नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका कलाकारको प्रभाव बढ्दो छ। यही क्रममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का गौँथली नामक फिल्ममा पहिलोपटक एकसाथ अनस्क्रिन जोडीका रूपमा देखिन लागेछन्। आगामी साउन १ गते प्रदर्शनमा आउने फिल्मले दर्शकमाझ उत्सुकता बढाइरहेको छ।
महापुरुष फिल्मबाट दर्शकको मन जितेका अरुण र प्रेमगन्ज, चित्रा तथा बेहुली फ्रम मेघौलीबाट अभिनय क्षमता प्रमाणित गरिसकेकी सिम्रनलाई निर्देशक डा. कपिल रिजालले श्रीमान् श्रीमतीको भूमिकामा प्रस्तुत गरेका छन्। दुवै कलाकारका प्रशंसकका लागि यो नया“ सहकार्य विशेष आकर्षण बनेको छ। केही समयअघि सार्वजनिक फिल्मको स्याड सङ् आँखाभरि आँसुले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत थानेश्वर स्वयंको छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्। गीत सार्वजनिक कार्यक्रममा अरुण र सिम्रन बेहुला–बेहुलीको भेषमा उपस्थित हुँदा उपस्थित निम्तालुहरू अचम्मित बनेका थिए।
गीतअघि सार्वजनिक गरिएको टिजरले पनि फिल्मप्रति चासो बढाएको थियो। टिजरमा देखिएको कथावस्तु, कलाकारहरूको अभिनय तथा प्रस्तुतिलाई दर्शकले रुचाएका छन्। निर्देशक कपिल रिजालका अनुसार फिल्मले शारीरिक समस्याले व्यक्तिको जीवन, सम्बन्ध र मनोविज्ञानमा पार्ने प्रभावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
‘गौँथली केवल एउटा शीर्षक मात्र होइन, घर, परिवार, सम्बन्ध र आत्मीयताको प्रतीक पनि हो’ डा. रिजालको भनाइ छ ‘फिल्मले पारिवारिक सम्बन्धभित्र लुकेका भावनात्मक पक्षलाई केन्द्रमा राखेर कथा अघि बढाउँछ।’ फिल्ममा अरुण र सिम्रनसँगै ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली, प्रिन्स नेपालीलगायतको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ। फिल्म हरि हुमागाईंले छायाँकन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। संगीतमा शम्भुजीत बाँसकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटी छन् भने पाश्र्व संगीत एलिस कार्कीको रहेको छ।
गौँथली नाम नेपाली फिल्म इतिहाससँग जोडिएको छ। दुई दशकअघि डा. भोला रिजालले यही नाममा निर्माण गरेको फिल्म नेपालको पहिलो म्युजिकल फिल्म हो। प्रदर्शनका क्रममा उक्त फिल्मले ५१ दिनको सफल यात्रा तय गरेको थियो। अब त्यही नामलाई नयाँ पुस्तासामु पुनः प्रस्तुत गर्ने जिम्मेवारी डा. भोला रिजालका पुत्र तथा निर्देशक डा. कपिल रिजालले लिएका छन्।
लन्डनमा बसेर गिल्ट, साइलेन्स र कर्माजस्ता अंग्रेजी भाषाका सर्ट फिल्म तथा नेपाल र लन्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका कपिलको यो दोस्रो फिचर फिल्म हो। यसअघि उनले ह्यारीकी प्यारी निर्देशन गरेका थिए। पुरानो विरासत र नयाँ पुस्ताको संवेदनशील कथालाई जोडेर तयार भएको गौँथलीले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।











प्रतिक्रिया