सन् १९९० दशकको शीतयुद्ध अन्त्य एवं समाजवादी सोभियत सङ्घ रूस विघटन भएपछि अमेरिकी एक धुव्रीय विश्व व्यवस्था भयो भनियो । समाजवाद उन्मुख चीनको उदय, युरोपियन सङ्घको गठन, अफ्रिकी सङ्घको गठन, ब्रिक्सको गठन र विकास, डि डलराइजेसन, पेट्रो डलरको अन्त्य, अमेरिकन डलरको विकल्पको खोजी, क्षेत्रीय सङ्गठनहरूको गठन नाटोमा विभाजनलगायतका विषयहरूले गर्दा बहुधु्रवीय विश्वको अवस्था कायम भएको छ ।
संसारमा सामन्तवादी, पूँजीवादी र समाजवादी चरित्रका मान्छे छन् । सामन्तवादी अवस्थामा पूँजीवादी भु्रण जन्मिएकै हुन्छ । पूँजीवादको चरम विकासपछि समाजवादी वा साम्राज्यवादी व्यवस्थाको चरित्र निर्माण हुने हुन्छ । यसरी हेर्दा अमेरिका साम्राज्यवादी पूँजीवादको अभ्यास गरिरहेको छ । चीन समाजवाद उन्मुख पूँजीवादको अभ्यास गरिरहेको छ । अमेरिका विश्वभरि हस्तक्षेप गरिरहेको छ, युद्ध निर्यात गरिरहेको छ, युद्ध चलाइरहेको छ भने चीनलगायतका देशहरू गरिबी निवारण र स्तर उन्नतिका लागि सहअस्तित्व, सहकार्य एवं अहस्तक्षेपजस्ता विश्व बन्धुत्वका विश्व जोड्ने आयोजनाहरू विश्वव्यापीकरण गरिरहेका छन् ।
समकालीन विश्व अहिले पनि तीनवटा शीर्षकमा विभाजित रहेको छ । पहिलो विश्व, विकसित (उच्च आय भएका), दोस्रो विश्व, विकासशील (मध्यम आय भएका) र तेस्रो विश्व, (न्यून आय भएका) देशहरूमा वर्गीकरण गर्दै आइरहेका छौं । नेपाल तेस्रो विश्व अर्थात् न्यून आय भएको देशमा पर्दछ । यो विश्व मानचित्रको वर्गीय विश्लेषण हो ।
पहिलो विश्व ः
उच्च आय भएका उत्तर अमेरिकी देशहरू, पश्चिम युरोपियन देशहरू, जापान र अस्ट्रेलियाजस्ता देशहरू यो समूहमा सामेल गरिएको छ । यसको नेतृत्व भने अमेरिकाले गरिरहेको छ । नाटोमार्फत विश्वलाई नियन्त्रण गर्ने कार्यमा लागिरहे तापनि अहिले नाटोमा फुट आएको छ । अमेरिकी नेतृत्वमाथि प्रश्न उठाइएको छ । यसको ज्वलन्त उदाहरणको रूपमा युक्रेन युद्धपछि अमेरिकाद्वारा इरानमाथि गरिएको हठात हमलामा युरोपियन नाटो सदस्य देशहरूको असहमति र असहयोग मुख्यरूपमा रहेका छन् । इरानमा अमेरिका नराम्ररी पराजित भएर ३० औं अर्ब डलर नोक्सान गरिसक्यो, हजारौं मानिसहरू विस्थापनमा परिसके ।
अमेरिकी सरकारको मुख्य लक्ष्य भनेको कमजोर देशहरूमा रहेका प्राकृतिक स्रोतहरूमाथिको कब्जा र आफ्नो अनुकूलको सरकारको निर्माण गर्न जस्तोसुकै अमानवीय युद्ध गर्ने रहेको छ, जसको विरोध अमेरिकालगायत देशहरूका लाखौं–करोडौं जनताले सडकमा ओर्लिएर गरिएका ‘नो मोर किङ’, ‘नो मोर वार’ ‘वी वान पीस’ ‘वी वान पस्परेटी’ जस्ता नारासहितको प्रदर्शनबाट बुझ्न सकिन्छ । खासमा जनता युद्ध चाहँदैनन्, शान्ति र समृद्धि चाहन्छन् । हतियारका व्यापारीहरू, निजी सम्पत्तिका लोभीहरू जसरी पनि युद्ध गराइरहन चाहन्छन् । अरू जेसुकै होस्, आफ्नो शक्ति र आम्दानी कायमै रहोस् भन्ने कामनासहित दृश्य÷अदृश्य युद्ध चलाइरहेका हुन्छन् ।
दोस्रो विश्व ः
