धाादिङ । कहिले पानी पर्ला भनी आकाश हेरेर बस्नुपर्ने अवस्था थियो । पानी राम्रोसँग नपरेको समयमा खेतीपाती तथा तरकारी फलाउन कठिन थियो । केही खेतवालाले मात्र त्रिशूली नदीको पानी तानेर सिंचाइ सुविधा पु¥याएका थिए ।
दक्षिणी धादिङको गल्छी गाउँपालिका–०१, मसटारका कृषकहरूको दैनिकी निकै कष्टकर थियो । खेतीयोग्य जमिन भए पनि भरपर्दो सिंचाइ प्रणाली नहुँदा कृषकहरू मौसमी पानीकै भर पर्नुपर्ने बाध्यता थियो । यसले गर्दा कृषि उत्पादन र उत्पादकत्व निकै कमजोर थियो । पानीको अभावले सबैभन्दा ठूलो मार महिला कृषकलाई पारेको थियो, किनभने कृषि श्रमशक्तिको प्रमुख हिस्सा महिलाहरू नै हुन् । उनीहरुले कठिन अवस्था भोग्नुपरेको स्थानीय कृषक मैयाँ हमालले बताउनुभयो ।
खेतीपातीका अधिकांश काममा धेरै समय र शारीरिक श्रम खर्चिनुपर्दा उनीहरूको जीवन कष्टकर बनेको थियो । जलवायु परिवर्तनको जोखिम र खाद्य असुरक्षाले यहाँका बासिन्दालाई सधैँ सताइरहन्थ्यो । यो विकराल समस्या समाधान गर्न स्थानीय कृषकहरू एकजुट भए र समुदायकै सक्रिय सहभागितामा आधारित सिंचाइ पूर्वाधार विकास कार्यक्रम अघि बढाइयो । यसै क्रममा २ वर्षअघि महिलाहरुले अगुवाइ गरेर कालीदेवी कृषक समूह र महेशटार कृषक समूह गठन गरे ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप), आयोजना क्लस्टर एकाइ गोरखाद्वारा प्राविधिक तथा आर्थिक सहजीकरण गरी सहयोग ग¥यो । पूरक अनुदान मोडालिटीअन्तर्गत आर्थिक वर्ष २०८१÷८२ मा पूरक अनुदान कार्यक्रममार्फत प्रत्येक समूहलाई रु. ६ लाख उपलब्ध गराइयो । त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ मा थप पूर्वाधार निर्माणका लागि साना सिंचाइ कार्यक्रमअन्तर्गत दुवै समूहलाई रु. १ लाख ५० हजार रकम प्रदान गरेपछि गाउँबासीमा खुसीयाली छायो ।
४४० मिटर कुलो निर्माण भएपछि गाउँमा सुन फल्न थाल्यो । गाउँबासी सिंचाइपछि कुलोको कारण कमाउन थालेका छन् । यो व्यवस्थाले समुदायमा साझा लगानी, अपनत्व, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँदै योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीयको सक्रिय सहभागिता सुनिश्चित ग¥यो । मसटरका फाँटमा सिमी, बोडी, आलु, भ्यान्टालगायतका तरकारी फल्न थाल्यो । फाँटबाट झोलुंगे पुल तारेपछि बजार लिन थाल्यो अनि गाउँबासीको आम्दानी बढेको समूहका अध्यक्ष चुनमाया ठकुरीले बताउनुभयो ।
सिंचाइको कुलो मात्रै बनेन, किसानको क्षमता विकासलाई पनि उत्तिकै प्राथमिकता दिइयो । कालीदेवी कृषक समूहले १६ हप्ता लामो ‘आलु बाली कृषक पाठशाला’ सञ्चालन ग¥यो । ‘सिक्दै–गर्दै’ पद्धतिमा आधारित पाठशालाबाट कृषकहरूले ज्ञान र सीप हासिल गरे । उन्नत आलु खेती प्रविधि, प्रभावकारी सिंचाइ तथा पानी व्यवस्थापन, जलवायु–स्मार्ट कृषि प्रविधि र आधुनिक बाली व्यवस्थापनबारे जानकार भएपछि कृषकहरुले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने खेती शुरु गरेको ठकुरीको भनाइ छ ।
अहिले मसटारको तस्वीर बदलिएको छ । कंक्रिट लाइनिङ गरिएको कुलोका कारण पानीको चुहावट रोकिएको छ । थप ५ हेक्टर जमिनमा भरपर्दो सिंचाइ सुविधा विस्तार भई कुल सिंचित क्षेत्रफल १० हेक्टर पुगेको छ । सिंचाइको उपलब्धतासँगै कृषकले परम्परागत खेती छाडेर व्यावसायिक खेती शुरु गरेका छन् । अहिले यहाँको खेतबारीमा बन्दाकोपी, सिमी, आलु, काउलीजस्ता तरकारी एवं गहुँ, मकै, तोरीजस्ता अन्नबाली फलेको देखिन्छ ।
पहिलेको सीमित ‘धान, तरकारी, मकै’ बाली प्रणाली परिवर्तन भई अहिले ‘धान, गहुँ, तोरी, तरकारी, मकै’ को बहुबाली प्रणालीमा रूपान्तरण भएको छ । यसले कृषकहरूको आम्दानीमा व्यापक वृद्धि गरेको मैयाँ हमालको भनाइ छ । कुलो मर्मतमा घण्टौँ बिताउनुपर्ने महिला कृषकको शारीरिक श्रम र समयको बचत भएको छ । उत्पादित तरकारी सहजै बजारमा लगेर बिक्री गर्न पाउँदा र हातमा दाम आउन थालेपछि खुसीयाली छाएको छ ।
समूहका अध्यक्ष ठकुरी भन्छन्, ‘अहिले गाउँमा धेरै सकारात्मक परिवर्तन भएको छ र किसानहरू आत्मनिर्भर बन्दै गएका छन् ।’ दिगो विकास लक्ष्य र जलवायु उत्थानशील कृषिको यो एउटा उत्कृष्ट र अनुकरणीय नमुना बनेको छ, जसले मसटारको पोषण सुरक्षा र ग्रामीण जीविकोपार्जनमा दीर्घकालीन एवं सुनौलो प्रभाव पारेको देखिन्छ ।











प्रतिक्रिया