खोटाङ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ बर्षीय उषक श्रेष्ठको क्षमता जे जति छन् त्यो सामान्य लाग्दैन । श्रेष्ठलाई देख्ने-भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सकिँदैन ।
छरितो कद, हँसिलो अनुहार, फुर्तिलो ज्यान, चटक्कै परेको पहिरन । जन्मजातै बोल्न र सुन्न असक्षम श्रेष्ठले यही बर्ष १२ कक्षा उत्तीर्ण गनुभयो । उहाँले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै सञ्चालित श्री कालिका माबि खार्मीमा अन्य विद्यार्थी सो सरह नै‘लेक्चर मेथोड’बाट अध्ययन गर्नुभएको हो । १२ कक्षाको परीक्षा भने सोही नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा दिनुभएको थियो ।
सानो कक्षाहरुमा कसैले चासो नदिए पनि माथिल्लो तहमा नै उत्तीर्ण भएपछि स्थानीयबासीहरु नै चकित परेका छन् । बोल्न र सुन्न नै नसके पनि कसरी अध्ययन गरे होलान् भन्नेमा स्थानीयको जिज्ञासा रहन्छ । फरक क्षमताका उसक श्रेष्ठलाई अध्यापन गर्न कुनै फरक ब्यवस्था र बिधि नअपनाईएको बिद्यालयका शिक्षक धनचन्द्र राईले जनाउनुभयो । श्रेष्ठ नियमित र अनुशासित विद्यार्थी रहेको बिद्यालयले उल्लेख गरेको छ । उषकले पुस्तक र शिक्षकले लेखिदिएको हेरेकै भरमा लेख्ने र लेखेकै भरमा पढ्ने र बुझ्ने अनुमान गर्ने गरिएको छ । उषकले सम्भावना भएसम्म अझै पनि अध्ययन गर्ने मनसाय ब्यक्त गर्नुहुन्छ ।
खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्तिकै अब्वल र चासो
उषकको खेलप्रतिको मोह र कौशलता पनि उत्तिकै रहेको छ । उहाँ नगरपालिकाले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलतर्फ नै दुई पटक निरन्तर सहभागी भईसक्नुभएको छ । श्रेष्ठले आफ्नो टीमलाई ईमान्दार, सम्यमित हुँदै सामुहिक हीतको लागि खेल्न उत्प्रेरित गर्नुहुन्छ । संकेतकै भरमा खेल्ने र खेलाउने उहाँ फुटबल लगायत अन्य चल्तीका खेलहरुमा पनि चासो दिनुहुन्छ । प्रायः सबै खेलहरुमा जानकारी राख्नुहुने श्रेष्ठ अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै चासो र सहभागिता जनाउनुहुन्छ । उषक श्रेष्ठ सबैसँग घुलमिल हुन रुचाउने, उत्सुक र मित्रवत, मिलनसार रहेको उहाँकै साथीहरु वताउँछन् ।
उषकको परिवार र आर्थिक अवस्था
उषक श्रेष्ठको तीन दाजुहरुमध्ये दुई वैदेशिक रोजगारीमा र एक गाउँमै रहनुभएको छ । दाजुहरु एकै घरमा नबसिरहने हुनाले हाल घरमा एक जना आमासँग उहाँ बस्नुहुन्छ । अगाडी नै हत्या भएको थियो । एक साँस्कृतिक चाडको अवसरमा लागेको मेलामा उहाँको बुवाको हत्या भएको थियो । दुई पक्षबीच भएको झगडा छुट्याउने क्रममो छुरा प्रहार भएकोमा घटनास्थलमै बुवाको मृत्यु भएको स्थानीय बताउँछन् ।
उषक हाल आमासँग घरमा रहनुहुन्छ । सामान्य खेतिपातीबाट नै उषकको घरपरिवार चल्दै आएको छ ।
भविष्यको खोजीमा उषक
१२ कक्षा उत्तीर्ण भए पनि अब गाउँमा त्यो भन्दा अगाडी अध्ययन गर्ने अवसर छैन । माथिल्लो तह जानलाई बाहिर बस्नुपर्ने बाध्यता छ । तर पनि उषकभित्र अथाह चाह, उत्साह र लगनशीलता छ ।
“अब उषकले आफ्नो भविष्यको खोजी गर्न थालेका छन् । तर त्यति सजिलो भने छैन ।” कालिका माविका शिक्षक धनचन्द्र राई लेख्नुहुन्छ– “उषकको अपांगतालाई बुझेर नेपाल सरकार, सम्बन्धित निकाय, परोपकारी संस्थाहरूले वहाँको भविष्यका लागि उचित परामर्श,सल्लाह दिएर सहयोग गर्न हुन्थ्यो कि ?” उषकको भबिश्यका लागि परिवारसँग समन्वयात्मक भूमिका निर्वाह गर्न विद्यालय तयार रहेको शिक्षक राईको छ ।
जिल्लाका गाउँ–गाउँमा उषक श्रेष्ठ जस्तै क्षमतावान, बहुप्रतिभावान, लगनशील विद्यार्थी लगायतका युवाहरु रहेको पाइन्छ । तर अवसर नहुँदा गुमनाम छन् । भविष्यविहीन छन् ।











प्रतिक्रिया