लन्डन, (एजेन्सी) ।
इटाली र जर्मनी अहिले विश्वकपमा असफल टोलीका रुपमा परिचित भएका छन् । लगातार तीन विश्वकपमा यी दुबै टोलीको प्रदर्शन निकै खराब रह्यो । इटाली लगातार तीन विश्वकपमा छनोट नभएर विफल भएको टोली सावित भयो । जर्मनी भने लगातार तीन विश्वकपको अन्तिम
१६ मा पुग्न नसकेर असफल टोली बन्यो ।यो अवस्थाले अहिले यी दुबै टोली युरोपका महारथी रहेनन् । जबकी यी दुबै टोलीले विश्वकपमा वर्चश्व बनाएका थिए । दुबै टोलीले चार–चार विश्वकप उपाधि जितेका छन् । पछिल्लोपटक जर्मनीले २०१४ मा सानदार प्रदर्शन गर्दै विश्वकप जितेको थियो । ब्राजिललाई उसैको भुमिमा ७–१ ले हराएर जर्मनीले विश्वकपको एक सशक्त टोली रहेको सावित गरेको थियो ।
यसपछि भने जर्मनीको लागि विश्वकपको यात्रा राम्रो भएन । २०१८ मा रसियामा भएको विश्वकपमा जर्मनी डिफेन्डिङ च्याम्पियन थियो । तर, टोली समूह चरणबाटै बाहिरिनु प¥यो । यसपछि २०२२ को कतार विश्वकपमा पनि जर्मनीको प्रदर्शनमा केही पनि सुधार भएन । यो विश्वकपमा पनि समूह चरणबाटै जर्मनीको यात्रा समाप्त भयो ।
जर्मन टोलीले हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पहिलो खेलमै शसक्त प्रदर्शन गरेको थियो । जसले गर्दा नयाँ टोली कुरासाओलाई ७–१ ले हराउन सफल भयो । तर यसपछि भने आइभरी कोस्ट र इक्वेडरसँग संघर्ष गर्नु परेको थियो । आइभरी कोस्टलाई त हरायो तर, इक्वेडरसँग भने अप्रत्यासित रुपमा हार बेहोरेपछि जर्मन टोलीको आलोचना भएको थियो ।
यो आलोचना नकआउट चरणमा पारग्वेसँग हारेपछि अझै चर्को भएको छ । यो हारले जर्मनीका खेलाडीहरू र प्रशिक्षकले कडा आलोचनाको सामना गर्नु परिरहेको छ । जर्मन अखबारले मात्रै होइन विश्वका अन्य देशका अखबारहरूको खेल पृष्ठ जर्मन टोली महारथी रहेन, जर्मन टोली फ्लप जस्ता हेडलाइनले सजिएका थिए । एक अखबारले त जर्मनीको खेल निरस, बोरिङ भनेर नै लेखेको थियो ।
जर्मनीलाई १९९० को विश्वकप उपाधि दिलाएका लोथार म्याथ्युजले त यो जर्मन फुटबलको पतन भएको टिप्पणी गरे । उनले कोच जुलियन नागेलम्यानको रणनीति खेलअनुसार नभएको समेत बताए ।
जर्मनीले विश्वकप चारपटक जितेको छ । पहिलोपटक १९५४ मा जितेको थियो भने दोस्रो पटक जर्मनीमै भएको १९७४ को विश्वकपमा च्याम्पियन बनेको थियो । यसपछि १९९० र २०१४ को विश्वकप जित्न जर्मन टोलीले दुबै पटक अर्जेन्टिनालाई फाइनलमा हराएको थियो ।
इटालीले पनि चारपटक विश्वकप उपाधि जितेको छ ।
पहिलो दुई विश्वकप उपाधि लगातार १९३४ र १९३८ मा जितेको थियो । यसपछि १९८२ मा उपाधि जितेको इटालीले चौथोपटक २००६ मा जितेको थियो । फ्रान्सलाई एक विवादास्पद फाइनलमा हाराएर इटाली विश्व च्याम्पियन भएको थियो । यसपछि भने इटालीको विश्वकप यात्रा सुनौलो हुन सकेन । इटाली २०१८, २०२२ र २०२६ को लगातार तीन विश्वकपमा छनोट हुन सकेन ।











प्रतिक्रिया