पञ्चेबाजाको सीप स्वरोजगारको आधार

658
Shares

लमजुङ । लमजुङमा मौलिक संस्कृतिको जगेर्ना गर्दै पञ्चेबाजाको सीप सिकेर स्वरोजगार बनौं भन्ने उद्देश्यका साथ पञ्चेबाजा तालिम सम्पन्न भएको छ । हालै भएको सो तालिममा बेसीशहर नगरपालिका–२ स्थित जनजागृति दलित एकता समाजका एक महिलासहित १२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम वडास्तरीय दलित सञ्जालका अध्यक्ष सीता परियारको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका निमित्त प्रमुख पदम गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै निमित्त प्रमुख गुरुङले पञ्चेबाजा नेपाली मौलिक कला र संस्कृतिको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता सीपमूलक तालिमले युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मदन रानाले परम्परागत बाजागाजाको संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोड्न सहभागीहरुलाई आग्रह गर्नुभयो । साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिम अवधिभर प्रशिक्षण दिनुभएका प्रशिक्षक रामचन्द्र सेवाले सहभागीहरुले छोटो समयमै पञ्चेबाजाका विभिन्न बाजा बजाउने आधारभूत ज्ञान र सीप हासिल गरेको बताउनुभयो । उहाँले निरन्तर अभ्यास र अवसर प्राप्त भएमा सहभागीहरु दक्ष कलाकारका रुपमा स्थापित हुन सक्ने धारणा राख्नुभयो ।

प्रशिक्षार्थी चन्द्रबहादुर परियारले तालिमबाट आफूहरुले महत्वपूर्ण सीप सिक्न पाएको बताउँदै यसले भविष्यमा रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमले युवापुस्तालाई आफ्नो संस्कृति र परम्पराप्रति आकर्षित गर्न मद्दत पुग्ने बताउनुभयो ।

बेसीशहर नगरपालिका वडा नं. २ को सहयोग, वडास्तरीय दलित सञ्जालको आयोजना तथा जनजागृति दलित एकता समाजको समन्वयमा सञ्चालन भएको यस तालिमले स्थानीय स्तरमा मौलिक संस्कृति संरक्षण, सीप विकास तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । समापन कार्यक्रममा सहभागीहरुलाई नि. प्रमुख गुरुङ, वडा अध्यक्ष रानालगायतले संयुक्तरुपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।