खाद्य स्वच्छतामा लापरबाही गर्ने राजमार्गका दुई होटललाई जरिवाना

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न प्रशासनको चेतावनी

658
Shares

धादिङ । 

खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्गअन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा सञ्चालित दुई होटललाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

जरिवाना गरिएका होटलहरूमा मन्दिरा होटल एण्ड रेष्टुरेन्ट र शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्ट रहेका छन्। जिल्ला अनुगमन समितिले ती होटलमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका विभिन्न कमजोरी तथा लापरबाही भेटिएको जनाएको छ।

अनुगमनका क्रममा होटलहरूमा बासी खाना बिक्रीका लागि राखिएको, खानामा किरा परेको, खाना पकाउने तथा तयारी गर्ने स्थान अत्यन्त फोहोर अवस्थामा रहेको, प्रयोगका लागि राखिएका तरकारी कुहिएको अवस्थामा फेला परेको, म्याद नाघेका खाद्यान्न सामग्री प्रयोगमा राखिएको तथा फ्रिजभित्र कुहिएका सामग्री र विभिन्न खानेकुरा अस्वस्थकर तरिकाले भण्डारण गरिएको पाइएको थियो।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा लापरबाही हुनु गम्भीर विषय भएको जनाएको छ। प्रशासनका अनुसार होटल तथा रेष्टुरेन्ट व्यवसाय केवल व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सेवा क्षेत्र भएकाले यसमा हुने सानो कमजोरीले समेत ठूलो असर पार्न सक्नेछ।

पछिल्लो समय पृथ्वी राजमार्ग प्रयोग गर्ने यात्रुहरूको संख्या बढ्दै गएको अवस्थामा राजमार्ग क्षेत्रका होटलहरूमा खाद्य स्वच्छता, सेवा गुणस्तर तथा सरसफाइका विषयमा पटक–पटक गुनासा आउने गरेका थिए। सोही अवस्थालाई ध्यानमा राख्दै जिल्ला अनुगमन समितिले बजार तथा होटल अनुगमनलाई प्रभावकारी बनाउने अभियान सुरु गरेको जनाएको छ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशुसेवा कार्यालय प्रमुख डा। बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई लगायतको सहभागिता रहेको थियो।

जिल्ला प्रशासनले होटल व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ, भण्डारण व्यवस्था र उपभोक्ता स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ। साथै उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी सञ्चालन गरिएका व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन र आवश्यक कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

खाद्य स्वच्छताका विषयमा देखिएको लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सम्बन्धित व्यवसायीहरूले समयमै सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।