मध्यम आय भएका दक्षिण अमेरिकी देशहरू, केही अफ्रिकन देशहरू, पूर्वी युरोपियन देशहरू र केही एसियन देशहरू यो समूहमा सामेल गरिएका छन् । यसको नेतृत्व चीनले गरिरहेको छ । सामूहिक नेतृत्व ब्रिक्सले गरिहेको छ । ब्रिक्सले एक–आपसमा सहकार्य, सहअस्तित्व, अहस्तक्षेप, विकास निर्माण र आपसी चासोमा सहयात्राको प्राथमिकताले हुन सक्ने सबै प्रकारको युद्धलाई निषेध गर्न खोजिएको छ । ब्राजिल, दक्षिण अफ्रिका, भारत, चीन र रूसबाट स्थापना गरिएको ब्रिक्समा सदस्य हुन आवेदन दिने देशहरू तीन दर्जनमाथि पुगिसकेका छन् । सार्कजस्ता क्षेत्रीय सहयोग सङ्गठनहरू पनि काम गरिरहेका छन् ।
बहु जनसङ्ख्या, भूगोल र देशहरू यो समूहमा रहेका छन् । अन्य देशको ‘खास विकास’ चीनको ‘आम विकास’ को अवधारणाले गर्दा विभेदमा आधारित उच्च तथा मध्य आय भएका साम्राज्यवादी सोंच भएका देशहरूलाई उनीहरूको ‘विकास मोडल’ का बारेमा पुनर्विचार गर्न बाध्य बनाइदिएको छ । सामन्तवाद, पूँजीवाद, दलाल पूँजीवाद, उदारवाद, नवउदारवाद, लोकप्रियतावाददेखि सञ्चार हस्तक्षेप हुँदै कलर रिभोलुसन, उत्तर आधुनिकतावादसम्म आइपुग्दा पूँजीवादले आफ्नो अन्यायी छविलाई सुधार्न सकिरहेको छैन । बरू उच्च आय भएकाहरूले मध्यम आय भएका देशहरूलाई आफ्ना खुनी आँखा लगाइरहेका छन्, दाँत र नङ्ग्रा गाडिरहेका छन् । यस्तो अवस्थाको अन्त्यका लागि यो समूह सचेतन काम गरिरहेको देखिन्छ ।
तेस्रो विश्व ः
न्यून आय भएका नेपाल, अफगानिस्तान, दक्षिण एसियायी केही देशहरू र मध्य अफ्रिकी देशहरू यो समूहमा सामेल गरिएको छ । न्यून आय भएका देशहरूलाई उच्च र मध्यम आय भएका कतिपय देशहरूले थिचोमिचो र शोषण उत्पीडनको जाँतो चलाइरहेका छन् । उनीहरूमाथि दोहोरो मार परिरहेको छ । खासमा उनीहरू पूँजीवादी शिविर अमेरिकाको पङ्तिमा उभिने कि समाजवाद उन्मुख शिविर चीनको पङ्तिमा उभिने भन्ने तानातानमा उल्झिरहेको देखिन्छ । सूचना र प्रविधिले आम मानिसहरूमा नवजागरण पैदा गरिदिए पनि उत्पादनका स्रोत र साधनमाथि सामन्ती र पूँजीवादी नियन्त्रण कायमै रहेको छ । जसका कारण साँचो अर्थमा मानिसहरू स्वाधीन हुन सकिरहेका छैनन् र उनीहरूको परिवर्तनप्रतिको आकाङ्छाको दुरुपयोग भइरहेको छ । यसले गर्दा सामन्ती र दलाल पूँजीवादीहरूलाई फाइदा भइरहेको हुन्छ ।
बन्नुपर्ने विश्व व्यवस्था ः
पृथ्वी एक सौर्यमण्डलको एउटा सुन्दर ग्रह हो । यसमा वनस्पति र जीवको अवस्थितिका लागि वातानुकूलित प्रकृति रहेको छ । यसकारण यहाँ मानिसहरू पनि छन् । उनीहरूले यो समाजलाई न्यायिक समाज बनाउन योगदान दिइरहेका छन् । यसलाई बिथोल्न खोज्नेहरूको कमी पनि छैन, जसका कारण वर्ग समाज निर्माण हुन पुग्यो । शोषणका लागि विभेद, विभेदका लागि व्यवस्था, व्यवस्थाका लागि पहिला धर्म र अहिले कानुनजस्ता संयन्त्र बनाएर मानव जातिलाई नै अमानव बनाउने दुश्चक्र चलिरहेको छ ।
मानव जाति अन्तर्राष्ट्रिय जाति हो । मानव समाजमा मात्र एक जात दुई लिङ्ग रहेको छ । यसलाई अनेक जात बनाएर विभाजन गरी उनीहरूमाथिको शोषण र शासन अन्य नगरी यो मानव समाज र खुद् पृथ्वी सुन्दर बन्नै सक्दैन । यसका लागि विश्वव्यापी पहल भइरहेको छ । आजका मानिसहरू शोषण, विभेद र उत्पीडनबाट मुक्ति चाहन्छन् । युद्ध चाहँदै चाहँदैनन् । पारस्परिक मेल र सद्भाव चाहन्छन् । आफ्ना अयोग्यतालाई योग्यतामा बदल्न चाहन्छन् । असफलतालाई सफलतामा बदल्न चाहन्छन् ।
