काराकास (भेनेजुएला) ।
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार आएको शक्तिशाली दोहोरो भूकम्पपछि ठूलो मानवीय तथा भौतिक क्षतिको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले प्रारम्भिक मूल्याङ्कनमा मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने चेतावनी दिएको छ।
स्थानीय समयअनुसार बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको केन्द्र राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ।
भूकम्पका कारण राजधानी काराकाससहित याराकुय, काराबोबो, अरागुवा, मिरान्डा र ला ग्वाइरा क्षेत्रमा दर्जनौं भवन भत्किएका छन्। धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ भने उद्धार टोलीहरू रातभर खोज तथा उद्धारमा खटिएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेकी छन्। विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।
भूकम्पपछि २० भन्दा बढी पराकम्प (आफ्टरशक) महसुस गरिएको छ। मुख्य अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने केही क्षेत्रमा विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। सुरुआती चरणमा सुनामीको चेतावनी जारी गरिएको भए पनि पछि फिर्ता लिइएको छ।
यद्यपि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। अहिलेसम्म आधिकारिक मृतक संख्या सार्वजनिक गरिएको छैन। तर अमेरिकी भूगर्भ सर्वेक्षणको ‘पेजर’ प्रणालीले यो विपद्बाट अत्यधिक जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ। विशेषज्ञहरूका अनुसार अन्तिम क्षतिको विवरण आउन अझै केही दिन लाग्न सक्छ।











प्रतिक्रिया