बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार


रौतहट ।

 रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरी घाटस्थित बागमती नदीमा फसेका १४ जनाको उद्धार भएको छ । एक्कासि आएको बाडीमा परेर उनीहरू रोकिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको हो।

आइतवार अपराह्न करिब ३:४० बजे नदी पारि मुमको दाल टिपेर फर्कने क्रममा ११ जना महिला र ३ जना बालिका गरी १४ जना स्थानीय अचानक बागमती नदीमा पानीको बहाव बढेपछि नदी पार गर्न नसकी बीचको टापुमा फसेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहट तथा मातहत कार्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डिएम (डिजास्टर म्यानेजमेन्ट) टोलीसहित १७ जनाउद्धार टोलीले रोबर बोट को सहायताबाट उद्धार गरेको हो । उद्धार पछि उनीहरूलाई सुरक्षित रूपमा आ–आफ्नो घरतर्फ पठाइएको थियो।

मनसुन सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले स्थानीयवासीलाई आग्रह गरिएको छ।