कोशी प्रदेशको संसदीय समितिद्वारा उदयपुर अस्पतालको अनुगमन

282
Shares

उदयपुर । 

कोशी प्रदेश सरकारको मुल्याङ्कनमा दुई पटकसम्म प्रदेश कै उत्कृष्ट अस्पतालका रुपमा पुरस्कृत भएको उदयपुर जिल्ला अस्पतालको अहिलेको बेथितिले चर्चा पाएपछि कोशी प्रदेशसभाको सामाजिक विकास समितिले अस्पतालमा अनुगमन गरेको छ ।

कोशी प्रदेशसभाकी  उपसभामुख सिर्जना दनुवारसहित संसदीय समितिका सभापति गयानन्द मण्डल लगायतका पदाधिकारीहरले अस्पतालको निरीक्षण गरेको र त्यहाँ चरम बेथिति देखिनुका साथै सरसफाईमा कमजोरी, कर्मचारीहरुको लापरबाही, उपचारमा आवश्यक पर्ने प्रविधिहरको अभाव, एक्स रे, ल्याब जस्ता शाखामा काम नहुने अवस्था छ । अस्पतालमा बेथिति रहेको समितिले प्रत्यक्ष देखेको अस्पताल श्रोतले जनाएको छ ।

अस्पतालका तत्कालिन मेडिकल सुपरिन्तेन्डेन्ट बीरेन्द्र कुमार मण्डलको अन्यत्र सरुवा भएर गएरपछि डा. मुकेश कुमार झाले ज्येष्ठ ४ गतेदेखि  निमित्त भएर कार्यभार सम्हालेको भए पनि ततकालिन मेसु मण्डलका पालादेखि नै अस्पतालको अवस्था खस्कँदै गएको हो । लेखा तथा स्टोरले उपचारमा आवश्यक सामान उपलब्ध गराउन नसक्दा उपचारमा नै बाधा पुगेको, एक्स रे शाखामा एक्स रे नहुँदा बाहिर गएर एक्स रे गर्नु पर्ने, तथा प्रयोगशालामा सामान्य रगत जाँच र अन्य जाँच नहुँदा बाहिर गएर रगत परीक्षण गर्नु पर्ने अवस्था रहेको छ ।

अस्पतालमा श्रोत नभए पनि अनावश्यक कर्मचारी करारमा, दैनिक ज्यालादारीमा भर्ना गरेर अस्पताललाई आर्थिक भारमा पारेको, कार्यालय प्रमुख तथा अस्पताल व्यवस्थापन समितिले लाए अह्राएका, भनेको काम कर्मचारीहरले नटेर्ने, फार्मेसीमा कर्मचारीले आर्थिक अनियमितता गर्ने गरेको लगायतका थुप्रै गुनासाहरु अनुगमनटोली समक्ष अस्पतालकै कर्मचारीहरुले गरेको श्रोतले जनाएको छ । सुत्केरी गराउन आउने गर्भवती महिलाहरु, अन्य बिरामीहरूलाई अस्पतालमा उपचार नगरी अन्यत्र रिफर गर्ने गरेको अस्पताल श्रोतले जनाएको छ ।

यस विषयमा अस्पतालका निमित्र मे.सु डा. मुकेश कुमार झाले अस्पतालमा करिब ३ महिनादेखि अवस्था खस्कँदै गएको हुँदा यसलाई सुधार गर्नकालागि आफूले प्रयास गरिरहेको तर अस्पतालमा कार्यरत आफू लगायतका चिकित्सकहरुले नियमानुसार पाउनु पर्ने सेवा सुविधा तथा अतिरिक्त भत्ता समेत नपाएको, उपचारकालागि आवश्यक पर्ने प्रविधि लगायतका अन्य सामानहरु नपाउँदा काममा बाधा भएको बताए ।

उपचारकालागि जिल्ला बाहिरबाट समेत बिरामीहरु आउने गरेको, डायलासिस सेवा लिनेहरु रहेको, निःशुल्क दिइने औषधीको अभाव रहेको, सधैँ भरिभराउ हुने बेड व्यवस्थित उपचारको अभावमा खाली भएको अवस्था रहेको अनुगमनका क्रममा देखिएको छ ।

कर्मचारी बिचमा उकापसमा सहयोगात्मक भावना विकसित हुनु पर्नेमा मनमुटाब हुने गरेको , लेखा स्टोर था प्रशासन बिचमा समन्वय नभएको लगायतका कारणले गर्दा अस्पतालको उपचार प्रक्रियामा समेत समस्या भएको अनुगमनका क्रममा देखिएको श्रोतले जनाएको छ ।