विश्वभर छाइरहेका छन् ।