चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पछिल्लो समय विवादमा आएका सीमासम्बन्धी अभिव्यक्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफल प्रकरणबारे एकैसाथ जवाफ दिनुभएको छ । उहाँले आफ्नो राष्ट्रियतामाथि कुनै शंका नगर्न आग्रह गर्दै सुशासन कायम गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको दाबी गर्नुभयो ।
चितवनमा आइतबार आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका विषयमा आफूले दिएको अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको दाबी गर्नुभयो । केही साताअघि प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने आशयको अभिव्यक्तिपछि उहाँको चर्को आलोचना भएको थियो भने विपक्षी दलका सांसदहरूले संसद्मै प्रधानमन्त्रीबाट स्पष्टीकरण मागेका थिए । त्यस विषयमा सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुभएको थियो ।
महाधिवेशनमा प्रधानमन्त्री शाहले भन्नुभयो– ‘यहाँ सीमाका कुरा उठे । हामीसँग प्रमाण छन् । हाम्रा प्रमाण लिएर कुरा गर्छौं । हामीले मध्यस्थकर्ता गर्न खोजेको होइन । प्रमाण खोज्न आवश्यक परे जहाँसम्म जानुपर्छ, त्यहाँसम्म जान्छौं । उहाँले आफ्नो राष्ट्रियताप्रति प्रश्न उठाइनु दुःखद् भएको उल्लेख गर्दै भन्नुभयो–‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
प्रधानमन्त्रीले नेपालका सीमासम्बन्धी दाबी ऐतिहासिक प्रमाण, नक्सा, अभिलेख र कूटनीतिक माध्यमबाट स्थापित गरिने बताउनुभयो । यसअघि संसद्मा उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवाद वार्तामार्फत समाधान गरिने बताउनुभयो ।
अख्तियार प्रकरणमा आक्रामक बचाउ
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर लामो समय छलफल गरेको विषयमा पनि प्रतिक्रिया दिनुभयो । उक्त घटनापछि अख्तियारका पदाधिकारीलाई घण्टौंसम्म राखेर एकतर्फी भाषण गरिएको, उनीहरूलाई असहज अवस्थामा राखिएको तथा एक प्रकारले ‘नजरबन्द’ जस्तै व्यवहार गरिएको आरोप सार्वजनिक रूपमा उठेको थियो ।
तर, प्रधानमन्त्री शाहले ती आरोप अस्वीकार गर्दै विगतका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे अनुसन्धान गर्न आवश्यक परे जुनसुकै निकायसँग लामो छलफल गर्न सकिने बताउनुभयो ।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह गर्नुपर्छ भने पाँच घण्टामात्रै होइन, पाँच वर्षसम्म पनि सँगै राखेर छलफल गर्न सकिन्छ,’ उहाँले भन्नुभयो –‘हामी नियम र कानुनभन्दा बाहिर जाँदैनौँ । ’
उहाँले सरकारको उद्देश्य प्रतिशोध नभई सुशासन कायम गर्नु रहेको दाबी गर्नुभयो । विगतमा भएका कमजोरी, अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे अनुसन्धान गर्नुपर्ने अवस्था आए त्यसलाई नछाडिने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहले आफ्नो पार्टी विकास, सुशासन र परिणाममुखी काममा विश्वास गर्ने राजनीतिक शक्ति भएको बताए । ‘हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो,’ उहाँले भन्नुभयो –‘हामी पुराना विषय उचालेर प्रतिशोध साँध्ने राजनीति गर्दैनौं । तर, राज्यको सम्पत्ति दोहन भएको छ भने त्यसको खोजी गर्नु राज्यको दायित्व हो ।’
महाधिवेशनबाट कार्यकर्तालाई सन्देश
प्रधानमन्त्री शाहले महाधिवेशनमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पार्टीको मूल लक्ष्य प्रणाली सुधार, पारदर्शिता र उत्तरदायित्व कायम गर्नु भएको बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र सुशासनलाई सँगसँगै अघि बढाउने दाबी गर्नुभयो ।











प्रतिक्रिया