काठमाडौं ।
युरोप अहिले पछिल्ला दशककै सबैभन्दा घातक गर्मीको लहरको चपेटामा परेको छ । तापक्रम कतिपय क्षेत्रमा ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ । गर्मीका कारण स्वास्थ्य संकट, डुबान, डढेलो, विद्युत् आपूर्ति समस्या, रेल सेवा अवरोध तथा कृषि उत्पादनमा असर देखिएको छ । पछिल्लो विवरणअनुसार जुन २१ यता युरोपभर १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
सबैभन्दा बढी असर फ्रान्समा परेको छ । त्यहाँको सार्वजनिक स्वास्थ्य निकायका अनुसार गर्मीका कारण अपेक्षाभन्दा करिब १ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ । अधिकांश मृतक ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा रहेका छन् ।
सरकारले उच्च जोखिम क्षेत्रहरूमा नागरिकलाई घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन, दिउँसोको घामबाट जोगिन र वृद्ध तथा बिरामीको विशेष हेरचाह गर्न आग्रह गरेको छ । केही क्षेत्रमा विद्यालय बन्द गरिएका छन् भने यातायात सेवा पनि प्रभावित भएको छ ।
जर्मनी, चेक गणतन्त्र, पोल्यान्ड, स्पेन, इटाली, हंगेरी, सर्बिया, बेल्जियम तथा बाल्कन क्षेत्र पनि भीषण गर्मीबाट प्रभावित भएका छन् । जर्मनीमा ४१ दशमलव ७ डिग्री सेल्सियस तथा चेक गणतन्त्रमा ४१ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन ती देशहरूको इतिहासकै उच्च तापक्रममध्ये पर्दछ । धेरै स्थानमा डढेलो फैलिएको छ भने रेलमार्ग, सडक र विद्युत् पूर्वाधारमा समेत असर परेको छ ।
सामाजिक सञ्जालमा यो गर्मीलाई ‘सुपर एल निनो’ सँग जोडिए पनि अन्तर्राष्ट्रिय मौसमविद् र जलवायु वैज्ञानिकहरूले यसलाई सही निष्कर्ष मान्न अस्वीकार गरेका छन् । युरोन्युजसँग कुरा गर्दै जलवायु वैज्ञानिकहरूले अहिलेको गर्मीको मुख्य कारण दीर्घकालीन जलवायु परिवर्तन भएको बताएका छन् । उनीहरूका अनुसार एल निनोको प्रभावभन्दा पनि पृथ्वीको तापक्रम लगातार बढ्दै जानु र वायुमण्डलमा हरितगृह ग्यासको मात्रा वृद्धि हुनु अहिलेको संकटको प्रमुख कारण हो ।
मौसमविद्हरुका अनुसार अहिले युरोपमाथि ‘ओमेगा ब्लक’ नामक उच्च चापीय मौसमी प्रणाली विकसित भएको छ । यसले उत्तर अफ्रिकाबाट आएको तातो र सुख्खा हावालाई युरोपमाथि धेरै दिनसम्म रोकिदिएको छ । परिणामस्वरूप लगातार धेरै दिनसम्म तापक्रम अत्यधिक उच्च रह्यो र रातिको तापक्रमसमेत नघट्दा मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले युरोप विश्वको सबैभन्दा छिटो तातिरहेको महादेश भएको उल्लेख गर्दै हीट स्ट्रेसलाई ‘मौन हत्यारा’को संज्ञा दिनुभएको छ । उहाँका अनुसार युरोपको पूर्वाधार, विद्यालय, कार्यस्थल र अधिकांश घरहरू यति धेरै तापक्रम सहन सक्ने गरी निर्माण गरिएका छैनन् । त्यसैले सरकारले दीर्घकालीन ‘हिट हेल्थ एक्सन प्लान’ लागू गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभएको छ ।











प्रतिक्रिया