काठमाडौं
उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
सो अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताएका छन्।

नेपाल–रुस सम्बन्धबारे चर्चा गर्दै उनले आगामी साउन ४ गते दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुने जानकारी दिए।
‘नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ। आगामी जुलाई २० मा हामी केवल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मात्र होइन, सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्बन्धमा आधारित दीर्घकालीन मित्रताको ७० वर्ष पूरा भएको अवसरसमेत मनाउँदैछौँ’, उनले भने।
राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको मित्रता र सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।

यसैबीच, नेपालस्थित रुसी दूतावासका मिनिस्टर–काउन्सिलर रिन्चेन रक्षायेभले नेपाल ओलम्पिक कमिटीको पुरस्कार नेपाल कराते महासंघलाई देशको उत्कृष्ट खेल महासंघका रूपमा प्रदान गरेका छन्।
नेपाल ओलम्पिक कमिटीले हरेक वर्ष जुन २३ मा विश्वभर मनाइने ओलम्पिक डेको अवसरमा ‘एनओसी अवार्ड’ आयोजना गर्दै आएको छ। यस वर्ष काठमाडौंमा आयोजित चौथो संस्करणको उक्त कार्यक्रममा उत्कृष्ट खेलाडी, खेल संघ तथा पत्रकारलाई सम्मान गरिएको थियो।
रुसको राष्ट्रिय दिवस हरेक वर्ष जुन १२ मा मनाइन्छ। सन् १९९० मा तत्कालीन रुसी सोभियत संघीय समाजवादी गणतन्त्रले आफ्नो राज्य सार्वभौमसत्तासम्बन्धी घोषणापत्र पारित गरेको सम्झनामा यो दिवस मनाउने गरिन्छ। सन् १९९४ मा तत्कालीन राष्ट्रपति बोरिस येल्त्सिनले जुन १२ लाई राष्ट्रिय बिदा घोषणा गरेका थिए भने सन् २००२ देखि यसलाई औपचारिक रूपमा ‘रुस दिवस’ नाम दिइएको हो। यो दिवस रुसको आधुनिक राज्य व्यवस्था, राष्ट्रिय एकता र सार्वभौमसत्ताको प्रतीकका रूपमा लिइन्छ।











प्रतिक्रिया