७ करोडभन्दा बढी कमाउने ३१ नेपाली फिल्म


काठमाडौं ।

 नेपाली फिल्म उद्योगको व्यावसायिक इतिहासमा पहिलो पटक फिल्म विकास बोर्डले उच्च व्यापार गर्ने नेपाली फिल्महरूको आधिकारिक सूची सार्वजनिक गरेको छ। बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका ३१ वटा फिल्मको विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको सूचीमा पूर्णबहादुरको सारंगी पहिलो स्थानमा रहेको छ। फिल्मले घरेलु बक्स अफिसबाट ४६ करोड ७७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै नयाँ कीर्तिमान बनाएको बोर्डले जनाएको छ।

दोस्रो स्थानमा कबड्डी ४ रहेको छ। यस फिल्मले २१ करोड ४० लाख रुपैयाँभन्दा बढी कमाएको छ। तेस्रो स्थानमा १२ गाउँ रहेको छ, जसको घरेलु व्यापार १९ करोड ९२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

सूचीको चौथो स्थानमा परान रहेको छ। यसले १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने पाँचौं स्थानमा रहेको छक्का पञ्जा ४ ले १७ करोड ५३ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको छ।

बोर्डको विवरणले पछिल्लो दशकमा नेपाली फिल्म बजार उल्लेखनीय रूपमा विस्तार भएको देखाएको छ। सूचीमा परेका ३१ फिल्ममध्ये आगो बाहेक सबै फिल्म २०७० सालपछि प्रदर्शनमा आएका हुन्। यसले नेपाली फिल्म उद्योगमा पछिल्ला वर्षहरूमा दर्शकको आकर्षण र व्यावसायिक सम्भावना दुवै बढेको संकेत गर्छ।

फिल्म विकास बोर्डका अनुसार यस्ता आधिकारिक अभिलेखले नेपाली फिल्म उद्योगको व्यावसायिक अवस्था अध्ययन गर्न, भविष्यको बजार विश्लेषण गर्न तथा उद्योगको दीर्घकालीन दस्तावेज तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

७ करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने नेपाली फिल्म

१. पूर्णबहादुरको सारंगी – ४६ करोड ७७ लाख रुपैयाँ

२. कबड्डी ४ – २१ करोड ४० लाख रुपैयाँ

३. १२ गाउँ – १९ करोड ९२ लाख रुपैयाँ

४. परान – १७ करोड ७६ लाख रुपैयाँ

५. छक्का पञ्जा ४ – १७ करोड ५३ लाख रुपैयाँ

६. जारी – १७ करोड ४८ लाख रुपैयाँ

७. छक्का पञ्जा – १६ करोड १० लाख रुपैयाँ

८. महाजात्रा – १५ करोड ६७ लाख रुपैयाँ

९. छक्का पञ्जा ५ – १५ करोड २० लाख रुपैयाँ

१०. कोहिनूर – १४ करोड ७५ लाख रुपैयाँ

११. छक्का पञ्जा २ – १४ करोड ५१ लाख रुपैयाँ

१२. आबाट आमा – १३ करोड २० लाख रुपैयाँ

१३. शत्रु गते – १२ करोड ६५ लाख रुपैयाँ

१४. जेरी अन टप – १२ करोड २८ लाख रुपैयाँ

१५. ऊनको स्वीटर – १० करोड ६२ लाख रुपैयाँ

१६. कबड्डी कबड्डी – १० करोड ३५ लाख रुपैयाँ

१७. बोक्सीको घर – १० करोड १० लाख रुपैयाँ

१८. छ माया छपक्कै – ९ करोड ९२ लाख रुपैयाँ

१९. लालीबजार – ९ करोड ३१ लाख रुपैयाँ

२०. लुट २ – ९ करोड २१ लाख रुपैयाँ

२१. दिमाग खराब – ८ करोड ९८ लाख रुपैयाँ

२२. अञ्जिला – ८ करोड ८३ लाख रुपैयाँ

२३. परदेशी २ – ७ करोड ९२ लाख रुपैयाँ

२४. छक्का पञ्जा ३ – ७ करोड ७३ लाख रुपैयाँ

२५. प्रेम गीत ३ – ७ करोड ६३ लाख रुपैयाँ

२६. कबड्डी कबड्डी कबड्डी – ७ करोड ५९ लाख रुपैयाँ

२७. पुजार सार्की – ७ करोड ३८ लाख रुपैयाँ

२८. महापुरुष – ७ करोड ३५ लाख रुपैयाँ

२९. कबड्डी – ७ करोड ३४ लाख रुपैयाँ

३०. पशुपति प्रसाद २: भस्मेडन – ७ करोड ३२ लाख रुपैयाँ

३१. आगो – ७ करोड २० लाख रुपैयाँ