खोज र अनुसन्धानबाट नयाँ–नयाँ क्षितिज उर्घान चाहन्छन् र प्राप्त उपलब्धिहरूलाई साझा गर्न चाहन्छन् । तर यहाँ यस्ता मानिसहरू पनि छन्, जसले उपलब्धिहरूलाई आफ्नो नियन्त्रणमा राखेर विश्व जगत्लाई नै आफ्नो मुठ्ठीमा नचाउन चाहन्छन् । त्यस्ता मानिस, समूह र देशहरूलाई परास्त गरेर सामाजिक न्यायमा आधारित स्वतन्त्रताको सोपान गर्न न्यायिक मनहरू, समूहहरू र देशहरूको साझा पहल जरुरी छ । यसको पहलकदमी संसारभरि नै चलिरहेको छ । जहाँ यी विचार र विषयहरू चाँडो कार्यान्वयनमा आउन सक्छ, त्यहाँका मानिस, समूह र देशहरू चाँडो गतिमा समृद्धिको मार्गमा अगाडि बढ्न सक्छन् र बढिरहेका छन् । अब बन्ने विश्व व्यवस्थाको नायक कुनै देश विशेष नभएर विचार सिद्धान्त विशेष हुनेछ । यसले युद्धको अन्त्य गर्न सकोस् । युद्धको स्रोत शोषण, विभेद र उत्पीडनको अन्त्य गर्न सकोस् ।
विश्व व्यवस्थामा नेपाल ः
राणासमेतले विश्वजगत्बाट अलग्याएको नेपाल जहानियाँ राणा शासनको अन्त्यपछाडि मात्र विश्व मानचित्रमा उपस्थिति देखाउन सकेको हो । आन्तरिक र क्षेत्रीय दबाबका बीचमा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेपछि असंलग्न आन्दोलनमा जोडिएको नेपालले यसबाट यथोचित लाभ उठाउन सकेन । प्राप्त लाभहरूलाई जोगाउन सकेन । यसका तीता–मीठा अनुभवहरू हामीबीचमा रहेका छन् । नेपाल पक्षीय सरकार बन्न नसक्नु यसको मुख्य कारण रहेको छ ।
जनतालाई भरोसामा लिएर काम गर्न नसक्ने सरकार बनिरहेकाले यस्तो भएको हो ।अनुभव के भयो भने, जनताको मतबाट जितेर सरकार बनाउँदैमा जनताको सरकार नबन्दो रहेछ । देशको सरकारको गरिमा नबन्दो रहेछ । जनताको काम गर्ने देशको गरिमा बढाउने सरकार त जनताको अधिनायकत्वको सरकार नै बनाउनुपर्ने रहेछ । जनताको अधिनायकत्व रहेका देशहरू शिर उँचो बनाएर विश्वमञ्चमा खरो उभिएका छन् । बरू मर्न तयार हुन्छन्, देश र जनताको स्वाभिमान झुक्न दिँदैनन् ।
यस्तो अवस्था बन्न नदिने हाम्रो सन्दर्भमा क्षेत्रीय प्रभुत्ववाद र विश्व साम्राज्यवाद नै हो । त्यसको चुङ्गुलबाट देश र जनतालाई मुक्त गरेर हामीले हाम्रो साख जोगाउन सक्छांै । हाम्रो पुरानो साख भनेको वीर गोर्खालीको साख हो, विश्व शान्तिको अग्रदूतको साख हो, विश्वमा सर्वोच्च सगरमाथाको साख हो, तपस्वी ओजस्वीहरूको तपोभूमिको साख हो, अनेकौं चिन्तनधाराको जननीको साख हो । अब नयाँ साखको निर्माण भनेको शोषण, विभेद र उत्पीडनबाट मुक्त सामाजिक न्यायसहितको पूँजी, प्रविधि र पूर्वाधार निर्माण हो । अब नयाँ–नयाँ साखको कीर्तिमान कायम गरी सबैको प्रेरणा बन्न सक्ने नयाँ नेपालको रूपमा विश्व व्यवस्थाको स्तरमा अगाडि बढ्नुको विकल्प छैन ।
(लेखक भट्ट नेपाल कम्युनिस्ट पार्टीका सङ्गठन विभाग प्रमुख हुनुुहुन्छ ।)











प्रतिक्रिया