रास्वपामा मतमतगणना ढिलाइ

खुला केन्द्रीय सदस्यमा स्वर्णिम पहिलो, पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलियो

846
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ । कुल ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि विभिन्न समावेशी समूह र प्रदेशबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँच÷पाँच जनाका दरले ३५ जना निर्वाचित हुनेछन् । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने व्यवस्था छ ।

आदिवासी जनजातितर्फ ९ जना निर्वाचित हुनेछन् । यस समूहबाट ५ पुरुष र ४ महिला निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । मधेसी समूहबाट ८ जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ३ महिला रहनेछन् । दलित समूहबाट ४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसमा २ पुरुष र २ महिला रहने व्यवस्था गरिएको छ ।
त्यस्तै मुस्लिम समूहबाट २ जना निर्वाचित हुनेछन्, जसमा १ पुरुष र १ महिला रहनेछन् । यसका अतिरिक्त सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

खुलामा कसको मत कति ?
१. डा. स्वर्णिम वाग्ले २६०७
२. सोविता गौतम २५९४
३. शिशिर खनाल २४९५
४. सागर ढकाल २३३३
५. तोसिमा कार्की २२५७
६. रञ्जु दर्शना २२४९
७. मनिष झा २२३७
८. हरि ढकाल २२१९
९. कविन्द्र बुर्लाकोटी २१८४
१०. विपिन आचार्य २१२६
११. रमेश प्रसाईं २१२३
१२. बिराजभक्त श्रेष्ठ २०९४
१३. निशा डाँगी २०८९
१४. इन्दिरा रानामगर २०४७
१५. गणेश पराजुली २०४५
१६. जगदीश खरेल (ललितपुर) २०४४
१७. पुकार बम २०३०
१८. यज्ञमणि न्यौपाने १९६९
१९. प्रमोद न्यौपाने १८९२
२०. सस्मित पोखरेल १८३३
२१. राजुनाथ पाण्डे १८१२
२२. रीमा विश्वकर्मा १८१०
२३. असीम साह १७२८
२४. खगेन्द्र सुनार १७०८
२५. राजीव खत्री १७०१
२६. समीक्षा बाँस्कोटा १६९९
२७. गणेश कार्की १६९३
२८. जगदीश खरेल (दोलखा) १५१३
२९. लिमा अधिकारी १५०४
३०. टीका संग्रौला १४९०
३१. शंकर श्रेष्ठ १४८४
३२. क्रान्तिशिखा धिताल १४७९
३३. आशिका तामाङ १४३०
३४. सुदीप ढकाल १४२९
३५. अनुष्का श्रेष्ठ १३५३

पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक हुन नसक्दा पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ ।

महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा मतदान प्रक्रिया अघि बढाउने तयारी थियो । तर केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेकाले पदाधिकारी निर्वाचनको प्रक्रियासमेत प्रभावित भएको हो ।

निर्वाचन समितिका अनुसार हालसम्म चितवनस्थित महाधिवेशनस्थलमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमार्फत दिएको मतको परिणाम क्रमशः सार्वजनिक भइरहेको छ । विभिन्न प्रदेश र खुलातर्फका उम्मेदवारहरूले प्राप्त गरेको मत घोषणा गर्ने काम जारी रहे पनि प्रवास समितिबाट आएको मत अझै समावेश गरिएको छैन ।

रास्वपाले देशभरका प्रदेश तथा प्रवासबाट सहभागी प्रतिनिधिहरूको मतलाई एकीकृत गरी अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । त्यसैले हाल सार्वजनिक भइरहेका परिणामलाई प्रारम्भिक परिणामका रूपमा हेरिएको छ । प्रवासतर्फको मत जोडिएपछि मात्रै केन्द्रीय सदस्यहरूको आधिकारिक तथा अन्तिम मतपरिणाम सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले मतगणना छिटो हुने अपेक्षा गरिएको थियो । यद्यपि प्रवासतर्फको मत समायोजन र प्राविधिक प्रक्रियाका कारण अन्तिम परिणाम सार्वजनिक हुन केही समय लागेको निर्वाचन समितिको भनाइ छ ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक नतिजा देखिएको छ । केही वर्तमान सांसद तथा केन्द्रीय नेताहरूले उच्च मत प्राप्त गरेका छन् भने नयाँ अनुहारहरूले पनि उल्लेख्य समर्थन पाएका छन् ।

केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्रै पदाधिकारी निर्वाचनको संशोधित कार्यतालिका घोषणा गरिने जनाइएको छ । त्यसपछि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षलगायत पदका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । त्यसैले प्रतिनिधिहरूको ध्यान अहिले केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम र त्यसपछि हुने पदाधिकारी निर्वाचनतर्फ केन्द्रित रहेको छ ।